म्याग्दीमा वैशाख लागेयता ७० हेक्टर वनमा आगलागी

हिमाल प्रेस ४ वैशाख २०८० ७:३७
4
SHARES
म्याग्दीमा वैशाख लागेयता ७० हेक्टर वनमा आगलागी

म्याग्दी- जिल्लामा वैशाख महिना सुरु भए यता जिल्लाका विभिन्न ठाउँका जंगलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। डिभिजन वन कार्यालय म्याग्दीका अनुसार यो वर्ष अहिलेसम्म जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको जनाएको छ।

आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका वडा नं। ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा आएको छैन।

आगो बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्णमा जुटेका छन्। सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै भकिम्लीको हल्लेगौँडा, पोलधारा, सल्देना लगायत बस्ती आसपासका क्षेत्रमा पुगेको छ।

आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साझँपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए।

‘अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ,बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्’ उनले भने। आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजार सहित टोली पुगेको वडा अध्यक्ष पुनले बताए।

‘मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौँ। सामान्य अवस्थामा आगलागी नियन्त्रण गर्न सकिने अवस्था छैन’, वडा अध्यक्ष पुनले भने। आगलागीले सामुदायिक वन सखाप पारेको छ। हावा चलेपछि आगोले झनै तीव्र गतिमा फैलिएको छ,घरेलु सामग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको वडाअध्यक्ष पुनले जानकारी दिए।

यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए। आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने अवस्था नभएकाले अहिलेको प्राथमिकता बस्ती जोगाउने भएको उनको भनाइ छ।

‘सुख्खा र भीर भएकोले पनि सहजै निभाउन सकिएको छैन। भीरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ’, प्रमुख रानाभाटले भने।

गाउँलेहरूले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन्।

वनमा बाँदर, खरायो, मृग लगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो। सुकेका मुढाका कारण आगो लामो समय रहिरहेको छ। आइतबार दिउँसो सामान्य वर्षा भएको अवस्थामा आगो नियन्त्रण हुने अनुमान गरिएको थियो।

 

प्रकाशित: ४ वैशाख २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =