मानव-वन्यजन्तु द्वन्द्व

हात्तीले सताएको बस्ती

विवेक विवश रेग्मी २६ चैत २०७९ ११:१३
186
SHARES
हात्तीले सताएको बस्ती

इटहरी-  झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगीमा आर्थिक वर्ष २०७३/७४ देखि ०७९ को मंसिर मसान्तसम्ममा हात्तीले २५ जनाको ज्यान लिएको छ।

डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार यस अवधिमा दुई हजार १५९ जनाको घरगोठ र अन्नबालीमा क्षति भएको छ भने २६ जना घाइते भएका छन्। हात्ती आक्रमणबाट भएको क्षतिको औपचारिक विवरण राख्न थालिएदेखि पाँच जना गैरनेपालीसहित ५७ जनाको ज्यान गएको छ। वन कार्यालयसँग २०६८/६९ देखियताको विवरण छ। त्यसमा अहिलेसम्म १६ वटा हात्ती मरेको उल्लेख छ।

कोशी प्रदेशका विभिन्न जिल्लामा बर्सेनि जंगली हात्तीका कारण दर्जनौँ घरपरिवार प्रताडित बन्दै आएका छन्। हात्ती आक्रमणमा कसैले ज्यान गुमाउँछन्, कसैको बाली नष्ट हुन्छ, कोही हात्तीसँगको द्वन्द्वका कारण घाइते बन्छन्।

मेची नगरपालिका-४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्की भन्छन्, ‘पचासौँ वर्षदेखि हामी हात्तीसँग लडाईँ गर्दै आएका छौँ, न हामी हात्तीसँग भाग्यौँ, न हात्ती हामीबाट भाग्यो।’ उनले हात्ती र मानवबीच सहअस्तित्व कायम हुनुपर्ने तर्क गरे। हात्तीले पनि मानव जीवन सोसरह बाँच्न पाउनुपर्ने उनी बताउँछन्।

‘हरियो वन नेपालको धन नारामा मात्रै सीमित छ। जंगलमा खानेकुरा नहुँदा आहाराकै लागि हात्ती मानव बस्ती पस्छ,’ उनी भन्छन्, ‘अब जंगलमा वन्यजन्तुले खानका लागि खानेकुरा रोप्नुपर्छ, यसका लागि हामी सकारात्मक छौँ।’ नेपाल-भारत सीमामा पर्ने जंगलमा वन्यजन्तुले खाने खानेकुरा रोप्न पहल भइरहेको उनले बताए।

‘मानिसको चेतना अभिवृद्धिका लागि उनीहरूले खाने खाना हामीले नै दिनुपर्छ भनेर सचेत हुन आवश्यक छ,’ कार्की भन्छन्, ‘हात्तीले जात, धर्म, पार्टी, देश र सिमाना चिन्दैन। यसकारण पर्यटन क्षेत्रको श्रीवृद्विका लागि पनि सहजीकरण गर्नुपर्छ। यसका लागि हामीबाटै काम हुनुपर्छ।’

उसो त वडामा ‘हात्तीमैत्री युवा संघ’ खडा गरी अभियान नै चलाइएको छ। साथै, मेचीनगर पुलमा तटबन्ध भइरहेको कार्कीले जानकारी दिए।

‘म एउटा गाउँमा बसेको छु, खानेकुरा म सँग मात्रै छ र गाउँका अरूसँग छैन भने के हुन्छ?,’ उनले प्रश्न गर्दै भने, ‘आहारा नभएकै कारण हात्ती बस्तीमा पस्ने हो। पहिलेपहिले बाँदर जंगलमा हुन्थ्यो, अहिले घरमै पस्छ।’ वन विकासका लागि क्रान्तिकारी खालको अभियान ल्याउनुपर्ने उनको भनाइ छ।

झापामा मात्रै होइन, यस्तो समस्या कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका बस्तीमा पनि छ। सरकारी संयन्त्रबीच समन्वय नहुँदा हात्तीको आक्रमण न्यूनीकरण हुन नसकेको सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का कृष्ण भट्टराई (बहाव)  बताउँछन्। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय र स्थानीय सरकारबीचको समन्वय अभावका कारण क्षति भइरहेको उनको दाबी छ।

‘कोशी टप्पु वन्यजन्तु आरक्ष आफ्नो पालिकामा भएका कारण पर्यटन प्रवर्द्धनमा जस लिएको स्थानीय सरकार हात्तीबाट भइरहेको क्षतिबारे भने अपजस लिन तयार हुँदैन,’ पत्रकारसमेत रहेका भट्टराई भन्छन्, ‘स्थानीय मानिस पनि हात्तीले घर भत्कायो भन्नेबित्तिकै आरक्ष कार्यालय घेर्न जान्छन्, स्थानीय सरकारसँग प्रश्न गर्ने आँट गर्दैनन्।’

स्थानीय सरकारले हात्ती नियन्त्रण र उसको आहारको व्यवस्थापन गर्न नसक्दा सीमित ठाउँमा सडक बत्ती मात्रै लगाएको उनको भनाइ छ।

‘हात्तीले खाने वैकल्पिक अन्न सरकारले उपलब्ध गराउन सकेको छैन, अहिले गाउँमा मकै बढ्दै जाँदा दुईवटा हात्ती आएका छन्,’ उनले भने, ‘आरक्षको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरूका लागि राज्यले हात्ती र मानवबीच सहअस्तिवको वातावरण बनाउन सक्नुपर्छ।’

हात्तीबाट बालीनाली र मानवीय क्षति भए पनि राहत पाउने प्रक्रिया निकै झन्झटिलो छ। सोही कारण पीडितहरू क्षतिपूर्तिका दाबी गर्न रुचाउँदैनन्।

भट्टराईले भने, ‘राहत पाउने प्रक्रिया निकै झन्झटिलो छ। लालपुर्जावाला जग्गालाई मात्रै क्षतिपूर्ति दिने प्रावधान छ।’ श्रीलंका टापु क्षेत्रका बासिन्दासँग लालपुर्जा नै नभएका कारण क्षति भए पनि उनीहरूले राहत पाउँदैनन्।’

स्थानीयको बुझाइमा पनि परिवर्तन आवश्यक पर्ने उनले बताए। हात्ती गाउँ छिरेमा अझै पनि आरक्ष कार्यालयले नै छोडेको भन्ने भ्रम रहेकाले समस्या भइरहेको उनी सुनाउँछन्।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले वर्षमा दुईपटक जंगली हात्ती मानव बस्तीमा आउने गरेको बताए।

‘भारतबाट वर्षमा दुईपटक हात्ती आउँछन्– पुसतिर र   जेठतिर,’ यादव भन्छन्, ‘हात्ती पुर्खाले हिँडेको बाटो एक वर्षमा कम्तीमा एकपटक आउँछ।’ यसरी प्रवेश गरेका हात्ती कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, मधेश प्रदेशको सप्तरी हुँदै बागमती प्रदेशको सिन्धुलीसम्म पुग्ने गरेको उनी बताउँछन्।

खासगरी भारततिरबाट आएका जंगली हात्तीले मानव बस्तीमा पसेर धान, बाली खाने गरेको उनले बताए। ‘हात्ती हिँड्ने बाटोमा घरैघर छ। हात्ती मानव बस्तीमा पसेको होइन, मानिसले हात्तीका पुर्खा हिँड्ने बाटोमा बस्ती बनाएका हुन्,’ यादव भन्छन्, ‘कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको क्षेत्राधिकार सीमित हुन्छ। तर पनि आवश्यकताअनुसार समन्वय गरिरहेका छौँ।’

आरक्षले सुनसरीको कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, सप्तरीको कञ्चनरूप नगरपालिका र उदयपुरको बेला नगरपालिका क्षेत्रमा काम गर्दै आएको छ। १७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा १७३ वर्गकिलोमिटर भने मध्यवर्ती क्षेत्रमा पर्छ। यस क्षेत्रमा वन्यजन्तुले बढी सास्ती दिने गरेको यादव बताउँछन्।

‘यस क्षेत्रभित्र दुई वर्षयता हात्तीले मानिस नै मारेको घटना त छैन, तर अन्नबालीमा क्षति छ,’ उनले भने। उनी पनि राहत प्राप्ति प्रक्रिया असजिलो रहेको स्वीकार्छन्। यादव भन्छन्, ‘राहतका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएको आवश्यक प्रक्रियाअनुसार हामीले समन्वय मात्रै गर्ने हो।’

स्थानीय सरकारले कृषि बालीको बिमाका लागि समन्वय गरिदिए बालीनालीमा क्षति हुँदा राहत पाउन सजिलो हुने उनको बुझाइ छ। ‘साउनदेखि सुनसरीमा पर्ने दुईवटै स्थानीय तहमा समन्वय गरेर काम भइरहेको छ,’ यादवले भने, ‘मैले उहाँहरूलाई र उहाँहरूबाट मैले सहयोग, समन्वय गरी काम गरिरहेका छौँ।’

हात्तीले किन आक्रमण गर्छ?

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्ती ‘इगो’ लिने जनावरभित्र पर्छ। हात्तीलाई जिस्काउनु र ढुंगामुढा गर्नु हुँदैन। यसो गर्‍यो भने आक्रमण गर्न सक्ने गौतम बताउँछन्।

‘समूहमा आएको हात्ती केही समय बस्छन् र केही समयभित्रै जताबाट आएको त्यतै जान्छन्,’ गौतमले भने, ‘जंगलमा खानेकुरा नभएकाले हात्ती गाउँ छिरेको हो।’

हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउँछ। त्यसैले पनि हात्ती बस्तीमा छिरेको हुनसक्ने उनी बताउँछन्। उनी भन्छन्, ‘होहल्ला नभएको अवस्थामा हात्ती फर्किन्छ। तर खानेकुरा भेटेर यतै रमाउँदा समस्या पनि हुन सक्छ। हात्तीलाई जिस्काउने र ढुंगामुढा गर्ने गर्नु हुँदैन। उसलाई चोटपटक लाग्यो भने ज्यानै लिन पनि सक्छ।’

हरेक वर्ष भारतबाट हात्तीको बथान नेपाल आउने गरेको जानकारहरू बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार हात्ती संरक्षित जनावर हो । अन्तर्राष्ट्रिय संरक्षण संघले हात्तीलाई रातो सूचीको ‘संकटापन्न’ र साइटिसले अनुसूची १ मा राखेको छ ।

खासगरी हात्तीको स्मरण शक्ति तेजिलो हुने भएकाले पहिला बसेको बासस्थानमा वर्षौँपछिसम्म जान सक्छ। स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सामुदायिक वनमा जंगली जनावरले खाने अन्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरेको अवस्थामा प्रायजसोः जंगली जनावर मानव बस्तीमा नपस्न विज्ञहरूको भनाइ छ।

खाना खान नपाएकै कारण जंगली जनावर मानव बस्तीमा छिर्ने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षले जनाएको छ।

पहाडी भेगमा बाँदरको उस्तै समस्या

तराई क्षेत्रका बस्तीमा हात्ती आउँदा पहाडी भेगमा भने बाँदरले दुःख दिने गरेको छ। खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ७ निवासी अनुप ढकालका अनुसार जंगलमा खाने कुरा नहुँदा बाँदर मानव बस्तीमा पस्ने गरेको छ। ‘जनसंख्याको न्यून चाप र तीव्र बसाइँ सराइका कारण बाँदर घरै आउँछन्,’ ढकाल भन्छन्, ‘बुइँगलमा राखेको मकै पनि सुरक्षित छैन।’

उनका अनुसार खोटाङ जिल्लाका खासगरी खोटेहाङ, जन्तेढुंगा, दिप्रङ चुईचुम्मा, दिक्तेल–रुपाकोट मझुवागढी, हलेसी तुवाचुङ, रावाबेसी लगायतका पालिकाका विभिन्न मानव बस्तीमा बाँदर घरैसम्म पुगेर दुःख दिने गरेको छ।

राज्यले बाँदर मानव बस्तीमा पस्न नदिनका लागि दिगो किसिमको योजना नल्याउँदा स्थानीयबासीमा समस्या भइरहेको उनी बताउँछन्।

वन बढ्यो, कृषि घट्यो

बाँदरको उपद्रोले खाली हुँदैछन् बस्ती

वन्यजन्तुले हैरान गरेपछि आँपखेती गर्दै किसान

बाँदरले सताएपछि खेती नगर्ने अवस्थामा पुगे सोलुका किसान

प्रकाशित: २६ चैत २०७९ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast