चीनका नयाँ प्रधानमन्त्री लीले पहिलो पत्रकार सम्मेलनमा के भने?

राष्ट्रपति सीको प्रतिबद्धता : जनतालाई निराश बनाउँदैनौँ

अजय अलौकिक २९ फागुन २०७९ १६:११
36
SHARES
चीनका नयाँ प्रधानमन्त्री लीले पहिलो पत्रकार सम्मेलनमा के भने? चीनका नयाँ प्रधानमन्त्री ली छ्याङ

बेइजिङ-  चीनका नवनियुक्त प्रधानमन्त्री ली छ्याङले चिनियाँ शैलीको आधुनिकीकरण अघि बढाउने, चीनको दोस्रो शताब्दी लक्ष्य साकार तुल्याउने र निरन्तर सुधार तथा खुलापनलाई अपनाउने बताएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलोपटक पत्रकार सम्मेलनमार्फत  उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री लीले चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कुल मात्राको निर्धारित वृद्धि दर पाँच प्रतिशत पुर्‍याउन विविध कदम चाल्नुपर्ने बताए। चीनको १४ औँ राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशन सोमबार सम्पन्न भएपछि प्रधानमन्त्री ली पत्रकारसामु उपस्थित भएका हुन्।

उनले भने, ‘चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कुल मात्राको निर्धारित वृद्धिदर पाँच प्रतिशत पुर्‍याउन विविध कदम चाल्नुपर्नेछ। निर्धारित वृद्धि दर पाँच प्रतिशत पुग्न सजिलो छैन, धेरै प्रयास गर्नुपर्नेछ।’

प्रधानमन्त्री लीले निजी पुँजीद्वारा सञ्चालित अर्थतन्त्रको विकासका विषयमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नीति सधैँ स्पष्ट रहेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ, २० औँ महाधिवेशन तथा गत वर्षको डिसेम्बरमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनले सो कुरालाई जोड दिएको औँल्याए।

उनले चीनमा श्रम जनसंख्या लगभग ९० करोड हुनुका साथै हरेक वर्ष १ करोड ५० लाख नयाँ श्रमशक्ति वृद्धि हुने भएकाले जनशक्ति चीनको एउटा विशाल श्रेष्ठता रहेको बताए। प्रधानमन्त्री लीले चीनमा उच्चस्तरीय शिक्षा लिने जनसंख्या २४ करोड अधिक भएको भन्दै हरेक वर्ष १४ वर्षसम्मको औसत शिक्षा लिएको नयाँ जनशक्ति आउने भएकाले चीनमा जनशक्तिको श्रेष्ठता लोप नभएको पनि उल्लेख गरे।

उनले विगत ८ वर्षदेखि चीनको अन्नबालीको उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी रहेको जानकारी दिँदै अन्नबाली उत्पादन बढाउन चीनले थप नीति तर्जुमा गर्ने पनि व्यक्त गरे।

चीनले एक मात्र चीनको आधारमा दुई किनाराबीचको आर्थिक तथा सांस्कृतिक आदानप्रदान र सहयोगलाई निरन्तर रूपमा अघि बढाएर अरू बढी थाइवानबासी र थाइवान व्यवसायीलाई चीनको मुख्य भूमिमा भित्र्याउने पनि उनले बताए।

मातृभूमिको साथ, सहयोग र समर्थन रहनुका साथै ‘एक मुलुक दुई व्यवस्था’ को प्रत्याभूतिमा हङकङ र मकाउको भूमिका र स्थान अझै बलियो हुने साथै भविष्य अझै सुन्दर हुने पनि व्यक्त गरे।

समापन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै जनताको विश्वास आफू अगाडि जाने सबैभन्दा ठूलो यन्त्र तथा काँधमा बोकिएको जिम्मेवारी भएको बताएका थिए। उनले आफूले कानुन पालना गरी मुलुक र जनतालाई सेवा गर्ने तथा चीनका विभिन्न जातिका जनताको विश्वासलाई निराश नगर्ने बताए।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुन: उत्थान गर्ने रिले बटन आजको पुस्तामा पुर्‍याइएको पनि जानकारी दिए।

उनले चीनलाई बलियो बनाउने, चिनियाँ जातिको पुनःउत्थान गर्ने नयाँ यात्रामा चीनले दृढताका साथ गुणस्तरीय विकासलाई अघि बढाउने तथा जनतालाई प्राथमिकतामा सदा कायम राख्ने र विकास तथा सुरक्षाको सामञ्जस्य गर्ने, ‘एक मुलुक दुई व्यवस्था’ को अभ्यास र मातृभूमिको पुनःएकीकरण कार्यलाई अघि बढाउने र मानव जातिको भाग्य एकरूपताको स्थापना गर्नेमा प्रयास गर्ने पनि औँल्याए।

चीनको विकासबाट विश्व लाभान्वित भएको र चीनको विकास विश्वसँग सम्बन्धित भएका कारण वास्तविक रूपमा उच्चस्तरीय वैदेशिक खुलापन अपनाउने पनि उल्लेख गरे। ‘चीनले विश्वव्यापी बजार तथा स्रोतको प्रयोग गरी आफ्नो विकास गर्नुका साथै विश्वको संयुक्त विकासलाई समेत बढाउनेछ’, राष्ट्रपति सीले भने।

बलियो देश निर्माणका लागि चिनियाँ कम्युनिस्ट पार्टीको वास्तविक निर्माण गर्नुपर्ने तथा हरसमय चिनियाँ कम्युनिस्ट पार्टीको सकारात्मक रूपमा गम्भीर व्यवस्थापन गर्नुपर्ने र दृढ रूपमा भ्रष्टाचारको विरोध गर्नुपर्ने बताए।

राष्ट्रपति सीले राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फी रूपमा अघि बढाउनुपर्ने भन्दै जनमुक्ति सेनालाई राष्ट्रको सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको प्रभावकारी रूपमा संरक्षण गर्ने ‘ग्रेटवाल’ का रूपमा निर्माण गर्न जोड दिए।

चीनका नयाँ प्रधानमन्त्री ली कियाङ : राजनीतिक उदय, चुनौती र अपेक्षा

प्रकाशित: २९ फागुन २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =