देशको आर्थिक विकासमा खरो रूपमा उत्रनेछु : डा. स्वर्णिम वाग्ले [अन्तर्वार्ता]

हिमाल प्रेस १६ वैशाख २०८० ७:३५
252
SHARES
देशको आर्थिक विकासमा खरो रूपमा उत्रनेछु : डा. स्वर्णिम वाग्ले [अन्तर्वार्ता] तस्बिर- हिमाल प्रेस

अर्थशास्त्री डा. स्वर्णिम वाग्ले वैशाख १० को उपनिर्वाचन हुनुभन्दा केही साताअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन्। रास्वपा प्रवेशपछि तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बनेका वाग्लेले ३४ हजार ९१९ मतसहित निर्वाचित भए। उनले शुक्रबार संसद् सदस्य पदको शपथ लिएका छन्। संसद् छिरेको पहिलो दिनमै वाग्लेले आफ्नो क्षेत्रको विकास निर्माणमा भइरहेको ढिलासुस्तीबारे सदनलाई जानकारी गराउन भ्याएका छन्। साथै उनी संसद्को अर्थ समितिको सदस्य भए।

विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा जोडिएका वाग्ले कांग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका थिए। उनको संसद् छिर्ने हुटहुटीचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूरा भएको छ। विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका वाग्लेको पहिचान ‘अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री’का रूपमा छ। जिम्मेवारबोधसहित उत्साहित वाग्लेसँग निर्वाचन र संसद् प्रवेशको अनुभवबारे हिमालप्रेसले गरेको कुराकानी :

फराकिलो मतान्तरले निर्वाचित भएर संसद् प्रवेश गर्दा कस्तो अनुभव भएको छ?

म तनहुँ क्षेत्र नम्बर १ का बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूको ऋणी भएको छु। त्यस क्षेत्रप्रति मेरो जिम्मेवारी थपिएको छ। सर्वप्रथम न्यायप्रेमी, विकासप्रेमी, विवेकशील मतदाता, आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई हृदयदेखि धन्यवाद भन्छु। मप्रति देखाउनुभएको उच्चभावले उत्तरदायित्व थपिएको छ। तनहुँवासीले मलाई अपार स्नेह, विश्वास र भरोसा देखाउनुभयो। यो गुन आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन मुलुकको विकासमा लगानी गरेर तिर्नेछु। विदेशमा रहेर मलाई उत्साह र भरोसा दिनुहुने तथा स्वदेशमा पनि मप्रति आशावादी बनेर समर्थन गर्नुहुनेहरू सबैलाई धन्यवाद छ।

म लामो समय राजनीति गर्दिनँ भनेर आएको हुँ। छोटो समयमा धेरै काम गर्ने मौका मिलेको छ। मेरो हुटहुटीलाई तनहुँवासीले साथ दिनुभएको छ। मतदाताले दिएको हरेक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिकाप्रति अति सजग रहने प्रण गरेर संसद् छिरेको छु। त्यहीअनुरूप काम पनि गर्नेछु। मप्रतिको भरोसालाई डगमग हुन दिने छैन। तनहुँवासीको मत मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्राप्त गरेको अनुभूति भएको छ।

अन्य पार्टीका नेतागण, कार्यकर्ता र मतदातामा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जितहारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्न आग्रह गरेको छु।

सदनमा तपाईँसँग अन्य दलका सांसद र नेताहरू कसरी प्रस्तुत भए?

म सदन पुग्दै गर्दा कतिपय खुसी हुँदै अंकमाल गर्न आउनुभयो, शुभकामना पनि दिनुभयो। कतिपयले वास्ता नगरे झै गर्नुभयो। निर्वाचनमा मलाई हराउन अनेकन् फन्डा गर्न सक्रिय नेताहरूचाहिँ म नजिक आएर बोल्नु भएन। उहाँहरू मैले चुनाव जितेकोमा सायद खुसी हुनुहुन्न होला। खुसी नै हुनुपर्छ भन्ने पनि छैन्। सबै शक्ति प्रयोग गर्दा पनि हराउन नसकेपछि उहाँहरूलाई कसरी बोल्ने भनेर अन्योल पनि भएको हुन सक्छ। का‌ंग्रेस र गठबन्धनका लर्को तनहुँ तर्फ कति थियो यहाँहरूले देख्नु नै भएको थियो, के भनुँ।

अब तपाईँको दूरदृष्टि कुन विषयमा केन्द्रित हुनेछ।

म संसद्‌मा सक्रिय रहनेछु। मेरो ध्यान मुलुकको अर्थतन्त्र उकास्नमा केन्द्रित हुनेछ। सत्तारुढ दलले कहीँकतै कमजोरी गरेमा खबरदारी गरेर सही बाटो देखाउनेछु। निर्वाचनका क्रममा उम्मेदवारसँग गरेको बाचा लिपिबद्ध गरेको छ। अब त्यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिसँग नियमित सम्पर्कमा रहेर अन्तरक्रिया गरी योजनाहरू अघि बढाउनेछु।

पार्टी र सदनमा तपाईँको उपस्थितिलाई रास्वपाका साथीहरूले कुन रूपमा लिए?

म संसद् प्रवेश गर्दा साथीहरूमा उत्साह थपिएको छ। एउटा सकारात्मक ‘भाइब्रेन्ट’ प्रवाह भएको छ। म तनहुँमा जित्छु भन्ने आकलनसहित पुगेको थिएँ। त्यो पूरा भएको छ। मेरो जितलाई रास्वपाका साथीहरूले उच्च महत्त्व दिनुभएको छ। हाम्रो आत्मीयता र सहकार्य पहिलो दिनको उपस्थितिमै देखिएको छ। हाम्रा सांसदहरू एकसेएक छन्। अन्य दलका सांसदसँग कुनै पनि विषयमा विज्ञ बहस गर्ने क्षमता हामीसँग छ। संसद् नीति निर्माण गर्ने थलो हो। हामी त्यहाँ खरो रूपमा उत्रनेछौँ।

यहाँले पार्टीमा कुनै जिम्मेवारी पाउनुभएको छ कि?

मलाई मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थ समितिको जिम्मेवारी दिएको छ। मेरो रुचिको विषय पनि अर्थतन्त्र भएकाले म त्यहाँ रहेर काम गर्नेछु। शुक्रबार संसद्‌मा बोल्ने तयारी थिएन तर वर्णानुक्रममा मेरो नाम आयो। बोले त्यहाँ पनि। हामी लामो समय राजनीति नगर्ने हुनाले कतिपय विषयमा जबर्जस्त रूपमा उत्रनेछाैँ।

तपाईँको जितले रास्वपाप्रति युवापुस्ताको आकर्षण बढेको हो?

पक्कै बढेको हो। लोकतन्त्रमा विश्वास गर्ने र मुलुकको हित चाहनेहरूले रास्वपाप्रति आकर्षण देखाउन थालिसकेका छन्। यसको संकेत जिल्लाजिल्लाबाट प्राप्त भइरहेको छ। परम्परागत दलका नेताहरूबाट पिल्सिएर बसेका युवापंक्ति रास्वपामा प्रवेश गर्नेछन्। हामी उहाँहरूलाई स्वागत गर्न तयार छौँ। रास्वपाप्रति युवा आकर्षण त निर्वाचनका बेला चितवन र तनहुँमा देखिहाल्नुभयो नि! मैले पाएको मत नयाँ पुस्ताप्रतिको आशा मात्रै होइन र परम्परागत दलमाथिको अविश्वास पनि हो।

कांग्रेस छोडेर जाँदा नरमाइलो लागेको थिएन?

लागेर के गर्नु? कांग्रेसमा केही गरौँ भन्ने हुटहुटी भएका युवा पुस्ताको कुनै भूमिका छैन। वयोवृद्ध नेताहरू पुरातन शैलीमा चलिरहेका छन्। आफ्नो कोटरीमा रहेका र निर्वाचनमा जनतासामु प्रस्तुत हुनै नसक्ने कार्यकर्तालाई महत्त्वपूर्ण जिम्मेवारी दिने चलन छ। अनि निर्वाचनमा जान्छु र जनताबाट परीक्षण भएर आउँछु भन्नेलाई रोक्ने प्रवृत्ति छ। म लामो समय राजनीति नगर्ने भनेर बसेको व्यक्तिलाई पर्ख र हेर गरेर काम थिएन। अनि त्यस्तो ठाउँमा कसरी अडिने?

त्यसैले रास्वपामा प्रवेश गरेँ। म आफ्नो भूमिका निर्वाह गर्दै जानेछु। हाम्रो सामूहिक शक्तिले मुलुक बनाउने हो। यहाँ आएपछि मैले आत्मीयता कमाएको छु। कांग्रेसमा पिल्सिएकाहरू बिस्तारै यता आउने निश्चित छ।

निर्वाचनको मुखैमा पार्टी परिवर्तन गर्दा तपाईँलाई कतिपयले अवसरवादी पनि भनेका छन्। यसमा तपाईँ के भन्नुहुन्छ?

पार्टी छाड्न सहज भएको भए पहिल्यै छाडिदिन्थेँ। अवसरवादी भन्नेहरूलाई म के भन्न चाहन्छु भने सहज भएर मैले पार्टी छाडेको होइन। केही गर्न नदिने अनि मैले यसो गरेको र उसो गरेको भन्दै बाटो छेकेर बस्न थालेपछि म बाध्य भएर अन्यत्र लागेको हुँ। भूमिका केही नदेखेपछि बसिरहनुको अर्थ थिएन। केही नेताहरूमा युवाहरू अन्यत्र लागेपछि नेपाली कांग्रेसमा के होला भन्ने पिरलो पनि देखिन्छ। तर जो विरासत ओगटेर बसेका छन् उनीहरू युवालाई खाडी पठाएर राजनीति गर्न चाहन्छन्। कांग्रेसभित्रको समस्या त्यही हो। अर्को कुरा युवा पुस्ताका नेताहरू नेतृत्वसँग डराउँछन्। उनीहरू प्रतिवाद गर्नै सक्दैनन्। बाहिरबाहिर त बोल्छन् तर नेतृत्वका अगाडि पुगेपछि लल्याकलुलुक भइहाल्छन्। भूमिकाविहीन भएर नेतृत्वले केही दिन्छ र खाउँला भनेर कतिन्जेल पर्खने?

यहाँको रोष पाका नेतासँगै युवामाथि पनि हो?

लोकतन्त्रको स्थायित्वका लागि सबैसँग सहकार्य गर्न आवश्यक छ। नेतृत्वदेखि आफ्नो तहका युवा नेताहरूसँग मैले यस विषयमा कुरा राख्दा पत्याउने कोही भएन। नेतृत्वले काम केही नगर्ने, बढी गफ दिने अनि योग्य उम्मेदवारलाई अवसर नदिने जस्ता कार्यले कांग्रेस बिग्रिएको हो। नेतृत्व सर्वेसर्वा हो भन्ने प्रवृत्तिले जनताका यावत् समस्या समाधान गर्ने दिशामा काम गर्न सकिँदैन। रास्वपामा त्यस्तो छैन। अब पार्टीमा मेरो भूमिका बढ्दै जानेमात्र होइन युवाहरुलाई यो दल विकल्पको रुपमा आएको छ। मुलुकमा केही गर्ने हुटहुटी बोकेर नै यो दल अघि बढेको छ।

प्रकाशित: १६ वैशाख २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =