 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            किएभ- युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी ९ जना युक्रेनीको ज्यान गएको छ। त्यस्तै २१ जना घाइते भएका छन्। मस्कोले बाख्मुटका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो।
डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोकाअनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छछन्। आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको बताइएको छ।
उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले उल्लेख गरेको छ।
उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्ने छैन। उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ। विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिनेछ।
युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए। गत वर्षको २४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै संख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्धमा मारिएका छन्। रुस र युक्रेनले युद्धमा भएको हताहातिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई ९ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए। रुसी अधिकारीहरूले पनि ६ हजार सैनिकले ज्यान गुमाएका बताएका थिए।
संयुक्त राष्ट्रसंघले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको संख्या ७८ लाख पुगेको बताएको छ। युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय प्रभाव परेको छ। धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यूनआय भएका देशका जनताको जीवन कष्टकर बनेको छ। रासस/एएनआई

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 