खोइ बी डिभिजन लिग?

हिमाल प्रेस ३ वैशाख २०८० २२:०३
6
SHARES
खोइ बी डिभिजन लिग?

काठमाडौँ- तोकिएको समयमा सहिद स्मारक बी डिभिजन सुरू नभएपछि क्लबरूले विरोध प्रदर्शन गरेका छन्। घरेलु फुटबलमा दोस्रो श्रेणीको लिग मानिने बी डिभिजनका क्लब प्रतिनिधिहरू आइतबार प्लेकार्ड बोकेर च्यासल रंगशाला पुगेका थिए। जहाँ ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल भइरहेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १५ बाट बी डिभिजन लिग सुरू गर्ने बताएको थियो। तर पछि मिति चैत २९ गतेलाई सारेको थियो। तर सारिएको समयमा पनि लिग नभएपछि क्लबहरू आक्रोशित र आन्दोलित बनेका हुन्। भलै बी डिभिजन लिगका क्लब प्रतिनिधिहरूले आन्दोलनलाई पछिल्लो विरोध प्रदर्शनलाई सांकेतिक भनेका छन्।

च्यासल रंगशालामा क्लब प्रतिनिधिहरूले बोकेको प्लेकार्डमा ‘लिग ?’ लेखिएको थियो। उनीहरूले क्रिकेट ब्याटमा समेत आफ्ना नारा लेखेका थिए।

‘हामी यसलाई आन्दोलन वा विरोधभन्दा पनि सांकेतिक सुझाव हो भनिरहेका छौँ। आशा छ, एन्फाले हाम्रो सुझावलाई गहन रूपमा लिनेछ। एन्फाले बी डिभिजनलाई तल्लो दर्जामा राख्ने होइन, नयाँ मिति तय गरेर लिग आयोजना गर्नेतर्फ अघि बढ्नु पर्छ। अब पनि एन्फा गम्भीर नभए बी डिभिजन मात्र होइन ए डिभिजन लिग पनि धराशयी हुनेछ,’ सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले भनेका छन्।

बी डिभिजन लिगका लागि भनेर क्लबहरूले ठूलो खर्च गरेर तयारी गरेको तर लिग सुरू नहुँदा लगानी खेर जाने मात्र होइन, सबै क्लब आर्थिक रूपमा धराशायी हुने अवस्था आउने भनाइ पराजुलीको थियो। एन्फाले ५० दिनको समयसीमा राखेर लिगको मिति तोके, आफूहरू सहभागी हुन तयार रहेको उनको भनाइ थियो।

बी डिभिजनमा १४ क्लब छन्। यी क्लब तथा एन्फाबीच पुस २६ मा बसेको बैठकले चैत १५ बाट लिग सुरू गर्ने सहमति गरेको थियो। तोकिएको मितिमा लिग होला भनेर क्लबहरूले तयारी गरेका थिए। तर एन्फाले आफूखुसी मिति सारिदियो। त्यसमाथि बहुमत सदस्य उपस्थित नभएको त्यो बैठक आफैँमा विवादास्पद पनि बन्यो।

आफूहरू जानकारी नदिई मिति सारिएको भए पनि लिग खेल्न तयार रहेको सन्देश क्लबहरूले दिएका थिए। तर सारिएको मितिमा पनि लिग सुरू गर्न एन्फा तयार छैन। यसको कारण आर्थिक स्रोतको अभाव रहेको बताइँदैछ। यद्यपि एन्फाले यसबारे औपचारिक रूपमा केही जानकारी वा प्रतिक्रिया दिएको छैन।

घरेलु लिग संरचना अनुसार प्रत्येक सिजन ए डिभिजनबाट बी डिभिजनमा दुई क्लब झर्छन् भने दुई क्लब बढुवा हुन्छन्। हाल ए डिभिजनमा नवौँ चरण जारी छ। बी डिभिजन समयमै नभए ए डिभिजन लिगबाट घटुवामा परेका क्लबको स्थिति के हुने भन्ने टुंगो छैन। यसकारण लिग संरचना नै भताभुंग हुने सम्भावना बढेको छ।

प्रकाशित: ३ वैशाख २०८० २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =