नगर उपप्रमुखद्वारा अधिकृतमाथि बोतल प्रहार

उपप्रमुख भन्छिन्- बोतल उठाएको मात्रै हो प्रहार गरेको होइन

नेहा झा ५ वैशाख २०८० १९:०२
26
SHARES
नगर उपप्रमुखद्वारा अधिकृतमाथि बोतल प्रहार

जनकपुरधाम- महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारीदेवी ठाकुरले सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि बोतल प्रहार गरेकी छिन्।

नगरपालिका कार्यकक्षभित्रै ‘आसमान नेपाल’का पदाधिकारीसँग छलफल चलिरहेका बेला आफूमाथि बोतल प्रहार गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदले बताए। छलफल भइरहेका बेला उपप्रमुख रामदुलारीले आफूमाथि पानीको बोतल प्रहार गरेको उनको आरोप छ।

बलवा नगरपालिका–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधिकनै रोकेको भन्दै उपप्रमुख रामदुलारीले कार्यकक्षमै बोतल प्रहार गरेको प्रमोदले बताए।
उपप्रमुखको योजनाअन्तर्गत २५ लाख रुपैयाँ लागतमा ९ फिट चौडाइको सडक निर्माण भइरहेको छ। तर, स्थानीयले ९ फिट मात्रै नभइ १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै रोकेका छन्। स्थानीयको मागअनुसार आफूले काम रोक्न लगाएको अधिकृत प्रमोदले बताए।

स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई ‘इस्यु’ बनाएर उपप्रमुखले आफूसँग दुर्व्यवहार गरेको उनको भनाइ छ। तर उपप्रमुख रामदुलारीले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरिन्।

उनले भुईंबाट बोतल उठाएको तर प्रहार नगरेको बताइन्। ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई ३ पटक उनको कार्यकक्षमा पठाएँ। तर पनि उहाँ आउनु भएन। मैले पटक पटक फोन गर्दा फोन उठाउनु भएन,’ उनले भनिन्, ‘उहाँ नआएपछि म आफै उहाँको कार्यकक्षको गेटमा पुगेर कृपया यहाँ आउनुस्। तपाईंसँग कुरा गर्नुछ भन्दा उहाँले उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाँहदिन भनेर मेरो अपमान गर्नुभयो।’

उपप्रमुख रामदुलारीले सोही क्रममा सामान्य भनाभन भएपछि प्रमुख प्रशासकीय अधिकृत प्रमोदले नै आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको बताइन्। उनले मुक्का प्रहार गर्नै लाग्दा आफूलाई बचाउन नजिकै रहेको पानीको बोतल उठाएको मात्रै तर प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार नगरेको उनको जिकिर छ।

प्रकाशित: ५ वैशाख २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =