लुुम्बिनी– २०६२/६३ सालपछि पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुुटवल र भैरहवामा केन्द्रीय कार्यालय राखेर विकास बैंक स्थापनाको होडबाजी चल्यो। थुप्रै विकास बैंक र फाइनान्स कम्पनी खुलेका कारण बुुटवललाई पश्चिमको ‘बैंकिङ’ हबका रूपमा चिनिन थाल्यो। तर यो परिचय १० वर्ष पनि टिक्न पाएन। नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिसहित बैंक मर्जरको नीति लिएपछि रुपन्देहीका वित्तीय संस्थाले आफ्नो अस्तित्व रक्षा गर्न सकेनन्।
अर्थ क्षेत्रका जानकार मनीकर कार्की राष्ट्र बैंकको नीतिका कारण स्थानीय स्थरमा खुलेका थुप्रै विकास बैंक हराएको टिप्पणी गर्छन्। ‘पुँजी वृद्धिको दबाब र केन्द्रीकृत मनोविज्ञानले गर्दा बुटवलका धेरै वित्तीय संस्थाले परिचय गुमाए’, उनी भन्छन्।
कार्कीले भनेजस्तै २०७२ सालपछि राष्ट्र बैंकले तोकेको लगानीको सीमा पूरा गर्न नसक्दा बुटवलका थुप्रै विकास बैंक शाखा कार्यालयमा सीमित भए। बुटवल र भैरहवामा केन्द्रीय कार्यालय भएका दर्जन बढी विकास बैंक अस्तित्वविहीन भए।
कुनै बेला बुटवल–भैरहवा क्षेत्रमा पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, बुटवल फाइनान्स, भृकुटी विकास बैंक, सेवा विकास बैंकलगायतको केन्द्रीय कार्यालय थियो।
त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, एकता विकास बैंक, सिद्धार्थ फाइनान्स, पूर्णिमा विकास बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंकको पनि प्रधान कार्यालय यहीँ थियो।
बुटवलमा खुलेको साइन र गुल्मीमा खुलेको रेसुंगा बैंक मर्जर भएर बनेको साइन रेसुंगा डेभलपमेन्ट बैंकले मात्रै आफ्नो केन्द्रीय कार्यालय रुपन्देहीमा राखेर अस्तित्वरक्षा गरेको छ।
साइन रेसुंगाले समेत कर्पोरेट कार्यालय काठमाडौँमा स्थापना गरेको छ।
मर्जरमा गएका बैंक
केही समयअघि बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र कम्युनिटी डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैनन्। ‘ख’ वर्गका यी सबै बैंक ‘क’ वर्गको सिटिजन्स बैंकसँग गाभिए। जसले गर्दा स्वतः केन्द्रीय कार्यालय काठमाडौँ सर्यो।
पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक २०७१ साउन ३० मा मर्ज भएर नेपाल ग्रामीण विकास बैंक भयो। यसको केन्द्रीय कार्यालय बुटवलमा छ।
साइन रेसुंगा डेभलपमेन्ट बैंकले भैरहवामा रहेको पूर्णिमा विकास बैंकलाई मर्जर गरेको छ। सेवा विकास बैंक कामना विकास बैंकसँग मर्जर भएर कामना सेवा विकास बैंक बनेको छ। भृकुटी विकास बैंक एनएमबी बैंकसँग मर्जर भएर एनएमबी बैंक बनेको थियो।
बुटवल फाइनान्स सिनर्जी फाइनान्ससँग मर्जमा गएर सिनर्जी फाइनान्स बन्यो। त्यसपछि बेस्ट फाइनान्सका रूपमा रूपान्तरण भयो। एकता विकास बैंक र जनता विकास बैंक गाभिएर जनता बैंक बन्यो। जनता बैंक पनि ग्लोबल आईएमईसँग गाभिसकेको छ।
पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंकसँग गाभिएर मेगा बैंक बन्यो। पश्चिमाञ्चल फाइनान्स कुमारी बैंकमा बिलायो। सिद्धार्थ फाइनान्स, महालक्ष्मी विकास बैंकसँग गाभिएको छ भने इन्नोभेटिभ डेभलपमेन्ट बैंक सेन्चुरीमा गाभिएको छ।
राष्ट्र बैंकको लगानीको सीमाले मात्रै नभएर बैंक स्वयम्ले गर्दा रुपन्देही बैंकिङ हब हुनबाट चुकेको जानकारहरू बताउँछन्। तत्कालिन सेवा विकास बैंकका संस्थापक भीम तुलाचन बैंकहरूले तत्कालिन लाभलाई मात्रै आधार बनाएर सञ्चालन गरेका कारण समस्या आएको बताउँछन्। उनले केन्द्रीय कार्यालय स्थानीय स्तरमै हुँदा आर्थिक क्षेत्र चलायमान हुनुका साथै बैंकिङ सेवामा समेत सबै तहका नागरिकको पहुँच सहज हुने बताए। उनले भने, ‘रुपन्देहीका बैंक एकआपसमा मिलाएर केन्द्रीय कार्यालय यहीँ राख्ने अवसरबाट हामी चुकेको हो।’
दुई हजार बैंक
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था रहेको जिल्लामा रुपन्देही पर्छ। रुपन्देहीको बुुटवल र भैरहवा ठूला सहर तथा औद्योगिक क्षेत्रसमेत भएकाले यहाँ आर्थिक क्रियाकलाप बढी छ।
राष्ट्र बैंकका अनुसार गत पुससम्म लुम्बिनी प्रदेशमा २ हजार २१२ बैंक तथा वित्तीय संस्थाका कार्यालय छन्। ६१३ एटीएमको संख्या छ।
चालु आर्थिक वर्ष २०७९/८० को पुससम्म ७० लाख ३२ हजार ५९५ निक्षेपकर्ताबाट ४ खर्ब २७ अर्ब २४ करोड ४४ लाख संकलन भएको छ। ३ लाख १८ हजार ५९७ जना ऋणी संख्या रहेको लुम्बिनीमा ३.६९ प्रतिशत कर्जा निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख छ। बुटवल उपमहानगरमा मात्रै ‘क’ तथा ‘ख’ वर्गका २८ बैंकले सेवा दिइरहेका छन्।