सुर्खेतमा बाल सांसदहरूले चलाए बैठक

हिमाल प्रेस २९ चैत २०७९ १८:४२
6
SHARES
सुर्खेतमा बाल सांसदहरूले चलाए बैठक

सुर्खेत– संसदीय व्यवस्थाबारे जानकारी गराउनका लागि कर्णाली प्रदेशमा बाल संसद् अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

संघीय बाल संसद् कार्यक्रमअन्तर्गत संघीय संसद् सचिवालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रम गरिएको हो। कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका छन्।

मञ्चमा सभामुख र फ्लोरको दाहिनेतर्फका सिटमा प्रधानमन्त्री, मन्त्रीहरू र सत्तापक्षका सांसद बसे भने देब्रेतिरको सिटमा प्रतिपक्षी सांसदहरू बसे। संसद बैठकजस्तै देखिने यो दृश्य कर्णालीमा भने बालबालिकालाई नमूना संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो। संसदजस्तै गरेर सभामुखले बालसासंसदहरूलाई विषेश समय दिएर पालै पालो बोल्न दिए।

सासंदहरूले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, बालबालिकाका अधिकारका क्षेत्रमा आफ्ना धारा र प्रश्न राखे। यसपछि प्रधानमन्त्री र मन्त्रीहरूले सम्बन्धित सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने पालो आउँछ। प्रधानमन्त्री शिला थापाले सदनमा उठेका सबै विषयकको क्रमैसँग जवाफ दिइन्।

सहभागीहरूले मर्यादित भएर सदनमार्फत सरकारको ध्यानआकर्षण मात्रै गराएन नै उनीहरूले सरकारको आलोचनासमेत गरेका थिए। विभागीय मन्त्रीहरूले पनि सत्तापक्ष र विपक्षीबाट आएका प्रश्नको जवाफ दिए।

उनीहरूले सदनमा कर्णालीमा रहेको बालविवाह, कुप्रथा, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायत विषयमा धारणा र प्रश्न राखे।

सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरियो। बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्र कार्कीले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायत कुरा सिकाए।

संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाबारे जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा.भोजराज पाण्डेले बताए। बालबालिकाको नमूना संसदीय अभ्यास उपलब्धिमूलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने महत्त्वपूर्ण कार्यक्रम भएको उनको भनाइ छ।

४ दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रममार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद् सचिवालयका उपसचिव बबिता मिश्रले बताए।

कर्णालीबाट सुरु भएको नमूना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमासमेत सञ्चालन गरिने उनले जानकारी दिए। नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरू सहभागी भए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमर थापा, विनिता कठायत र कर्णाली प्रदेशसभाका केही सासंदहरू उपिस्थित थिए।

प्रकाशित: २९ चैत २०७९ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =