प्रिमियर लिग उपाधि होड सिटीको नियन्त्रणमा

हिमाल प्रेस १४ वैशाख २०८० ११:०६
10
SHARES
प्रिमियर लिग उपाधि होड सिटीको नियन्त्रणमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि होड अब म्यानचेस्टर सिटीको नियन्त्रणमा पुगेको छ। शीर्षस्थानको आर्सनललाई बुधबार राति ४-१ ले पन्छाएसँगै सिटी उपाधि होडमा बलियो बनेको हो।

सिटीसँग उसको मैदानमा पराजित भए पनि आर्सनलले शीर्षस्थान गुमाइसकेको छैन। ३३ खेलबाट ७५ अंक जम्मा गरेको आर्सनल अझै पनि पहिलो स्थानमा छ। तर सिटीसँगको दूरी जम्मा दुई अंकको मात्र हो। फेरि सिटीले आर्सनलभन्दा दुई खेल कम खेलेको छ।

यो अंक समीकरणको अर्थ हो, अब सिटीले बाँकी सात खेलमध्ये एकमा हार व्यहोरे पनि लिग जित्नेछ। यसो भए सिटी ६ सिजनमा पाँच पटक च्याम्पियन बन्नेछ।

‘यो खेल निर्णायक होइन। तर प्रतिद्वन्द्वीलाई हराउनु महत्त्वपूर्ण हाे। अब चाहिँ हाम्रो भाग्य हाम्रै हातमा छ। यो झन् महत्त्वपूर्ण कुरा हो,’ जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने।

सिटीसँग पराजित भएसँगै आर्सनल जितविहीन बनेको खेल संख्या चार पुग्याे। जसले गर्दा १९ वर्षपछि लिग जित्ने आर्सनलको लक्ष्य खतरामा परेको छ। उसो त सिजनको सुरुवातमा युवा खेलाडी बाहुल्य आर्सनललाई कम अनुभवी प्रशिक्षक मिकेल आर्टेटाले लिग जिताउलान् भनेर कमैले अनुमान गरेका थिए।

तर आर्सनलले सबैलाई छक्का पार्नेगरी खेलेको छ। म्यानचेस्टर युनाइटेड, लिभरपुल, आसर्नल, चेल्सी, टोटनहम जस्ता ठूला टिमलाई पराजित गरेर आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गरेको छ। तर पछिल्ला चार खेलमध्ये तीनमा बराबरीमा रोकिएपछि भने आर्सनलको उपाधि जित्ने क्षमतामाथि प्रश्न उठेको हो। झन् इत्तिहादमा त आर्सनल सिटीसँग हरेक पक्षमा पछि पर्‍यो।

‘गतिलो टिमले खेल जित्यो, यो तथ्य स्वीकार गर्नैपर्छ। सिटीले हामीभन्दा निकै राम्रो खेल्यो। पहिलो हाफमा त उसलाई भेट्नै सकिएन,’ आर्टेटाले भने, ‘एउटा टिमले निकै राम्रो र अर्कोले खराब खेल्ने भएपछि त दूरी स्थापित भइहाल्छ। जे होस् सिटीले हामीलाई दण्डित गर्‍यो। उसले अझ गोल थप्न सक्थ्यो।’

गत सिजन लिभरपुललाई एक अंकले पछि पारेर इंग्लिस च्याम्पियन बनेको सिटी यसपल्ट एर्लिङ हालान्डको आगमनले झनै बलियो बनेको छ। हालान्डले लिगका २९ खेलमा ३३ गोल गरिसकेका छन्। एक टिमले सिजनभर ३८ खेल खेल्नु पर्ने प्रिमियर लिगमा हालान्डले कीर्तिमान राखेका छन्। उनको नाममा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान दर्ज भएको हो। यसअघि यो कीर्तिमान ३२ गोल गरेका मोहम्मद सलाहको नाममा थियो।

नर्वेका हालान्ड गोल मात्र गर्दैनन्, गोल गर्न साथी खेलाडीलाई सहयोग पनि गर्छन्। यसको ताजा प्रमाण आर्सनलविरुद्धको खेलमा प्रस्तुत गरे। उनले निकालेको पासमा गोल गर्दै केभिन डे ब्रुएनाले सिटीलाई सातौँ मिनेटमा अघि बढाएका थिए।

सुरुमै गोल खाएपछि अत्तालिएको आर्सनलले पहिलो हाफमा गोल फर्काउन सकेन। बरु थपिएको समयमा गोल खान पुग्यो। डे ब्रुएनाले प्रहार गरेको फ्रिकिकमा स्टोन्सले हेडर गोल गरे। थप गोल नखाँदा आर्सनलले आफूलाई भाग्यमानी मानेको हुनुपर्छ।

दोस्रो हाफमा भने आर्सनललाई भाग्यले छाड्यो। ५४ औँ मिनेटमा हालान्ड एकपटक फेरि ‘क्रिएटर’ को भूमिकामा देखा परे। उनकै सहयोगमा डे ब्रुएनाले दोस्रो गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पुर्‍याए। खेल उत्तरार्द्धमा पुग्दै गर्दा आर्सनलले एक गोल फर्कायो। रक्षक रब होल्डिङले बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

लिग लिडरबाट तीन अंक खोस्ने पक्का भइसकेको थियो। यति हुँदाहुँदै पनि हालान्डले चित्त बुझाएनन्। आतिरिक्त समयमा गोल गरेरै छाडे।

आर्सनलले चार खेलमा खाएको गोल संख्या ११ पुगेको छ। लन्डनको यो क्लबले साउथह्याम्पटनसँग तीन, वेस्टह्याम युनाइटेड र लिभरपुलसँग् दुई-दुई गोल खाएको थियो। यी खेलमा हार व्यहोर्नु नपरे पनि आर्सनलले पाएको सन्देश स्पष्ट छ, निर्णायक मोडमा कमजोर बनेको रक्षापंक्ति।

‘आज हामीले प्रतिभावान् टिमसँग खेलेको हो। फलतः फराकिलो हार भोग्नु पर्‍यो। यो हारले मेरा खेलाडीलाई मानसिक चोट पुर्‍ याएकै छ। अब उनीहरूलाई हौसला दिएर बाँकी खेलका लागि तयार पार्नुछ,’ आर्टेटाले भने, ‘अब पाँच खेल बाँकी छन्। ३३ खेल खेलिसक्दा आर्सनल जहाँ छ, यसको श्रेय तिनै खेलाडीलाई जान्छ।’

हुन त प्रिमियर लिग उपाधि होडमा आर्सनलको गणतीय सम्भावना भने बाँकी छ। किनभने सिटी च्याम्पियन्स लिग तालिकाबाट गुज्रिनु छ। सिटीले मे १० र १८ मा च्याम्पियन्स लिग सेमिफाइनलमा रियल म्याड्रिडको सामना गर्नुछ। जुन ३ मा हुने एफए कप फाइनलमा सहरी प्रतिद्वन्द्वी युनाइटेडसँग भिड्ने सिटीको लय त्यसबीचमा बिग्रने आशा आर्सनलको छ।

तर आर्सनलकै आगामी खेल सजिला छैनन्। आउँदो बुधबार चेल्सी र तीन दिनपछि न्युकासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आर्सनलले सिटीलाई पछि पार्ने सम्भावना पातलो छ।

प्रकाशित: १४ वैशाख २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =