प्रदूषणको चपेटामा गाउँघर

हिमाल प्रेस ६ वैशाख २०८० १८:१५
2
SHARE
प्रदूषणको चपेटामा गाउँघर फाइल तस्बिर।

गलेश्वर- वसन्त ऋतुको सौन्दर्यमा रमाउन र तराईको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुगेका नवलपुरै अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाए न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन। घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आएका सापकोटा र उनका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाएनन् नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु बग्नेलगायतका स्वास्थ्य समस्या पनि झेल्नु परेको छ।

म्याग्दीका ग्रामीण क्षेत्रमा समेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा पुगेका पर्यटक र स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ। वायुप्रदूषण र मौसम परिवर्तनका कारण आँखा र नाक पोल्ने, घाँटी दुख्ने, रुघा लाग्ने, ज्वरो आउनेलगायत समस्या देखिन थालेपछि हिउँदेबाली थन्काउने, मकै गोड्नेलगायत काम छोडेर स्थानीय बासिन्दा स्वास्थ्य संस्था धाउन थालेका छन्।

म्याग्दीका पर्यटकीयस्थलमा घुम्न आएका पर्यटक पनि बसाइँ छोट्याएर फर्किन थालेका छन्। मंगलबार म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने पर्यटकीयस्थल बेलढुंगा घुम्न आएका बागलुङ रामरेखाका सतिश घर्तीले तुवाँलोका कारण बेलढुंगाबाट नजिकको स्वर्गाश्रम, म्याग्दी नदी, हिमाल र बेनी बजारको दृश्यसमेत देख्न नपाएको गुनासो गरे। ‘प्रदूषण सहरमा मात्रै होइन ग्रामीण क्षेत्र र वन जंगलमासमेत फैलिइसकेछ, हिमाल पनि प्रदूषणले ढाकिदिएछ , प्रकृति पनि तुवाँलोले छेकिदिएछ,’ घर्तीले भने।

आकाश तुवाँलोले भरिएपछि घाम पनि छेकिएको छ। तुवाँलोका कारण करिब एक किलोमिटरको दूरीका गाउँसमेत देख्न मुस्किल भइरहेको छ। समुद्री सतहदेखि २ हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुंगाबाट विगत एक सातायता न हिमाल देख्न पाइएको छ न वनपाखाको सौन्दर्य नै। म्याग्दी र छिमेकी जिल्ला पर्वत तथा बागलुङका विभिन्न ठाउँमा लागेको डढेलोका कारण जिल्लाका ग्रामीण बस्तीसमेत प्रदूषणको चपेटामा परेका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार वनजंगलमा लागेको डढेलोबाट निक्लेको धुवाँले सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण भेगमा समेत प्रदूषण बढेको छ। बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आए पनि त्यसको धुँवाले भने वरपरका बस्ती अझै छोपेको छ।

वनभित्र ढलेका ठूला रुखका मूढा, रुखमा सल्केको आगो भने अझै छ। डढेलोले भकिम्लीका करिब २५ हेक्टर क्षेत्रफलको वनमा क्षति पुगेको छ। वैशाख लागेसँगै डढेलोले म्याग्दीको करिब ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताए।

सदरमुकाम वरपरका सामुदायिक वनमा मात्र होइन, माथिल्लो क्षेत्रका राष्ट्रिय वन तथा संरक्षण क्षेत्रका वनमा डढेलो लागेकाले ग्रामीण क्षेत्रमासमेत प्रदूषण बढेको उनको भनाइ छ। बढ्दो खडेरीका कारण हिमालमुनिका बुट्यानमासमेत दैनिक डढेलो लागिरहेको छ।

कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्री खडेरीले गर्दा राष्ट्रिय वनमा दैनिक डढेलो लागिरहेको बताए। बस्तीदेखि धेरै टाढा हिमालमुनिको जंगलमा डढेलो लागेकोले बढी क्षति भइरहेको उनको भनाइ छ।

गत वर्ष ३ सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जानकारी दिएको छ। वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार २ सय २ हेक्टर वन छ। जसमा ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ।

यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भुस्खलनका साथै सडक विस्तारको बहानामा फँडानी हुँदै आएका छन्। वनमा लागेको डढेलोले उत्पन्न प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै गएको बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शंकर लामिछानेले बताए।

उनकाअनुसार दैनिक ३ सय बढी बिरामी आउने गरेको अस्पतालमा अधिकांश रुघाखोकी, एलर्जी, दमलगायत श्वासप्रश्वास तथा निमोनियका बिरामी रहेका छन्। रासस

प्रकाशित: ६ वैशाख २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =