बालबालिकाका लागि ‘अभिसाप’ बन्दै सामाजिक सञ्जाल

हिमाल प्रेस २० चैत २०७९ १०:३८
76
SHARES
बालबालिकाका लागि ‘अभिसाप’ बन्दै सामाजिक सञ्जाल

काठमाडौँ- सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ। कोभिड-१९ महामारीताका इन्टरनेट प्रयोगबाट पठनपाठन सञ्चालन गरिएको थियो। त्यसयता स्कुले विद्यार्थीमा सोसल मिडियाको लत बस्दै गएकाले उनीहरूमा त्यसको नकारात्मक असर देखिन थालेको विज्ञहरूले बताएका छन्। मोबाइल बढी प्रयोग गर्ने बालबालिकामा मनोसामाजिक समस्या देखिएको शिक्षाविद् राजकुमार ढुंगानाले बताए।

‘सामाजिक सञ्जालमा आउने सकारात्मक र नकारात्मक कुराको चयन गर्न नसक्नु तथा शिक्षाप्रति अभिभावक र विद्यालयको दबाब बढ्नुलगायतले पनि बालबालिका अनावश्यक दबाबमा परिरहेका छन्,’ उनले भने, ‘जसले गर्दा विद्यालय तहका बालबालिकाको अध्ययनमा रुचि घट्दै गएको छ।’

यसरी विद्यार्थीको अध्ययनमा मन नलाग्नुले समग्र शिक्षा क्षेत्रमा डरलाग्दो खतराको संकेत गरेको ढुंगानाको भनाइ छ। ‘सही तरिकाले प्रविधिको प्रयोग नगर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा असर परिरहेको छ,’ उनले भने, ‘त्यसबारे सबै सरोकारवाला गम्भीर हुनुपर्छ।’

शिक्षाविद् ढुंगानाले विद्यालयस्तरबाटै बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा जोड दिएका छन्। ‘अभिभावकले विद्यार्थीलाई उच्चतम अंक ल्याउन दबाब दिन्छन्,’ उनले भने, ‘त्यस्तै आफ्ना अपेक्षा छोराछोरीमाथि थोपर्छन्। त्यसो गर्नु सामाजिक अपराध हो। बालबालिकाले डरलाग्दो सामाजिक दबाब झेलिरहेका छन्। जसले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको छ।’

विद्यार्थीलाई त्यो अवस्थाबाट मुक्त गर्न राज्यले मुख्य भूमिका खेल्न सक्ने ढुंगानाले बताए। ‘अभिभावकको चेतनास्तर उकास्न राज्यले काम गर्नुपर्छ,’ उनले भने, ‘विद्यालयस्तरबाटै विद्यार्थीलाई मनोसामाजिक परामर्श सेवा दिनुपर्छ। शिक्षकलाई अभिमुखीकरण गर्नुपर्छ।’

काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि कोभिड- १९ महामारीपछि विद्यार्थीमा इन्टरनेट प्रयोगको लत बसेको बताए।  विद्यार्थीमा एकोहोरो हुने, आक्रामक बन्ने, धेरै मोबाइल चलाउँदा आँखा रातो हुने, दुब्लो हुनेलगायत समस्या देखिएपछि मनोसामाजिक परामर्श दिने गरिएको उनको भनाइ छ।

‘कोरोनाकालमा अनलाइन पठनपाठन बाध्यता थियो,’ उनले भने, ‘विद्यालय भौतिक रूपमा सञ्चालन भएपछि पनि विभिन्न प्रकारका अनलाइन खेल खेल्ने, मोबाइलको गलत प्रयोग गर्ने, असान्दर्भिक वेबसाइट हेर्ने, नैतिक शिक्षा र अनुशासनमा कमी, अभिभावक र शिक्षकलाई आदरसम्मान नगर्नेलगायत बानी विद्यार्थीमा देखिएका छन्।’

मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डे र विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल।

तीबाहेक विद्यार्थीमा झोक्किने, रुखो स्वभाव, घुर्की लगाउने, एकोहोरोपन आदि देखिएको प्रधानाध्यापक कँडेलले बताए। ‘हामीले साइको सोसल काउन्सिलर, मनोपरामर्शका विधि अपनाएर विद्यार्थीलाई परामर्श दिने गरेका छौँ,’ उनले भने, ‘त्यसैगरी मानसिक स्वास्थ्यसम्बन्धी विज्ञमार्फत बालबच्चालाई सम्झाउने अनि शिक्षकहरूलाई पनि उनीहरूको गतिविधि, हाउभाउमा निगरानी गर्न सुझाउँछौँ।’

विद्यार्थीका कमीकमजोरी पत्ता लगाएर त्यसअनुसार सम्झाउने, बुझाउने गरेको उनले बताए। ‘विद्यालयमा परामर्शका कक्षा पनि सञ्चालन गर्छौं,’ कँडेलले भने, ‘अभिभावकसँग पनि बाक्लो भेटघाट गर्ने गर्छौँ।’ इन्टरनेट प्रयोगका कारण बालबालिकामा अनिद्राको समस्या डरलाग्दो रूपमा देखिएको चिकित्सकहरू बताउँछन्।

अल्का अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डे सामाजिक सञ्जालमा हुने नकारात्मक कुराका कारण बालबालिकाको रचनात्मक क्षमता घट्नुको साथै मनोसामाजिक समस्या देखापर्न थालेको बताए।

‘१० वर्षअघि कम उमेरका बिरामी एउटा पनि हुन्थेन,’ डा. पाण्डेले भने, ‘अहिले दिनहुँ तीनदेखि चारजना ६ देखि १५ वर्षका बालबालिका मानसिक समस्या लिएर आउने गरेका छन्।’  बच्चाहरू हावा चले पनि डराउने, एक्लै बस्न नसक्ने, समूहमा कुरा गर्न नसक्ने, ढिलो बोल्नेलगायत विभिन्न समस्या देखिने गरेको डा. पाण्डेले बताए।

‘अहिले एकदमै धेरै देखिएको एन्जाइटी हो,’ उनले भने, ‘डर लाग्ने, ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, अनिद्रालगायत समस्या देखिने गरेका छन्।’ युवामा बढीजसो अनिद्राको समस्या देखिने डा. पाण्डेको भनाइ छ। ‘फेसबुक, ट्विटरलगायत सोसल मिडिया प्रयोग गर्दा मान्छे राति १/२ बजे सुत्ने गर्छन्,’ उनले भने, ‘त्यसो हुँदा युवामा सिर्जनशीलता घट्छ।’ बेलैमा मनोरोगको समस्या पहिचान गरी त्यसको निदान गर्नुपर्ने डा. पाण्डेले बताए। –न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: २० चैत २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =