सहरमा आज 

नयाँ वर्षको पहिलो शनिबार कहाँ के हुँदैछ?

सुस्मिता बजगाईं २ वैशाख २०८० ६:४१
114
SHARES
नयाँ वर्षको पहिलो शनिबार कहाँ के हुँदैछ?

काठमाडौँ– हिजो नयाँ वर्षको सार्वजनिक बिदा भएकाले तपाईँ साथीभाइ तथा आफन्तजनसँग रहनुभयो होला। संयोगवश आज दोस्रो दिन शनिबार परेको छ। नयाँ ठाउँ घुम्न र मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन मौका दुवै मिलेको हुनुपर्छ तपाईंका लागि।

फिल्म हल, थिएटर, महोत्सव, जात्रालगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भएर वर्षको पहिलो शनिबार बिताउने हैन त? त्यसका लागि घरबाट निस्कनैपर्छ। अनि कुन–कुन ठाउँमा केकस्ता महोत्सव, जात्रा, फिल्म, नाटक, फोटो प्रदर्शनीलगायतका गतिविधि भइरहेका छन्?

१६औँ दरबारमार्ग सडक महोत्सव

दरबारमार्गमा ‘१६औँ दरबारमार्ग सडक महोत्सव’ हुँदैछ। दरबारमार्गको दक्षिणतर्फको महेन्द्र सालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटसम्मको क्षेत्रफलमा महोत्सव हुनेछ। महोत्सवमा चर्चित गायक/गायिका, कलाकार दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेंलो बत्तिमुनि, त्रिसला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्ट्सलगायतले प्रस्तुति दिनेछन्।

साथै शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमी र महिला उद्यमीले उत्पादन गरेका हस्तकला सामग्री पनि प्रदर्शनीमा राखिएको छ। महोत्सवमा नेपाली खानाका परिकारकासहित बालबालिकाका लागि छुट्टै किड्स जोन र भिडियो गेम पारखीका लागि अनलाइन गेमिङ प्रतियोगिता हुनेछ।

नयाँ वर्षको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना भएको हो।

वसन्तपुरमा पर्यटन फोटो प्रदर्शनी

वसन्तपुरमा वैशाख १ गतेदेखि पर्यटनसम्बन्धी फोटो प्रदर्शनी चलिरहेको छ। दुईदिने प्रदर्शनीमा नेपालको पर्यटन झल्किने ६० तस्बिर राखिएका छन्।  जसमा पूर्वीदेखि पश्चिम नेपाल र उत्तरदेखि दक्षिणसम्मका सबै पर्यटकीय क्षेत्र र गतिविधि समेटिने र देशको विभिन्न भागका कला–संस्कृति सम्बन्धी तस्बिर छन्।

पर्यटन महोत्सवका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले पर्यटनसम्बन्धी फोटो प्रदर्शनी गरेको हो।

भक्तपुरमा बिस्केट जात्रा

नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम सांस्कृतिक महत्तव बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा चलिरहेको छ। चैत २७ गतेदेखि भक्तपुर नगरपालिका–५ तौमढीस्थित ङातापोल तथा भैरवनाथको रथ तानेर सुरु भएको बिस्का जात्रा वैशाख ५ गते पाँंचतले मन्दिर अगाडि पु¥याएपछि समापन हुन्छ।

शनिबार मध्यपुर थिमिमा बिहान सिन्दूरे जात्रा र दिउँसो जिब्रो छेड्ने जात्रा मनाइन्छ।

चैत मसान्तको दिन भक्तपुर नपा–५ स्थित ल्यासिंखेलमा ५५ हात लामो ठड्याएको यसिङ (लिंगो) नयाँ वर्षको दिन (हिजो) ढालिएको थियो। यो जात्रामा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा स्थानीय भैरव, गणेश तथा अष्टमातृका देवीलगायतको खटजात्रा पनि मनाइन्छ।

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

चैत २३ गतेदेखि भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–०७९/८०’ चलिरहेको छ। महोत्सव आगामी वैशाख ३ गतेसम्म चल्नेछ।
महोत्सव औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा भइरहेको छ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक र हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहको छ।

दैनिक प्रयोगमा आउने उपभोग्य समग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कृषि तथा हस्तकलाका सामग्रीका साथै राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरूको स्टल महोत्सवमा राखिएका छन्। महोत्सवमा प्रवेश शुल्क ५० र ७० रुपैयाँ लाग्नेछ। विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको पनि व्यवस्था छ।

गुरुकुलमा ‘मार्क्स  फर्किए’

नयाँ बानेश्वरको थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन भइरहेको छ। गत चैत १७ गतेदेखि मञ्चन सुरु भएको नाटक यो दोस्रोपटक मञ्चन भएको हो। यसअघि २०७६ सालमा मञ्चन गरिएको थियो। नाटक वैशाख ९ गतेसम्म चल्नेछ।

नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।

नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। नाटकमा कार्ल माक्र्सले एक सय ४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। कार्ल माक्र्सको भूमिकामा निर्देशक पोखरेल र पत्नीको भूमिकामा निशा शर्मा छन्। अन्य कलाकारमा गुरुकुल नाटकघरका विद्यार्थी छन्। सोमबारबाहेक प्रत्येक दिन बेलुका साँढे ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको पनि सो छ।

मण्डलामा ‘यौटा सपनाको अवसान’

थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि ‘यौटा सपनाको अवसान’ को मञ्चन जारी छ। अनुप बरालको परिकल्पना र निर्देशन रहेको नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

आगामी वैशाख १० सम्म चल्ने नाटकमा कलाकार शेखर चापागाईं, मेनुका प्रधान, दीया मास्के, दिव्य देव, सन्देश शाक्य, सारा जे अधिकारी, रोय, जीवन गौतम, अभिषेक खड्का, बिशाल पुलामीलगायतको अभिनय छ। नाटक सोमबारबाहेक हरेक साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे गरी दुई सो छन्।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘बुलाकी’, ‘बिहे पास’, ‘जारी’, र ‘छक्का पञ्जा ४’, चलिरहेका छन्।
हिन्दीमा ‘भोला’, ‘दसरा’ र अंग्रेजीमा ‘डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स’, ‘जोन विक च्याप्टर ४’ पनि प्रदर्शनरत छ।

बुलाकी

सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनरत छ। कर्णाली भेगको जारी प्रथामा आधारित फिल्मका निर्देशक लक्ष्मण सुनार हुन्। फिल्ममा सुरक्षासहित नरेन खड्का, विराज बिष्ट, लक्ष्मी गिरी, सरस्वती खत्री, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारीलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमामा ‘बुलाकी’ प्रदर्शन भइरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत उपत्यकाका गोंगबुस्थित लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज र माछापोखरीस्थित अष्टनारायण हलमा ‘बुलाकी’ चलिरहेको छ।

बिहे पास

फिल्म ‘बिहे पास’ नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि प्रदर्शनमा आएको हो। प्रवेश पौडेलको निर्देशन रहेको फिल्म लभ स्टोरी र कमेडी जनरामा बनेको छ। फिल्ममा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, लैनसिंह वाङदेल, रवीन्द्र झालगायतको अभिनय छ।

शनिबार दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमामा ‘बिहे पास’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज र माछापोखरीस्थित अष्टनारायण ‘बिहे पास’ चलिरहेका अन्य हल हुन्।

जारी

वैशाख १ गतेदेखि फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, मा ‘जारी’ प्रदर्शनरत छ।

आईएनआइै सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, माछापोखरीस्थित अष्टनारायण, बागबजारस्थित सिटीम्याक्स सिनेमामा ‘जारी’ प्रदर्शन भइरहेको छ।

छक्का पञ्जा ४

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत क्यूएफएक्स भक्तपुर, लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, रञ्जना सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघरमा ‘छक्का पञ्जा ४’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बीएसआर मुभिज र माछापोखरीस्थित अष्टनारायण हल, ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

दसरा

श्रीकान्त ओडेला निर्देशित हिन्दी डबेट साउथ फिल्म ‘दसरा’ नेपालमा चैत १६ गतेदेखि प्रदर्शन भइरहेको छ। एक्सन, एड्भेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा नानी, सुरेश कीर्थिलगायत कलाकारको अभिनय रहेको छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ।

भोला

हिन्दी फिल्म ‘भोला’ चैत १६ गतेदेखि नेपालका विभिन्न मल्टिप्लेक्सका हलमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र क्राइम जनरामा बनेको फिल्मका निर्देशक अजय देवगन हुन्। फिल्ममा निर्देशक अजयसहित टाबु, सञ्जय मिश्रलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स एक सो छ।

जोन विक च्याप्टर ४

हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ चैत १० गते अर्थात २४ मार्चदेखि नेपालका सिनेमा हलमा प्रदर्शनरत छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक चाद स्टहेल्स्की हुन्। फिल्ममा केइनु रिभ्स, डोनी येन, बिल स्कर्डगर्ड मुख्य भूमिकामा छन्।

फिल्म उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत ठमेलको क्यूएफएक्स छाया सेन्टरमा फिल्मको एक सो छ।

डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स

अंग्रेजी फिल्म ‘डंजेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स’ नेपाली हलमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र फन्टासी जनरामा बनेको फिल्मको निर्देशक जोन फ्रान्सिस डेली र जोननाथ गोल्डस्टेन हुन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत ठमेलको क्यूएफएक्स छाया सेन्टरमा एक सो छ।

प्रकाशित: २ वैशाख २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =