गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डे

हिमाल प्रेस १४ वैशाख २०८० १४:४८
10
SHARES
गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री सुरेन्द्र पाण्डे

पोखरा– गण्डकीमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा बिहीबार (आज) सकिँदैछ। मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८(२) बमोजिम बहुमतको सारकार गठनका लागि  बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा दिएका हुन्।

सोहीबमोजिम प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेका छन्। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिउँसो ३ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ। त्यसका लागि दलहरू मन्त्रालयको भागबण्डा मिलाउन छलफलमा छन्।

विश्वासको मत पाउन असफल भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पद गएको थियो। प्रदेशसभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाउँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमत प्राप्त गर्न सकेका थिएनन्। सोही कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार १ सय दिनमै ढल्यो।

६० सदस्यीय प्रदेशसभामा मत विभाजनमा ५९ सदस्यले भाग लिएका थिए। उनलाई २४ सांसदले मात्र विश्वासको मत दिएको थिए। २५ पुसमा मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई सत्तासाझेदार मओवादी केन्द्रले गत १० चैतमा साथ छाडेको थियो।

प्रदेश मन्त्रिपरिषद्लाई १२ बाट ७ मा घटाएर चर्चा पाए पनि १ सय दिनमा अधिकारी नेतृत्वको सरकारले खास उपलब्धिमूलक काम भने गर्न नसकेको टिप्पणी छ। ४ मंसिरको चुनावबाट गण्डकी प्रदेशमा कांग्रेसले २७ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। एमालेका २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा) सांसद छन्।

प्रकाशित: १४ वैशाख २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =