सन्दर्भ : रेडियो नेपाल स्थापना दिवस

‍अनि श्री ३ जुद्धले घरघरबाट रेडियो सेट जफत गर्न आदेश दिए

सन्तोष खडेरी २० चैत २०७९ ६:२१
1.9k
SHARES
‍अनि श्री ३ जुद्धले घरघरबाट रेडियो सेट जफत गर्न आदेश दिए श्री ३ जुद्धशमशेर जबरा र सन् १९४० तिर नेपाल भित्र्याइएको रेडियो सेट। तस्बिर स्रोत : इन्टरनेट

आज चैत २० गते रेडियो नेपालको स्थापना दिवस। नेपालमा  ७२ वर्षअगाडि आजैका दिन २० चैत २००७ मा रेडियो प्रसारण सुरु भएको थियो। राणाकालको आखिरी दिनमा मोहनशमशेरको पालामा नेपालमा रेडियो प्रसारणका लागि कोसिस भए पनि त्यो सफल भएन। राणाशासन अन्त्य भएर प्रजातन्त्र आएपछि रेडियो प्रसारण सुरु भएको हो।

नेपालमा ठ्याक्कै कहिलेदेखि रेडियो सेट भित्रियो, पहिलोपटक कसले रेडियो सुन्यो र कसकसले रेडियो राखे भन्ने यकिनका साथ भन्न सकिँदैन। मदनमणि दीक्षितले आफ्नो पुस्तक ‘आनन्दमय आकाश’ मा सन् १९२९ को गर्मी महिनामा रेडियो भित्रिएको उल्लेख गरेका छन्। आफ्ना काका देवमणि दीक्षितले काठमाडौँमा भित्र्याएको उक्त रेडियोलाई सके त्यो सातौँ रेडियो भनी पुस्तकमा लेखिएको छ।

सन् १९२९ को गर्मी महिनाताका चन्द्रशमशेर श्री ३ महाराज एवं प्रधानमन्त्री थिए। सोही वर्षको जाडो महिनामा उनको निधन भएर भीमशमशेर प्रधानमन्त्री भए। दीक्षितले पुस्तकमा सातौँ रेडियो भनी उल्लेख गरेअनुसार त्यसअगाडि काठमाडौँमा ६ वटा रेडियो भित्रिसकेको अनुमान गर्न सकिन्छ। तर ती रेडियो कसले र कहिले कहिले भित्र्याए भन्ने कुनै प्रमाण पाइँदैन।

नेपालमा सन् १९३२ को १ सेप्टेम्बरमा भीमशमशेरको निधन भयो। जुद्धशमशेर श्री ३ महाराजसहित प्रधानमन्त्री घोषित भए। सन् १९३० को दशकको मध्यतिर भारतमा अल इन्डिया रेडियो प्रसारण सुरु भएको थियो। सोही अवधिमा बीबीसीले भारतसहित आफ्ना औपनिवेशिक क्षेत्रमा उपनिवेशमुखी प्रसारण सुरु गर्‍यो।

भारत र  ब्रिटिस उपनिवेशमुखी प्रसारणले नेपालभित्र पनि सुन्न सकिने भयो। त्यसपछिका दिनमा भने नेपालमा रेडियो सेट भित्र्याउने र सुन्नेको संख्या बढ्यो।

एकातिर नेपालको तानाशाही जहाँनिया राणा शासन व्यवस्था र अर्कोतिर रेडियोको मूल्य महँगो भएका कारण पनि रेडियो भित्रिन जटिल हुँदो हो। राणाशासन सानोभन्दा सानो कुरा पनि प्रधानमन्त्रीसमक्ष जाहेर गरी उनैबाट स्वीकृति पाउने खालको व्यवस्था थियो। त्यतिबेला रेडियो राख्नका लागि अनुमति लिनुपर्ने गरी लाइसेन्सको व्यवस्था गरिएको थियो। त्यतिबेला रेडियो भित्र्याउने र सुन्ने पनि भाइभारदार राणा शासकले पत्याएका दुनियादार हुन्थे। जुद्धशमशेरको उदयपछि दोस्रो विश्वयुद्धको प्रारम्भ हुँदाको अवधिमा नेपालमा धेरै रेडियो सेट भित्रिएको देखिन्छ।

रेडियो सुन्ने प्रचलनलाई द्वितीय विश्वयुद्धले भने निकै असर पार्‍यो। सन् १९४० को सेप्टेम्बरमा जर्मनीले ब्रिटेनउपर लन्डन वरपर हवाई हमला सुरु गरेको थियो। त्यसपछि नेपालीहरूसमेत जर्मन रेडियो प्रसारण सुनेर जर्मनीको पक्षको कुरा गर्न थाले। परम्परागत मित्र ब्रिटिस अगुवाइको गठबन्धनलाई नेपालले पहिलो विश्वयुद्धदेखि आर्थिक एवं सैनिक सहयोग उपलब्ध गराएर मद्दत पुर्‍याएको थियो। द्वितीय विश्वयुद्धमा समेत नेपालले उसैगरी आर्थिक एवं सैनिक सहयोग प्रदान गरेको थियो। नेपालमा पनि भाइभारदार एवं अन्य दुनियादारले जर्मन रेडियो प्रसारण सुनेर आमजनतासहित अन्य राणारुमा समेत जर्मन पक्षमा जनमत बढ्ला भन्ने भय प्रधानमन्त्री जुद्धशमशेरमा भयो।

नजिकको मैत्री सम्बन्ध रहेको ब्रिटेनविरुद्धको कुनै पनि खबर सुन्न नचाहने अवस्थामा जुद्धशमशेर थिए। त्यसैले उनले नेपालीहरूसमेत गोयब्ल्स प्रोपोगन्डाबाट प्रभावित होलान् भनेर सबैबाट रेडियो सेटहरू खोस्न आदेश दिएका थिए।

रेडियो खोसेको उक्त घटनालाई सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा यसरी लेखेका छन् –

‘जब रुस हार्‍यो, रुसलाई जितेपछि जर्मनी ब्रिटेनमाथि जाइलाग्दछ, अंग्रेजको हार अब अवश्यम्भावी भयो भन्ने हल्ला नेपालमा बेतोडसँग मच्चियो। त्यसबखत काठमाडौँ सहरमा टोलैपिच्छे एकाध घरमा रेडियो सेट हुन्थे। अंग्रेज हार्न लाग्यो भन्ने हल्ला सुनेका सहरियाहरू रेडियो हुनेहरूका घरमा झुम्मिन थाले। अंग्रेजको हार नेपालका राणाजीहरूको हार हो’ भन्ने खालका हल्ला बेतोड रूपमा चल्न थालेपछि जुद्धशमशेरले आफ्ना केही विश्वासपात्र व्यक्तिहरूबाहेक अन्य सबैको घरघरबाट रेडियो सेट जफत गरी सिंहदरबारमा थन्काउन लगाए।’

जुद्धशमशेरले रेडियो सेट खोसेको घटनालाई नेपालस्थित तत्कालीन  ब्रिटिस राजदूतले आफ्नो सरकारलाई पठाएको सन् १९४० को वार्षिक राजनीतिक प्रतिवेदनमा यसरी उल्लेख गरेका छन्-

‘नेपालका आमजनतामा मात्र होइन सत्तारुढ राणा परिवारभित्रका सदस्यहरूको मनमस्तिष्कमा पनि जर्मन रेडियो प्रसारणको गहिरो असर पर्न थालेपछि प्रधानमन्त्रीले त्यसको प्रभाव हटाउनका लागि कम्यान्डर इन चिफ र कमान्डिङ जनरलहरूबाहेक अन्य सबैका रेडियो सेटहरू प्रहरीलाई बुझाउन लगाए।’

कम्यान्डर इन चिफ र कमान्डिङ जनरलहरूबाहेक सबैका रेडियो सेटहरू खोस्ने कदमले प्रधानमन्त्री जुद्धशमशेरको तत्कालीन अवस्थाको चित्रण गर्दछ। राणाकालीन शासन व्यवस्थामा प्रधानमन्त्रीका मुख्य सहयोगीहरू आफूभन्दा दोस्रो वरीयताको एउटा कम्यान्डर इन चिफ र त्यसपछिका अरू चार जना पश्चिम, पूर्व, दक्षिण र उत्तरतर्फका कम्यान्डिङ जनरल रहने गर्दथे। यसरी त्यतिबेला कम्यान्डर इन चिफ पद्मशमशेर जबरा, कमान्डिङ जनरलहरूमध्ये मोहनशमशेर, बबरशमशेर, केशरशमशेर र बहादुरशमशेरले मात्र रेडियो राख्न पाएका थिए।

ब्रिटिस राजदूतले सोही प्रतिवेदनमा उल्लेख गरेको एउटा प्रसंगले त त्यतिबेला प्रधानमन्त्रीका प्राइभेट सेक्रेटरी बडाकाजी मरीचिमान सिंहले समेत रेडियो राख्न पाएका थिएनन्। बडाकाजी सिंह प्रधानमन्त्री चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेरका प्राइभेट सेक्रेटरी थिए। तीन प्रधानमन्त्रीको तीन दशकभन्दा बढी अवधिसम्म वैदेशिक मामिला सञ्चालनमा उनले निर्णायक हैसियत राख्ने गरेको विषयमा नेपाल बसेका सबैजसो ब्रिटिस राजदूतहरूको समान राय थियो। ब्रिटिस राजदूतले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको जस्तो त्यस्तो व्यक्तिले समेत त्यतिबेला रेडियो सेटको पहुँच नपाएको भन्ने विषय भने सोचनीय छ।

बेलायतविरुद्धको लडाइँमा जर्मन असफल भएपछि प्रधानमन्त्री जुद्धशमशेरले त्यसअगाडि खोसेका रेडियो सेटमध्ये निश्चित केहीलाई फिर्ता गरिदिएका थिए। त्यसरी फिर्ता गरिदिँदासमेत प्रधानमन्त्रीका प्राइभेट सेक्रेटरी बडाकाजी सिंहले आफ्नो सेट फिर्ता नपाएको भन्ने बुझिएको छ भन्ने विषय ब्रिटिस राजदूतले उल्लेख गरेका थिए।

दोस्रो विश्वयुद्धको अन्त्यपछि जुद्धशमशेरले गेरु वस्त्रधारण गरी राजर्षि महाराजका रूपमा राजकाज त्याग गरी रिडीतर्फ प्रस्थान गरे। उनीपछि प्रधानमन्त्री भएका पद्मशमशेर केही उदारवादी थिए। उनले आफ्नो कार्यकालमा आमनागरिकलाई रेडियो राख्ने अनुमति दिएका थिए। त्यतिबेला पनि रेडियो सेट राख्नका लागि लाइसेन्सको व्यवस्था थियो। उनले आमसर्वसाधारणलाई समेत लाइसेन्स लिएर रेडियो राख्ने अनुमति दिएका थिए। पद्मशमशेरपछि प्रधानमन्त्री भएका मोहनशमशेरले नेपालमा औपचारिक रूपमा रेडियो सुरु गर्ने कोसिस गरेका थिए। तर सफल हुन सकेनन्। राणा शासनको अन्त्य भएर नेपालमा प्रजातन्त्र आएपछि मात्र नेपालमा रेडियो प्रसारण सुरु भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =