शिक्षण पेसालाई व्यवस्थित बनाउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २९ फागुन २०७९ १६:४५
216
SHARES
शिक्षण पेसालाई व्यवस्थित बनाउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षण पेसालाई मर्यादित बनाउन सरकारले पहल गरिरहेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटाैँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्र र शिक्षण पेसालाई व्यवस्थित बनाउन पहल भइरहेको बताएका हुन्।

शिक्षण पेसालाई व्यवस्थित बनाउने धेरै काम बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐनलाई छिट्टै संसद्मा पेस गर्ने तयारी रहेको बताए। ‘शिक्षण पेसालाई व्यवस्थित बनाउन शिक्षा ऐन आवश्यक पर्छ। शिक्षा ऐन संघीय संसदमा पेस गर्ने तयारीमा छौँ,’ उनले भने।

समाजवादको आधार तयार पार्नका लागि शिक्षक मोर्चाको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए। मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउन शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले गाउँ-गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतनाका लागि शिक्षकले खेलेको भूमिका प्रशंसा गरे।

नेपालको उच्च राजनीतिक पदमा धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको उनले बताए। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरू गिरिराजमणि पोखरेल, नारायण दाहाललगायतले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि खारेज गराउन लागिपरेका शक्तिलाई तह लगाउन शिक्षक संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित: २९ फागुन २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =