बाँदरको उपद्रोले खाली हुँदैछन् बस्ती

हिमाल प्रेस २२ माघ २०७९ ७:४४
4
SHARES
बाँदरको उपद्रोले खाली हुँदैछन् बस्ती फाइल तस्बिर।

भोजपुर- बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्।

बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ।

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिँडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन्। बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाँदरका कारण बस्ती नै खाली भएको छ,’ उनले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन।’

दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए। बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ।

‘बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ,’ उनले भने, ‘बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ। बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ।’

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्।

बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए।

‘बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पहिला–पहिला त भाग्थे,’ उनले भने, ‘अहिले त धपाउँदा टेर्दैनन्। भगाउन पनि गाह्रो छ। दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन्। बाँदरले हैरान बनाएको छ।’

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको आठ–दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ। बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन्।

बाँदर आतंकका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको उनको भनाइ छ। ‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ,’ उनले भने, ‘यहाँको मुख्य समस्या नै बाँदर बनेको छ। नियन्त्रण गर्न धेरै उपाय लगाइयो। दिनानुदिन बाँदरको संख्या बढ्दो छ। बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ।’

बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ। स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए।

बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन्। धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ।

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ। रासस

प्रकाशित: २२ माघ २०७९ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =