सुडानमा भिडन्त जारी, मृत्यु हुनेको संख्या ९७ पुग्यो

हिमाल प्रेस ४ वैशाख २०८० २०:३१
4
SHARES
सुडानमा भिडन्त जारी, मृत्यु हुनेको संख्या ९७ पुग्यो

खार्तुम- सुडानको राजधानी खार्तुममा सेना र विद्रोही समूह अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप भएको छ। झडपमा मृत्यु हुनेको संख्या ९७ पुगेको छ।

सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौँदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसात्मक झडप भइरहेको छ।

खार्तुम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ।

शनिबारदेखि सुरु भएको झडपमा मृतकको संख्या ९७ पुगेको सुडानको चिकित्सक संघले जानकारी दिएको छ। यो आँकडामा सबै हताहाति समावेश नगरिएको संघले बताएको छ। लडाईंका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै जना अस्पताल पुग्न सकेका छैनन्।

सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक संगठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौँको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खार्तुमका नौवटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको समेत चेतावनी दिएको छ।

हिंसाले सुडानी नागरिकलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ। साथै लामो समयसम्म द्वन्द्व लम्बिने डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्ने चिन्ता नागरिकले गरेका छन्। नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ४ वैशाख २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =