एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा, सुनको बल सार्वजनिक

हिमाल प्रेस १९ चैत २०७९ १७:२०
18
SHARES
एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा, सुनको बल सार्वजनिक

काठमाडौँ– बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौँमा गर्ने भएको छ। उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’रहेको छ। बाह्रखरी मिडियाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको थियो।

कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए। उनले खेलसँगै बाह्रखरीले वार्षिक रूपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पुर्‍याएको बताए।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब ४ सय पाहुना सहभागी हुनेछन्।

कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन्।

‘अर्को चरणको आर्थिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक परिसंवाद आयोजना गरिएको हो,’ प्रधान सम्पादक प्रधानले भने, ‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पुर्‍याउनेछ भन्ने हामीलाई लागेको छ।’

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिक गरिएको थियो। गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिक गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए।

पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता ठूलो कुरा भएको बताउँदै बाह्रखरीले पाँच वर्षदेखि निरन्तरता दिएको भन्दै प्रशंसा गरे।

‘बाह्रखरीले यसलाई ५ वर्षदेखि निरन्तरता दिएको छ, योपटक आर्थिक क्षेत्र र खेललाई अगाडि बढाएको छ,’ आचार्यले भने, ‘बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रम गल्फ प्रतियोगिताकै सबैभन्दा महत्त्वपूर्ण हो।’

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मन्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रमले खेल र आर्थिक क्षेत्रकै अति महत्त्वको भएको बताए।

‘बाह्रखरीले आर्थिक क्षेत्रलाई जोड्न खोजेको छ। सगरमाथा क्षेत्रमा भएको गल्फले विश्वव्यापी प्रचार पायो र रेकर्ड कायम भयो,’ उनले भने, ‘यसले नेपालको विश्वव्यापी प्रचार भयो भने खेल क्षेत्रले पनि महत्त्व प्राप्त गर्‍यो। सगरमाथा क्षेत्रमा भएको गल्फले विश्वव्यापी प्रचार भएको हुँदा देशले नै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा पाएको छ।’

कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले खेलमा सहयोग पुर्‍याउने सहयोगी संस्था तथा उपस्थित पाहुनालाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: १९ चैत २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =