एमालेले पत्रकार सम्मेलन गरेर भन्यो- व्यक्तिलक्षित आक्रमण स्वीकार्य छैन

हिमाल प्रेस १५ वैशाख २०८० १६:२८
14
SHARES
एमालेले पत्रकार सम्मेलन गरेर भन्यो- व्यक्तिलक्षित आक्रमण स्वीकार्य छैन

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशको समसामयिक राजनीतिक र आर्थिक अवस्थाकाबारेमा पत्रकार सम्मेलन गरेर सत्ताघटक दलहरूको आलोचना गरेको छ।

ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपमहासचिव विष्णु रिमाललले अहिलेको सत्तागठबन्धनले देशमा सुशासनभन्दा अराजकतालाई प्रश्रय दिइरहेको दाबी गरे।

‘विरोध जनाउन पाइन्छ तर देशको ठूलो पार्टीका शीर्ष नेतालाई आक्रमण गर्ने विषय निन्दनीय छ, उनले भने। आतंक र अस्थिरता सिर्जना गर्ने प्रयास रहेको उनले बताए।

‘शतर्क र सचेत रहनका लागि हामी अपिल गर्छौं। यस्ता प्रकारका आक्रमणप्रति विरोध जनाउन हामी जनतालाई आग्रह गर्दछौं,’ उनले भने, ‘सत्ता राजनीतिमा अंक गणित कसैगरी मिलाउन सकिएला तर देशको आर्थिक आवस्था बिग्रिएको छ। यसको सुधार कसरी गर्न सकिन्छ? यो ठूलो समस्या हो।’

केही दिनअघि एमाले अध्यक्ष केपी ओली झापाको कार्यक्रममा सहभागी हुने क्रममा उनीमाथि आक्रमण प्रयासमा सत्तागठबन्धनसम्बद्ध राजनीतिक दलको संलग्नता रहेको रिमालले जिकिर गरे।

‘कुनै पनि दलका नेतालाई सुरक्षा दिने दायित्व राज्यको हो। यदि सरकारले नै यस्तो सुरक्षा दिन सक्दैन भने समाज अराजकतामा जान्छ। एमालेजस्तो ठूलो पार्टीका शीर्ष नेतामाथि आक्रमण हुनुले सत्तामा रहेका दलकै संलग्नता रहेको हो? भन्ने देखिन्छ,’ उनले भने,’लोकतन्त्रमा विरोध गर्न सकिन्छ। विरोधको एउटा तरिका हुन्छ। तर विरोधका नाममा व्यक्तिलक्षित आक्रमण एमालेलाई स्वीकार्य छैन।’

उपमहासचिव रिमालले सरकारले एमाले नेता र कार्यकर्तालाई सुरक्षा दिन सक्दैन भने पार्टी स्वयमले यसको सुरक्षा गर्न सक्ने जिकिर गरे। कोशी प्रदेश नामकरण गर्नुमा संघमा बस्ने नेताभन्दा प्रदेश सांसद नै जिम्मेवार भएकाले यसमा असन्तुष्टहरूले एमाले अध्यक्षमाथि आक्रमण प्रयास गर्नु निन्दनीय भएको उनले स्पष्ट पारे। ‘प्रदेशसभाको बहुमतले कोशी नाम राखेको हो। यस्तो संवैधानिक व्यवस्था हुँदा-हुँदै व्यक्तिमाथि किन आक्रमण भएको हो?,’ उनले प्रश्न गरे।

पत्रकार सम्मेलनमा एमाले सचिव एवम् ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले पार्टी अध्यक्षमाथि भएको आक्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रहरी प्रशासनको संलग्नता भएको दाबी गरे।

‘यस्तो प्रकारको व्यक्तिइंगित आक्रमण कोशी प्रदेशमा मान्य छैन। म प्रचण्ड कमरेडलाई भन्न चाहन्छु- विरोधका नाममा कुनै व्यक्तिमाथिको आक्रमणको हामी निन्दा र भत्स्रना गर्छौं,’ उनले भने। उनले देशमा भइरहेका अराजक गतिविधिबारे संसदमा उपस्थित भएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

प्रकाशित: १५ वैशाख २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =