भुटानी शरणार्थी प्रकरणमाथि अमेरिकी गुप्तचर संस्थाको पनि अनुसन्धान!

हिमाल प्रेस २७ वैशाख २०८० १८:५४ | Wednesday, May 10, 2023
भुटानी शरणार्थी प्रकरणमाथि अमेरिकी गुप्तचर संस्थाको पनि अनुसन्धान! प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सांसद माधव सापकोटा। फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमाथि फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पनि अनुसन्धान थालेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई चासो लिएर एफबीआईले समेत अनुसन्धान सुरु गरेको आफ्नो जानकारीमा रहेको बताएका हुन्।

 ‘मेरो सूचनाअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणलाई एफबीआईले समेत चासो लिएर अनुसन्धान गर्दैछ’, उनले भने। एफबीआई संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो। यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ।

नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकासँग समेत जोडिएको विषय हो। नेपालमा आई बसोबास गरेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने नीतिअनुसार नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएर भुटानी शरणार्थीलाई अमेरिका पठाउने गरी उनीहरुको पहिचान गरिएको थियो।

त्यसक्रममा नेपाली नागरिकलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा तत्कालीन मन्त्री र सचिव समेत संलग्न रहेको नेपाल प्रहरीको अनुसन्धानको आशंका छ। पक्राउ परेकाहरुको बयानका आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ११ जना पक्राउ परेका छन्।

यही बेला अमेरिकी गुप्तचर संस्थाले समेत नक्कली भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धान थालेको सूचना सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसदले संसदमा सुनाएका हुन्।

प्रकाशित: २७ वैशाख २०८० १८:५४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast