काठमाडौँ उपत्यकाको वायु किन यति प्रदूषित?

केशव राना क्षेत्री ३ वैशाख २०८० १३:४०
42
SHARES
काठमाडौँ उपत्यकाको वायु किन यति प्रदूषित? काठमाडौँमा उडेको धुलो। फाइल तस्बिर।

काठमाडौँ- केही दिनदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढिरहेको छ। प्रदूषण बढेपछि गत चैत २९ गते वातावरण विभागले सकेसम्म घरबाहिर ननिस्किन र निस्कनै परे विशेष सावधानी अपनाउन आग्रह गरेको थियो। विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ कहिले पहिलो त कहिले दोस्रो स्थानमा रहँदै आएको छ।

विभागले देशभर १४० ठाउँमा डढेलो लागेकाले प्रदूषण बढेको जनाएको छ। काठमाडौँ उपत्यकाका शंखपार्क, भैँसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरको वायु बढी प्रदूषित छ। यस्तै धनकुटा, हेटौँडा र राराको वायु पनि स्वच्छ देखिएको छैन।

अन्य ठाउँमा वायु प्रदूषणको कुन तहमा छ भन्ने तथ्यांक छैन। वातावरण विभागले २७ ठाउँमा वायु प्रदूषण मापनका लागि स्टेसन बनाएको छ। तर, तीमध्ये अहिले जम्मा आठवटा मात्रै सञ्चालनमा छन्। यी यन्त्रले प्रदूषणको स्तरबारे ‘रियल टाइम डाटा’ दिने गर्छन्। त्यो तथ्यांक विश्लेषण गरेर वायु प्रदूषण न्यूनीकरण गर्न योजना बनाउन सकियोस् भन्ने उद्देश्यले यन्त्रहरू राख्ने गरिन्छ। तर सबै यन्त्र सञ्चालन नहुँदा समस्या पैदा भएको छ।

वातावरणविद् इन्जिनियर भूषण तुलाधरले वायु प्रदूषण मापनयन्त्र सञ्चालनमा नआउँदा रणनीति बनाउन समस्या हुने बताए। ‘वायु प्रदूषणको अवस्था कस्तो छ भन्ने अध्ययनका लागि स्टेसन राखिएको हो,’ उनले भने, ‘तर अधिकांश चालु नहुँदा ती स्थानको तथ्यांक पुरानैमा भर पर्नुपर्ने अवस्था छ।’ जसले गर्दा ‘रियल टाइम’ मा वायुको गुणस्तर पत्ता लाग्दैन।

स्टेसन सञ्चालन नहुनुको मुख्य कारण समयमा मर्मतसम्भार नहुनु हो। उपकरणहरूलाई बेलाबेलामा मर्मतसम्भार गरिरहनुपर्ने हुन्छ। तर बजेट र प्राविधिक अभावमा मर्मतसम्भारको काम हुन नसकेको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए।

वातावरणविद् तुलाधरले पनि मर्मतसम्भार र बजेट व्यवस्थापनको कमजोरीका कारण स्टेसनहरू सञ्चालन हुन नसकेको बताए। ‘सबैभन्दा ठूलो चुनौती भनेको वायु प्रदूषण सरकारको प्राथमिकतामै नपर्नु हो,’ उनले भने, ‘राज्यले गम्भीरताका साथ लिएको छैन, त्यसैले यसमा लगानी हुन सकेको छैन।’

विकल्पमा स्याटेलाइट तथ्यांक प्रयोग गरिरहेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने बताउँछन्। ‘स्टेसनहरू सञ्चालनमा नआउँदा कहाँको अवस्था के छ भन्ने नै थाहा नहुने भयो,’ उनले भने, ‘त्यस्तो अवस्थामा स्याटेलाइट डाटा पनि प्रयोग गरिरहेका छौँ, तर यो विकल्प होइन। स्टेसनको आफ्नै महत्त्व हुन्छ।’

स्वास्थ्यमा असर

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ। प्रदूषणले दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातलगायतको समस्या बढाउने फिजिसियन डा. लोचन कार्की बताउँछन्।

‘वायु प्रदूषणले अल्पकालीन र दीर्घकालीन रोगको जोखिम बढाउँछ,’ उनले भने, ‘दम, आस्थमा, फोक्सोको क्यान्सर, छालाको एलर्जीलगायतका विभिन्न किसिमका रोग लाग्ने सम्भावना हुन्छ।’

‘स्टेट अफ ग्लोबल इयर २०२०’ को तथ्यांकअनुसार नेपालमा वार्षिक ४२ हजारभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदूषणसँग जोडिएको छ। साथै वायु प्रदूषणले नेपालीको औसत आयु ३ वर्षले घटेको सो प्रतिवेदनमा दाबी गरिएको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७२ वर्ष छ।

‘वायु प्रदूषण प्रत्यक्ष नजोडिए पनि अप्रत्यक्ष रूपमा थुप्रै रोगहरूको कारण हो,’ डा. कार्कीले भने, ‘आजको भोलि नै मृत्यु नहोला तर वायु प्रदूषणले स्वास्थ्य झन्झन् बिगार्दै लगेर मृत्युको मुखमा पुर्‍याउँछ।’

यसरी गर्न सकिन्छ नियन्त्रण

वायु प्रदूषणका मुख्य स्रोतहरू भनेको गाडी, उद्योगधन्दा, इँटाभट्टालगायतबाट निस्कने धुलोधुवाँ हो। साथै अन्तरदेशीय प्रदूषण, अव्यवस्थित रूपमा जलाउने फोहोर, डढेलो पनि प्रदूषणको मुख्य स्रोत भएको वातावरण निरीक्षक गोविन्द लामिछाने बताउँछन्। ‘भारतबाट आउने वायु प्रदूषणको समस्या तराई र पहाडी क्षेत्रमा ठूलो छ,’ उनले भने, ‘यसको पहल सरकारको माथिल्लो तहबाटै हुनुपर्छ।’

यस्तै डढेलो, गहुँ काटिसकेपछि नलहरू बाल्नेलगायतका विषयमा स्थानीयस्तरमा सचेतनाको खाँचो रहेको उनी बताउँछन्। ‘यस्ता स्रोतबाट हुने प्रदूषणलाई रोकथाम तथा नियन्त्रण गर्नु अहिलेको आवश्यकता हो,’ लामिछानेले भने, ‘यसमा स्थानीय सरकारले पनि प्राथमिकता दिएर काम गर्नुपर्छ।’

डा. कार्की पनि वायु प्रदूषण नियन्त्रणका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउँछन्। ‘पुराना गाडीहरू हटाउने, जहाँ पायो त्यही आगो नबाल्ने, कलकारखानाहरू सहर नजिकै राख्न नदिने र सहरीकरण गर्दा सरकारले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अन्य देशमा धुलो हुँदैन, दुबो घाँसहरू रोपिएको हुन्छ, सिमेन्ट लगाइएको हुन्छ। यस्ता विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्छ।’

साथै वायु प्रदूषणबाट जोगिन सर्वसाधारणले मास्क र चस्मा लगाउनुको विकल्प नभएको उनी बताउँछन्।

हिमालमा भयावह वायु प्रदूषण

प्रकाशित: ३ वैशाख २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =