मिथ्या सूचनाको संवेदनशीलताबारे विद्यालय तहबाटै सचेत बनाउनुपर्छ : गगन थापा

हिमाल प्रेस १२ फागुन २०८० १५:२९
274
SHARES
मिथ्या सूचनाको संवेदनशीलताबारे विद्यालय तहबाटै सचेत बनाउनुपर्छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुने बताउँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताएका छन्।

सेन्टर फर मिडिया रिसर्च नेपालले आज आयोजिना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा उनले मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताएका हुन्। उनले भने, ‘विद्यालय, समुदाय र परिवार नै बढ्ता जिम्मेवार हुनुपर्छ। कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भनी जानकार र जागरुक हुनुपर्छ।’

कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताए।

सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताए।

लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरूलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निरासाको मौकामा केही तत्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराए।

‘देशमा नैरश्यता किन बढ्यो र देशको राजनीतिक संवेदशनीलता कहाँ र के कस्ता छन्,त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा रणनीति बनाउनुपर्छ’, दलहरुको ध्यानाकर्षण गराउँदै उनले भने,‘सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आआफ्ना तहबाट के गर्न सकिन्छ गरौँ, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै आशा जगाउन सकौँ।’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबीच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए। ‘गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्,सामाजिक सञ्जालले ल्याएका चुनौती समाना गर्न सबै तयार हुनुपर्छ’, उनले भने।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियान्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘मिथ्या सूचनाविरुद्ध समाज एक ठाउँमा उभिनुपर्छ,यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतन्त्र हाम्रो हातबाट बाहिर जान सक्छ’, उनले भने।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भ्रमपूर्ण सूचनाले सिंगो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =