पोखराको पर्यटनलाई रिब्रान्डिङ गर्न जरुरी : मन्त्री किराती

हिमाल प्रेस २५ चैत २०७९ २१:११
8
SHARES
पोखराको पर्यटनलाई रिब्रान्डिङ गर्न जरुरी : मन्त्री किराती

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छ। होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु। यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौं,’ उनले भने। वर्तमान ऐनमा भएका धेरै विषयहरू सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ।

पर्यटनमन्त्री किरातीले पर्यटन ऐनका बारेमा पोखरामासमेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायीलगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने उल्लेख गरे। मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको उनको भनाइ छ।

‘घुमौं नेपाल, हेरौं प्रकृति र चिनौं संस्कृति’भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमासमेत गर्ने योजना रहेको मन्त्री किरातीले जनाए। पोखरालाई ब्रान्डिङ र रिब्रान्डिङ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उनले जोड दिए।

पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। ‘म पर्यटन नीति बनाउँछु, पर्यटन बोर्डले प्रवर्द्धनको काम गरोस्। पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ,’ उनले भने।

कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेल, होटल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपाल, होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाललगायतले पर्यटन क्षेत्रमा होटल व्यवसायले ठूलो योगदान गरेकाले पर्यटकलाई सेवा दिने होटललाई राज्यले समानजनक रूपमा हेर्नुपर्ने बताए।

गण्डकी प्रदेशमा रहेका ८ हजार होटल तथा रेष्टुँरा व्यवसायीको छाता संस्था होटल व्यवसायी महासंघ गण्डकीमा जिल्लास्थित होटल व्यवसायी संघ तथा समिति आबद्ध छन्। महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए।

प्रकाशित: २५ चैत २०७९ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =