भक्तपुरमा मदिरा बिक्रीमा रोक

हिमाल प्रेस २५ चैत २०७९ १८:५९
6
SHARES
भक्तपुरमा मदिरा बिक्रीमा रोक

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुला रूपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई लक्षित गर्दै भक्तपुर प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रामा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा ‘खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने,’ उल्लेख छ।

जात्राको समयमा ढुंगामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृंखल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने सूचनामा उल्लेख छ। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्न समेत सूचनामार्फत आग्रह गरिएको छ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतका जात्रालाई पनि शान्ति पूर्णरूपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको नगरपालिकाले जानकारी दिएको छ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरूपमा मनाइँदै आएको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरूपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको बताए। रासस

प्रकाशित: २५ चैत २०७९ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =