वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने

हिमाल प्रेस ६ वैशाख २०८० १९:३२
10
SHARES
वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने

काठमाडौँ– वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा यही वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ चिकित्सक डा. रुइतलाई ०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई ०८० सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

०११ साल भदौ १९ गते ताप्लेजुङस्थित ओलाङचुंगोलामा जन्मिएका डा. रुइतले तिलगंगा आँखा अस्पताल एवम् सयौं शिविरको सञ्चालनद्वारा लाखौं स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छ। रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले जानकारी दिनुभएको छ।

०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मिएका डा. पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौं सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन्।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे ०५७, वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट ०५८, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ०५९ वरिष्ठ समालोचक यदुनाथ खनाल ०६०, वरिष्ठ आख्यानकार मदनमणि दीक्षित ०६१, वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा ०६२, वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई ०६३, वरिष्ठ कवि मोहन कोइराला ०६४, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी ०६५, वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान ०६६, वरिष्ठ कवि वैरागी काइँला ०६७, वरिष्ठ कवि धर्मराज थापा ०६८, वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी ०६९, वरिष्ठ चित्रकार शशि शाह ०७०, वरिष्ठ कलाकार हरि रिमाल ०७१, वरिष्ठ संगीतकार अम्बर गुरुङ ०७२, वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री ०७३, वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा ०७४, वरिष्ठ गायक प्रेमध्वज प्रधान ०७५, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ०७६, वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम ०७७, वरिष्ठ लोकगायक कुमार बस्नेत ०७८ र वरिष्ठ साहित्यकार ठाकुर गुरागाईं ०७९ लाई प्रदान गरेको छ।

यस्तै प्रज्ञा-प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी ०५७, साहित्यकार विनय रावल ०५८, नाटककार अशेष मल्ल ०५९, गजलकार ज्ञानुवाकर पौडेल ०६०, साहित्यकार मञ्जुल ०६१, कथाकार मधुवन पौडेल ०६२, कवि विष्णुविभु घिमिरे ०६३, कवि कृष्णभूषण बल ०६४, कथाकार भुवन ढुंगाना ०६५, कथाकार सनत रेग्मी ०६६, कवि विजय बजिमय ०६७, समालोचक डा. रामदयाल राकेश ०६८, कथाकार डा. वेञ्जु शर्मा ०६९, चित्रकार किरण मानन्धर ०७०, कलाकार नीर शाह ०७१, गायक दीप श्रेष्ठ ०७२, साहित्यकार दुर्गा श्रेष्ठ ०७३, साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली ०७४ गायक भक्तराज आचार्य ०७५, कलाकार हरिवंश आचार्य ०७६, साहित्यकार सरुभक्त ०७७, गायिका श्रीमती मीरा राणा ०७८ र कलाकार थानबहादुर रावल ०७९ लाई प्रदान गरेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =