छक्का पञ्‍जा ४ : मिस्त्रीले डिजाइन गरेको घरजस्तो

ललित मगर ४ चैत २०७९ ११:३३
364
SHARES
छक्का पञ्‍जा ४ : मिस्त्रीले डिजाइन गरेको घरजस्तो

काठमाडौँ- ‘छक्का पञ्जा ४’ अहिले देशभरिका हलमा प्रदर्शनरत छ। कमेडी विधाको यो फिल्म फागुन १९ देखि प्रदर्शनमा आएको हो। दुई साताको अवधिमा फिल्मले  राम्रै व्यापार गरिरहेको  छ। ‘छक्का पञ्चा’ दीपकराज गिरी र दीपाश्री निरौलाको चौथो ‘सिक्वेल’ हो।

‘छक्का पञ्जा ४’ हास्यविनोदमा छुट्टै पहिचान बनाउन सफल देखिन्छ। चौथो भागसम्म पुग्दा फिल्मका दृश्य र भाषा सुधारिँदै छन्। तैपनि फिल्ममा थुप्रै कमीकमजोरी नभएका हैनन्।

सानैदेखि छत्तीसको आँकडा भएका राजा (दीपकराज गिरी) र उनको साथी मास्टर (केदार घिमिरे ‘माग्ने बूढा’) चुनावको मुखैमा एकाएक मिल्छन्। मास्टर राजालाई सघाउन तयार हुन्छ। बिना कुनै कारण, बिना कुनै सर्त। यहीँबाट फिल्मको कथावस्तु खस्कन थाल्छ।

मास्टर जो गाउँमा वकिल, जान्नेमान्ने, सल्लाहकार, मार्गदर्शक मानिन्छ। मास्टरले ‘नराम्रोमध्ये राम्रो रोजौँ’ भन्छ। फिल्ममा देखाएअनुसार मिटर ब्याजी गुण्डा नाइके राजाभन्दा त उसको विपक्षी असल देखिन्छ।

कलाकार बुद्धि तामाङ गाउँको अगुवा बनेर नेताको पैसा लिएर तामाङ गाउँमा गई भोज आयोजना गरी भोट प्रभावित पार्ने काम गर्छ। योचाहिँ अचेलको राजनीतिक परिवेशसँग ठ्याक्कै मिल्छ।

राजाको छोराले अहिलेको युवापुस्ताको प्रतिनिधित्व गर्छ। जसको उद्देश्य स्पष्ट छैन। मुख्य पात्र राजा नै आफ्नो उद्देश्यबारे बेखबर छ। त्यसले कथाकार आफैँ अन्योलमा रहेको बुझाउँछ।

‘छक्का पञ्जा ४’ को कथा संरचना पहिलो भागको भन्दा कमजोर देखिन्छ। यसअघि वैदेशिक रोजगारीमा गएकाहरूको पीडा, शिक्षा, विदेशमोह बेचेको ‘छक्का पञ्जा’ समूहले यसपटक भने अहिलेका युवाको ‘फ्रस्ट्रेसन’, दिक्दारी र सामाजिक सञ्जालको प्रभाव विषय बनाएको छ।

समग्रमा भन्नुपर्दा प्रभावकारी संवाद, पात्र, सिनेमा बुझेका निर्देशक, छायांकार हुँदाहुँदै पनि सिनेमा इन्जिनियरले नभएर मिस्त्रीले डिजाइन गरेको घरजस्तो बनेको छ। सबथोक हुँदाहुँदै पनि केही नपुगेकोजस्तो।
सिनेमामा युट्युबरलाई मोटो रकम प्रस्ताव गरिन्छ। न कुनै बार्गेनिङ, न कुनै संवाद। सबै खेल मास्टरको इसारामा भइरहेका हुन्छन्। हुन त हाम्रो देश पनि त्यस्तै मास्टरहरूको सल्लाह र राजाजस्ता नेताको भरमा चलेको छ। पार्टीभित्र पनि त्यस्तै नातावाद, कृपावादको वर्चस्व छ।

राधाजस्ती श्रीमती र छोराका कारण पार्टीको बहुमत राजाको पक्षमा हुन्छ। राजाले कुनै कुरामा पनि दुःख गर्नु पर्दैन, जे चाहियो त्यो सजिलै पाउँछ। चुनावमा पैसा, मासु, रक्सी आदिको बलमा नतिजा राजाको पक्षमा आउँछ।

अभिनेत्री बेनिशा हमाल राजाको प्रेमिकाको भूमिकामा छिन्। राजाकी श्रीमतीले सो कुरालाई सहज रूपमा लिनुले फिल्म महिलाप्रति संवेदनशील नरहेको बुझाउँछ। प्रेमसम्बन्धले निम्त्याउने जटिलता देखाउँदा कथाको मुख्य मुद्दा ओझेलमा परेको छ।

चुनावी वातावरण, अस्वस्थ प्रतिस्पर्धा, डिजिटल मिडियाको प्रभाव, साइबर सेना, कर्मचारी तन्त्रलगायत विभिन्न कुरा समेटेको छ फिल्मले। उल्टासीधा बोलेर हँसाउने, ‘हल्का रमाइलो’ गरे पनि गहिराइसम्म पुगेर कथा लेखिएको छैन। फिल्म युवाको असन्तुष्टि, राजनीतिक असन्तुष्टि, विवाहेतर सम्बन्धलगायत समसामयिक विषयमा केन्द्रित छ।

हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ४ चैत २०७९ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =