अहिलेको व्यवस्था समस्याको पोको भइसक्यो, फेर्ने समय आयो : कमल थापा

हिमाल प्रेस २९ चैत २०८० १६:०२
24
SHARES
अहिलेको व्यवस्था समस्याको पोको भइसक्यो, फेर्ने समय आयो : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको ब्यवस्था समस्या नै समस्याको पोको भएको बताएका छन्। उनले अब यसलाई परिवर्तन गर्ने समय आएको दाबी गरे। अहिलेको ब्यवस्थाले देश र जनताको अवस्था परिवर्तन गर्न नसक्ने भन्दै थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकले धान्न नसक्ने दाबी गरे।

पार्टीको कार्यसम्पादन समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले गणतन्त्र भ्रष्टाचारको संरक्षक र बेथितिको मूल भएकाले यो प्रणाली र ब्यवस्थाले मुलुकलाई सुरक्षित राख्न नसक्ने बताए।

देशलाई बचाउन र बनाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र आवश्यक भएको भन्दै थापाले गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गरे। थापाले सस्तो र चर्का कुराले मुलुकको समस्याको समाधान हुन नसक्ने बताउँदै दीर्घकालीन सोच र कार्ययोजनाबिना दिगो विकास र स्थायित्व हुन नसक्ने थापाले बताए।

अहिलेको प्रणाली सहमतिमै फेर्न सकिने बताउँदै उनले सहमति गर्न कन्जुस्याइँ गरे आन्दोलनको विकल्प नहुने दाबी गरे। ब्यवस्था परिवर्तनका लागि सडकमा आउने शक्तिहरू सबैलाई समेटेर आन्दोलनमा जान राप्रपा नेपालले पहल गर्नेसमेत उनको धारणा थियो।

लुटतन्त्रले निरन्तरता पाए मुलुक थिलथिलो हुँदै जाने बताएका थापाले अब निर्णायक आन्दोलन जरुरी रहेको तर्क गरे। बैठकले इलाम उपनिर्वाचनलक्षित कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

अध्यक्ष थापा लगायत पदाधिकारीहरू इलाम जाने तयारी गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकले उपनिर्वाचनका लागि सह-महामन्त्री तेज कुरुङवाङको संयोजकत्वमा समन्वय समिति बनाएको छ। समितिमा प्रेम भट्टराई, माधव आचार्य, ममता राई, रोहित पौडेल, भरत पोखरेल र कमल खरेल छन्।

प्रकाशित: २९ चैत २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =