इटहरी अस्पतालमा आकस्मिक कक्षसहित ल्याब र फार्मेसी सेवा सुरु

हिमाल प्रेस १५ वैशाख २०८० १९:२२
4
SHARES
इटहरी अस्पतालमा आकस्मिक कक्षसहित ल्याब र फार्मेसी सेवा सुरु

इटहरी– यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो। तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरू उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो।

अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ। शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो। मेयर हेमकर्ण पौडेलले यसको औपचारिक उद्घाटन गरेका छन्।

‘चुनावताका प्रतिबद्धता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने। उनकाअनुसार अहिले १५ शय्याबाट आकस्मिक सेवा दिन सुरु गरिएको छ।

अस्पतालको थप भवन निर्माणधीन अवस्थामा रहेकाले गर्दा त्यो पूरा भएपछि अरू शय्या थप गरिनेछ। अहिले फार्मेसीमा सीमित औषधी भए पनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने पनि जानकारी दिइयो। अब एक वर्षभित्रमा आइसीयू, एनआइसियू र भेल्टिलेटरकोसमेत व्यवस्था गरिने मेयर पौडेलले बताए।

विशेष उपचारका लागि यहाँका बासिन्दाले धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यतामा परिवर्तन आउने निश्चित छ। अहिले इटहरी अस्पतालमा ४ जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ।

साथै ६ जना मेडिकल अधिकृत रहेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकताअनुसार चिकित्सक र मेडिकल अधिकृत थप गरिने योजना रहेको अस्पताल प्रमुख दामोदार गौतमले जानकारी दिए।

इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य-संस्था स्थापना नभएका भने होइनन्। केही वर्षअघि ठूलो लगानीमा खुलेका टीआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य-संस्थाहरू बन्द भए। ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको स्थानीवासीहरू बताउँछन्।

हाल सञ्चालनमा रहेका सामुदायिक अस्पताल, एपेक्स हस्पिटल, पञ्चकोसी पोलिक्लिनिकलगायत स्वास्थ्य-संस्थामा दक्ष जनशक्ति, विशेष प्रकारका उपकरण, भौतिक पूर्वाधार तथा स्थान अभाव रहेको देखिन्छ। यस अवस्थामा इटहरी अस्पताललाई व्यवस्थित गरी सेवा थप गरिरहँदा इटहरीसहित आसपासका बासिन्दाले लाभ लाभ प्राप्त गरिरहेका छन्।

प्रकाशित: १५ वैशाख २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =