चर्च ब्वाइज अझै अपराजित, थ्रीस्टार शीर्ष तीनमा

हिमाल प्रेस ७ वैशाख २०८० २२:२१
14
SHARES
चर्च ब्वाइज अझै अपराजित, थ्रीस्टार शीर्ष तीनमा

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले अपराजित यात्रालाई पाँचौँ खेलमा पुर्‍याउँदा चर्च ब्वाइज युनाइटेड ६ बराबरीपछि पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो थ्रीस्टारले हिमालयन शेर्पा क्लबमाथि १-० को साँघुरो जित दर्ता गर्‍यो। दशरथ रंगशालामा साँझ चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ ले पन्छायो।

यी दुई खेलसँगै लिगको १० औँ चरण सकिएको छ। बिहीबारको नतिजासँगै थ्रीस्टार १८ अंकसहित तेस्रो स्थानमा छ। चर्च ब्वाइज भने दोस्रो स्थानमा उक्लियो। भलै चर्च ब्वाइजको पनि १८ अंक नै छ। यो सिजन

एकै खेल नहारेको चर्च ब्वाइज गोल अन्तरमा थ्रीस्टारभन्दा माथिको स्थानमा रहेको हो। शीर्षस्थानमा जावलाखेल युथ क्लब यथावत् छ। १० खेलमध्ये ६ मा जित हात पारेको जावलाखेलको २० अंक छ।

हिमालयन शेर्पामाथि थ्रीस्टारलाई विजयी बनाउन लाकेन लिम्बुले १४ औँ मिनेटमा गोल गरेका थिए। लिगमा उनको यो पहिलो गोल हो।

थ्रीस्टारसँग पराजित हिमालयन शेर्पा भने रेलिगेसन क्षेत्रमा धकेलिएको छ। नवौँ चरण सकिँदा ११ औँ स्थानमा रहेको हिमालयन शेर्पा लगातार दोस्रो हारपछि १३ औँ स्थानमा झरेको हो। गत सोमबार फ्रेन्ड्स क्लबसँग ६-० ले पराजित हिमालयन शेर्पाको खातामा नौ अंक छ। जुन पुछारको नेपाल पुलिस क्लबको भन्दा चार अंकले बढी हो।

जित लयलाई कायम राख्न आवश्यक
दशरथ रंगशालामा चर्च ब्वाइजलाई विजयी बनाउन आशिष चौधरी र मिलन राईले एक- एक गोल गरे। सातदाबाटोको एक गोल निरज चौधरीको नाममा रह्यो।

सातदाबाटोले गोल दुवै हाफको सुरुवाती समयमा खाएको थियो। पहिलो गोल आशिषले सातौँ मिनेटमा गरेका थिए। सातदोबाटोका रक्षक इभान मेरिचले गोलरक्षक अभिषेक बराललाई दिएको पास आशिषले ‘इन्टरसेप्ट’ गरेका थिए। त्यसपछि आशिषले गरेको प्रहार एकराज बुढाथोकीले गोल लाइनबाट क्लियर गरे। रिबाउन्डमा आएको बललाई भने आशिषले जाली चुमाए।

पहिलो हाफ नसकिँदै सातदोबाटो खेलमा फर्कियो। विलियाम ओपोकु एसिएडुको कर्नरमा निरजले हेडर गोल गरेका थिए।

दोस्रो हाफको पहिलो मिनेटमै चर्च ब्वाइजले अग्रता पुनः स्थापित गर्‍यो। शुसिल शाहले लेफ्ट विंगबाट निकालिदिएको पासलाई मिलन राईले सहजै गोलमा परिणत गरे। दोस्रो हाफमा सुभाष गुरुङलाई प्रतिस्थापन गरेका स्ट्राइकर मिलनले मैदान प्रवेश गर्नसाथ गोल गरेका हुन्।

आठौँ चरण सकिँदा शीर्षस्थानमा रहेको सातदोबाटो हारपछि १७ अंकका साथ चौथो स्थानमा छ। सातदोबाटो र पाँचौँ स्थानको त्रिभुवन आर्मी फुटबल क्लबबीच दुई अंकको दूरी छ। उसो त छैटौँ स्थानको मनाङ मस्र्याङदी क्लब र सातौँ स्थानको संकटा क्लबको पनि १५-१५ अंक नै छ। तर गोल अन्तरले यी दुई क्लबलाई आर्मीभन्दा तल पारेको हो।

जितपछि चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलले ६ बराबरीपछि बल्ल जित दर्ता गरेको र यसलाई कायम राख्नुपर्ने प्रतिक्रिया दिए। ‘लगातार ६ बराबरीको नतिजा थियो। लगातारको बराबरीका बाबजुद हामी अंक तालिकामा स्थिर थियौँ। अब भने जितका साथ हामी दोस्रो स्थानमा उक्लिएका छौँ। यो लयलाई कायम राख्न सक्नुपर्छ,’ मुख्यप्रशिक्षकका रुपमा चर्च ब्वाइजलाई पहिलो जित दिलाएका बालगोपालले भने।

बालगोपालले आफ्नो टिमलाई कुनै किसिमको दबाब नरहेको तर यो जित भने आगामी खेलका लागि प्रेरणा हुने पनि बताए। दोस्रो स्थानमा उक्लिए पनि अहिल्यै उपाधिबारे नसोचेको उनको संकेत थियो। ‘अहिल्यै टिमको लक्ष्यबारे टिप्पणी गर्नु हतारो हुन्छ। हामी अधिकतम अंक बटुल्ने लक्ष्यमा छौँ, अहिलेलाई हामी त्यसमै केन्द्रित छौँ,’ बालगोपालको भनाइ थियो।

सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले आफ्नो टिमले उपाधि लक्ष्य नत्यागेको बताए। ‘पर्याप्त आरामबिना खेल्नु परिरहेको छ। यहीबेला केही खेलाडी बिरामी छन्। तर पनि हामीले लिग जित्ने लक्ष्य त्यागेको छैन,’ सुरजले भने।

प्रकाशित: ७ वैशाख २०८० २२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =