सनातन धर्म मान्नेको संख्या घटेको हल्ला छ, सत्यतथ्य सार्वजनिक गर : कमल थापा

हिमाल प्रेस १५ चैत २०७९ १७:४३
90
SHARES
सनातन धर्म मान्नेको संख्या घटेको हल्ला छ, सत्यतथ्य सार्वजनिक गर : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म मान्नेको संख्या सार्वजनिक गर्न माग गरेका छन्। आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो जनगणनामा हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको संख्या घटेको हल्ला भएकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

‘धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गर्न गराउन पश्चिमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन्। केही प्रमुख दलहरूले धर्म परिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन्,’ उनले भनेका छन्, ‘राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भैरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चारमाध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ।’

उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनुबाहेक अर्को विकल्प नभएको बताएका छन्। साथै उनले सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई संयुक्त र एकताबद्ध संघर्षको तयारीमा जुट्न आह्वान पनि गरेका छन्।

धर्म परिवर्तनको डढेलोमा सनातन धर्म (हिन्दू, बौद्ध र किराँत) संस्कृति र परम्परा कमजोर हुँदै गएको तथा लोभलालच, प्रलोभन, भ्रम र त्रास सिर्जना गरी योजनाबद्ध र संगठित रूपमा धर्म परिवर्तन गराउने काम भइरहेकोबारे राप्रपा नेपालले बारम्बार आवाज उठाउँदै आएको उनले बताएका छन्।

प्रकाशित: १५ चैत २०७९ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =