काठमाडौँमा भयावह वायु प्रदूषण, अनिवार्य मास्क प्रयोग गर्न विज्ञको सुझाव

हिमाल प्रेस ३ वैशाख २०८० १५:०५
12
SHARES
काठमाडौँमा भयावह वायु प्रदूषण, अनिवार्य मास्क प्रयोग गर्न विज्ञको सुझाव काठमाडौँ उपत्यका

काठमाडौँ- काठमाडौँ विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। शनिबार साँझबाट काठमाडौँ संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ।

पछिल्लो समय डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा परेको जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले बताए। बागमती प्रदेश र वरपरको वनमा लागेको आगलागीका कारण काठमाडौँ प्रदूषित भएको उनको भनाइ छ।

विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताए। आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताए। उनले अहिले विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा २२ गुणा बढी प्रदूषण काठमाडौँमा रहेको उल्लेख गरे।

‘प्रदूषणमात्रै होइन, गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जान्छ, पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदूषणको मात्रा झनै बढ्नेवाला छ,’ उनले भने, ‘केही दिनका लागि धुँवा निकाल्ने सवारीसाधन र मापदण्डबाहिरका सवारीसाधन छन्, ती सवारीसाधनहरूलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ।’

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। उनले केही दिनका लागि धुँवा निकाल्ने सवारीसाधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे।

उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए। वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्ने बताए। –न्युज एजेन्सी नेपाल

काठमाडौँ उपत्यकाको वायु किन यति प्रदूषित?

प्रकाशित: ३ वैशाख २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =