कोशी नामविरुद्ध थप आन्दोलन गर्ने चेतावनी, वार्तामार्फत सहमति खोज्‍न माओवादीको आग्रह

हिमाल प्रेस १० चैत २०७९ २०:०३
12
SHARES
कोशी नामविरुद्ध थप आन्दोलन गर्ने चेतावनी, वार्तामार्फत सहमति खोज्‍न माओवादीको आग्रह फाइल तस्बिर

इटहरी– पहिचानवादीहरूले कोशी प्रदेश नामकरणविरुद्ध थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। कोशी प्रदेश नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि आन्दोलनमा सहभागी भएका ४२ वर्षीय पदम लिम्बूको शुक्रबार बिहान मृत्यु भएपछि थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका हुन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न पनि माग गरिएको बताए।

‘पहिचानवादीको आन्दोलन शान्तिपूर्ण थियो। पहिचान विरोधी सत्ता, राजनितिक दलको इशारामा भड्काइयो। पूर्वमा अब के हुन्छ यसै भन्न सक्ने अवस्था छैन,’ उनले भने।

चैत ५ गते विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्यास प्रहार गरेको थियो। लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला प्रहरीले लाठी चार्ज गर्दा लिम्बूको टाउकोमा गम्भीर चोट परेको बताइएको छ।

लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रदेश १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको शुक्रबार बसेको बैठकले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

उनीहरूले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा हुनुपर्ने अडान राखेका छन्।

आन्दोलनकारी पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने पनि उनीहरूले बताएका छन्। संयुक्त राष्ट्रसंघ, मानव अधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने पनि बैठकको निर्णय छ।

चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशका १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको बैठकको निर्णय छ।

वार्ताको माध्यमबाट छलफलमा आउन माओवादीको आग्रह

यसैबीच पहिचान पक्षधर माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले वार्ताको माध्यमबाट सहमतिमा आउन आग्रह गरेका छन्।

पहिचान पक्षधरको बहुमत नभएका कारण प्रदेशको नामकरण पहिचानका आधारमा राख्न नसकिएको उनको जिकिर छ।

‘संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने हुदैन,’ उनले भने, ‘तर पहिचान पक्षधरको प्रदेशसभामा बहुमत नहुँदा यो नाम पारित भएको हो, यदि पहिचान पक्षधरको बहुमत भयो भने भोलि पनि नाम परिवर्तन हुनसक्छ।’

अहिले देखिएको असन्तुष्टि स्वभाविक रहेको बताउँदै उनले आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिमा आउन आग्रह गरेका हुन्।

आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको निधनप्रति दु:ख व्यक्त गर्दै आङ्बोले उनका परिवारलाई राहत प्रदान गर्न सरकारसमक्ष मागसमेत गरेका छन्। उनले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिनेसमेत बताए।

प्रकाशित: १० चैत २०७९ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =