‘आत्मविश्वासी’ एभरटनसँग रोकियो टोटनहम

हिमाल प्रेस २१ चैत २०७९ ९:५५
12
SHARES
‘आत्मविश्वासी’ एभरटनसँग रोकियो टोटनहम

काठमाडौँ- रक्षक माइकल किनले ९० औँ मिनेटमा गोल गरेपछि एभरटनले इंग्लिस प्रियिमर लिगमा टोटनहमलाई १-१ को बराबरीमा रोकेको छ। यो नतिजाले एभरटनको रेलिगेसनबाट बच्ने अभियानमा सहयोग पुगेको छ। उता टोटनहमका लागि भने यो नतिजा सकारात्मक होइन।

शीर्ष चारमा रही लिग समापन गर्ने लक्ष्यमा रहेको टोटनहमलाई ह्यारी केनले दोस्रो हाफको ६८ औँ मिनेटमा अघि बढाएका थिए। किनले इभान पेरिसिकलाई १८ यार्ड बक्सभित्र लडाएपछि टोटनहमले पेनाल्टीको अवसर पाएको थियो। जसमा केन चुकेनन्।

गुडिसन पार्कमा अग्रता रक्षा गर्न सकेको भए टोटनहम तेस्रो स्थानमा उक्निले थियो। तर जसका कारण टोटनहमले पेनाल्टी पायो, उनले नै टोटनहमलाई स्तब्ध बनाए। निर्धारित ९० मिनेट सकिनै लाग्दा किनले लामो दूरीबाट गोल गरे।

यो खेलमा दुवै टिम १०-१० खेलाडीमा सीमित भएका थिए। एभरटनका अब्डुलाये डिकुरेले ५८ औँ मिनेटमा सिधा रातो कार्ड पाएका थिए। केनको अनुहारमा हातले प्रहार गरेको निहुँमा उनलाई रातो कार्ड देखाइएको थियो। लुकास मौराले ८८ औँ मिनेटमा रातो कार्ड पाएपछि टोटनहम पनि १० खेलाडीमा झरेको थियो। ब्राजिलियन फरवार्डले किनलाई फाउल गरेका थिए।

बराबरीले एभरटन रेलिगेसन क्षेत्रबाट बाहिर निस्कियो। पछिल्लो खेलमा चेल्सीलाई बराबरीमा रोकेको एभरटन १५ औँ स्थानमा पुगेको छ। एभरटनसँग २९ खेलबाट २७ अंक छ। जुन १८ औँ स्थानको लिड्स युनाइटेडकोभन्दा दुई अंकले बढी हो।

एन्टोनियो कोन्टेको बर्खास्तगीपछि पहिलो खेल खेलेको टोटनहम ५० अंकसहित चौथो स्थानमा छ। तेस्रो र पाँचौँ स्थानका न्युकासल युनाइटेड तथा म्यानचेस्टर युनाइटेडको पनि ५०-५० अंक छ। न्युकासल र युनाइटेडले टोटनहमको भन्दा दुई-दुई खेल कम खेलेका छन्।

टोटनहमका कार्यवहाक प्रशिक्षक क्रिस्टियन स्टेलिनीले आफ्नो टिमलेभन्दा एभरटनले आक्रामक खेलेको प्रतिक्रिया दिए। ‘१० खेलाडीमा सीमित भएपछि एभरटनले बढी आक्रमण बुन्यो। हामीमा चाहिँ आक्रामकताको कमी भयो। हाम्रा खेलाडी घरेलु रंगशालामा जसरी खेल्छन्, बाहिर त्यसरी नै खेल्न सकिरहेका छैनन्,’ घरेलु रंगशालाबाहिर लगातार छैटौँ खेलमा जितविहीन भएपछि स्टालिनीले भने।

अपराजित यात्रालाई चौथो खेलमा पुर्‍याएपछि एभरटनका प्रशिक्षक सिन डाइचले आफ्ना खेलाडीमा आत्मविश्वास बढिरहेको बताए। ‘प्रत्येक खेलमा हाम्रा खेलाडी मानसिक रुपमा बलियो बन्दै गइरहेका छन्। आज पनि १० खेलाडीमा सीमित हुनुका बाबजुद हामीले हिम्मत हारेनौँ। फलतः टोटनहममाथि हामीले दबाब सिर्जना ग¥यौँ,’ डाइचले भने।

प्रकाशित: २१ चैत २०७९ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =