बैंक : सुरक्षाको सारथि

बैंकको पहुँचले बढाएको खुसी

रमा केसी २१ चैत २०७९ १०:३८
82
SHARES
बैंकको पहुँचले बढाएको खुसी

सुर्खेत– वीरेन्द्रनगर-१ मा बैंक खुलेपछि स्थानीयलाई बचत गर्न र ऋण लिन सहज भएको छ। बैंक स्थापनापछि स्थानीयको जीवन फेरिएको छ। उहिले गाह्रोसाह्रोमा छिमेकीसँग आर्थिक कारोबार गर्ने उनीहरू अहिले बैंकतिर आकर्षित भएका छन्।

उहिल्यै बैंक नहुँदा पेन्सनका लागि प्रहरी क्याम्प नै पुग्ने गरेको वीरेन्द्रनगर-१ की बालकुमारी खड्काले बताइन्। ‘पहिले पेन्सन लिन प्रहरी क्याम्पमै पुग्नुपर्थ्यो,’ उनले भनिन्, ‘तर अहिले सबै कारोबार बैंकमार्फत हुन्छ। बचतसँगै ऋण लिन पनि सजिलो भएको छ।’

पहिले धनी मानिसबाट सय कडा पाँच, तीन, दुईका दरले पैसा लिएर काम चलाउने गरेको उनले सम्झिइन्। ‘धनीसँग पैसा हुन्थ्यो, अप्ठ्यारो पर्दा उनीहरूबाट ऋण काढेर काम चलाइन्थ्यो,’ उनले भनिन्।

बैंक नहुँदा घरमा पैसा राख्न पनि समस्या हुने गरेको उनले सुनाइन्। ‘बाकसमा पैसा राख्दा चोरी हुन्छ भनेर कोही भड्डुभित्र त कोही घरभित्र खाल्डो खनेर पैसा लुकाउँथे,’ उनले भनिन्, ‘अहिले यी सबै गर्नु पर्दैन। बैंकमा पैसा राख्यो अनि ढुक्कले बस्यो।’

उतिखेर स्थानीय स्तरमा बैंक नहुँदा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको खड्काले बताइन्। ‘बैंक भएपछि काम सजिलो र छिटो भएको छ,’ उनले भनिन्, ‘नत्र दिनभरि लगाएर नेपालगन्ज जानुपर्थ्यो। अहिले त्यो समस्या हटेको छ।’

वीरेन्द्रनगर-८ का सेवाग्राही उदयजंग थापा गाउँमा विभिन्न बैंक आएपछि सहज भएको बताउँछन्। ‘सुरुमा सुर्खेतमा दुईवटामात्र बैंक थिए,’ उनले भने, ‘खूब भीड लाग्थ्यो। सेवा लिन निकै सास्ती हुन्थ्यो।’

‘पहिले तलब वाणिज्य बैंकमार्फत लिनुपर्थ्यो,’ उनले थपे, ‘बैंकमा हुने भीडका कारण जागिरबाट बिदा लिएर तलब लिने गरिन्थ्यो। तर अहिले जतिखेर फुर्सद भयो त्यतिखेर गएर पनि तलब लिन सकिन्छ।’

त्रिपुरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीले पहिले शिक्षकको हातमै दिइने तलब अहिले बैंकको खातामा जाने गरेको बताए। ‘अब तीन महिनाको तलब एकैपटक सबै कर्मचारीको खातामा नेपाल सरकारले नै पठाउने गरेको छ,’ उनले भने।

सांग्रिला बैंकका शाखा प्रबन्धक जीवन डीसी बैंक स्थापनापछि गाउँघरमा आर्थिक कारोबार गर्न सहज भएको बताउँछन्। ‘बैंकका कर्मचारीले गाउँघरमा गएर बैंकको फाइदाबारे जनचेतना फैलाएपछि आर्थिक कारोबार बढेको छ,’ उनले भने, ‘बैंकमा सेवाग्राहीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ।’

वीरेन्द्रनगरमा लामो समयदेखि व्यापार गर्दै आएका सुन्दर प्रधान बैंकका कारण अहिले घरमै बसेर नगद कारोबार गर्न सहज भएको बताउँछन्। ‘अहिले त ग्राहक पसलमा सामान लिनमात्र आउँछन्,’ उनले भने, ‘धेरैले मोबाइलबाटै पैसा तिर्छन्। सीधै बैंक खातामा पैसा गएपछि हामीलाई पनि सजिलो भएको छ।’

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कर्णालीमा ४ सय ५५ वटा बैंक तथा वित्तीय संस्था छन्। जसमध्ये सुर्खेतमा १ सय ३७, सल्यानमा ७६, रुकुम पश्चिममा ५१, मुगुमा १३, कालिकोटमा २७, जुम्लामा ३६, जाजरकोटमा ३२, हुम्लामा १२, डोल्पामा १६ र दैलेखमा ५५ वटा बैंक छन्।

बलिया बैंक

 

प्रकाशित: २१ चैत २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =