वडाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बाँडेर भोट माग्दै कांग्रेसका उम्मेदवार भट्टराई

हिमाल प्रेस २३ चैत २०७९ १४:५२
1.3k
SHARES
वडाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बाँडेर भोट माग्दै कांग्रेसका उम्मेदवार भट्टराई वडा कार्यालयले वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्ता आफ्नै हातबाट वितरण गर्दै उम्मेदवार गोविन्द भट्टराई

काठमाडौँ- नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले वडा कार्यालयले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्दै भोट मागेका छन्।  भट्टराई वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ मा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार हुन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार पनि हुन्।

आज बिहीबार व्यास नगरपालिका-११ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम राखेको थियो।  भत्ता वितरण गरिरहेको समयमा त्यहाँ पुगेका उम्मेदवार भट्टराईले अपांगता भएका धर्मबहादुर अधिकारीलाई वडाले वितरण गर्ने भत्ता आफ्नो हातबाट दिएका हुन्।

‘आज भत्ता वितरण कार्यक्रम थियो। कर्मचारीले भत्ता वितरण गरिरहेका थिए। त्यही बेला उहाँ (गोविन्द भट्टराई) आउनु भएको रहेछ त्यही बेला गाउँको भाइलाई रकम दिनु भएछ,’ वडा अध्यक्ष दलबहादुर दुराले हिमालप्रेससँग भने, ‘मलाई चाहिँ यो घटनाबारे सबै कुरा थाहा भएन। उहाँले पनि खै किन त्यसरी दिनु भएछ।’

वडा अध्यक्ष दुरा स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका-११ मा कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

तनहुँ-१ मा कांग्रेसका भट्टराईसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ।

यहाँ एमालेका सर्वेन्द्र खनाल,  राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले,  नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राप्रपाकी शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर  थापा, नेकपा (माओवादी)का गणेश श्रेष्ठ चुनावी मैदानमा छन्।

प्रकाशित: २३ चैत २०७९ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =