चीनका नयाँ प्रधानमन्त्री ली कियाङ : राजनीतिक उदय, चुनौती र अपेक्षा

हिमाल प्रेस २७ फागुन २०७९ १२:०२
60
SHARES
चीनका नयाँ प्रधानमन्त्री ली कियाङ : राजनीतिक उदय, चुनौती र अपेक्षा चिनियाँ राष्ट्रपति सी चिनफिङ नवनिर्वाचित प्रधानमन्त्री ली कियाङ (बायाँ)सँग हात मिलाउँदै।

काठमाडौँ- ली कियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। शनिबार बिहान चिनियाँ संसद्मा उनको पक्षमा २९ सय ३६ मत खस्यो। विपक्षमा चाहिँ तीन मात्र। अनि आठ जना तटस्थ बसे।

चिनियाँ कम्युनिस्ट पार्टीभित्र दोस्रोे वरीयताका नेता ली कुनै समय सांघाई सहरमा पार्टी प्रमुख थिए। गत अक्टोबरमा उनलाई महासचिव सी चिनफिङले एकैपटक पार्टीको सर्वोच्च समिति राज्य परिषद्मा ल्याए। यसको मुख्य कारण थियो, दुईबीचको निकटता। अनि आफू निकटलाई मात्र मुख्य जिम्मेवारी दिने सीको इच्छा।

चीनमा प्रधानमन्त्रीको जिम्मामा मन्त्रीपरिषद् त हुन्छ नै, देशको अर्थतन्त्र हाक्ने अभिभारा पनि हुन्छ। सबैभन्दा ठूलो सहरको नेतृत्व गरेर आएका लीको काँधमा अब विश्वको दोस्रो ठूलो अर्थतन्त्र छ।

लीलाई चीनमा ‘प्रो-बिजनेस’ मानिन्छ। यसको एउटा कारण हाे, उनकै जोडबलमा टेस्लाले सांघाईमा प्लान्ट स्थापना गर्नु। अमेरिकाको विद्युतीय गाडी उत्पादकले त्यसअघि देशबाहिर प्लान्ट स्थापना गरेको थिएन।

सन् २०१८ मा इलोन मस्कको टेस्लाले सांघाईमा पाइला राखेपछि लगानीकर्तामाझ लीको विश्वसनीयता ह्वात्तै बढेको थियो। सांघाईमा त्यो दिन गाडी उत्पादन गर्ने प्लान्टको उद्घाटन गर्दैगर्दा मस्कले सायदै सोचेका थिए, ली कुनैदिन शक्तिशाली सीको ‘सेकेन्ड म्यान’ बन्छन् भनेर।

लगानीकर्तामाझ स्थापित लीको विश्वसनीयता अब भने परीक्षाबाट गुज्रिनेछ। ली र उनको टिमसामु चीनको आर्थिक वृद्धिदरलाई पुरानै लयमा फर्काउने चुनौती छ। चीन जानकारहरू के भन्छन् भने, लीकै नेतृत्वमा चिनियाँ अर्थ व्यवस्थामा फेरबदल आउनेछ। चीनमा शक्तिशाली मानिने वित्तीय नियामकमा पनि लीले परिवर्तन ल्याउने अनुमान छ।

यी उल्लेखित जिम्मेवारीभन्दा चर्को जिम्मेवारी लीको काँधमा छ, त्यो हाे आफ्ना ‘बोस’ सीको व्यवस्थापन। सीले गर्ने गल्तीमाथि प्रश्न उठाउनु छ, त्यो पनि विद्यमान सम्बन्ध नबिगारी। आलोचकहरू के भन्छन् भने, पछिल्ला केही वर्ष सीले केही अस्थिर निर्णय गरेका छन्। कोभिड–१९ महामारी नियन्त्रण गर्न ल्याएको नियमदेखि इन्टरनेट कम्पनीहरुमाथिको नियमनले लगानीकर्ताहरूलाई झस्काएको छ। विश्वासको वातावरण सिर्जना गर्ने काम अब लीको हो।

‘ली यस्तोबेला जिम्मेवारी सम्हाल्न आइपुगेका छन् जतिबेला चिनियाँ अर्थतन्त्र आधीको सामना गरिरहेको छ। रियलस्टेट समस्यामा छ। कतिपय क्षेत्रमा अमेरिकी आर्थिक प्रतिबन्ध छ। देशमा प्रौढ जनसंख्या बढ्दो छ। अनि देशभित्र अर्थतन्त्रलाई लिएर पहिले जस्तो उत्साह छैन,’ चीनमा सक्रिय ईयू चेम्बर अफ कमर्सका प्रमुख योर्ग उट्के भन्छन्, ‘लीले आफ्ना लागि बाटो आफैँ बनाउनु पर्नेछ। फल टिप्न रुख नै चढ्नु पर्ने स्थिति छ। तल तल रहेका फल त उनका पूर्ववर्तीले खाइसके।’

राष्ट्रपति सीसँग सबैभन्दा नजिक रहेका नेता राज्य परिषद्मा छन्। राष्ट्रपति सीसहित कुल सात जना रहने यो परिषद्का धेरैजसो सदस्यको उदय नाटकीय रुपमा भएको छ। भन्नेहरु भन्छन्, सीको कृपाले नै ती सबै त्यो उचाइमा पुगेका हुन्। सी र ली कुनैबेला एकै प्रान्तमा पार्टीको जिम्मेवारीमा थिए। सन् २००० को दशकमा सी झेजियाङको गर्भनर हुँदा कृषि इन्जिनियर ली उनको सचिवालयमा थिए। संयोगवश झेजियाङ लीको गृहप्रान्त हो।

सी सन् २०१२ मा पहिलो पटक राष्ट्रपति बने, अनि ली चाहिँ झेजियाङको गर्भनर बनाइए। लीको राजनीतिक करियर तीव्र गतिमा दौडियो। जियाङ्शु प्रान्तमा पार्टी प्रमुख बने। अनि सन् २०१७ मा सांघाईको पार्टी प्रमुख।

चीनका चार सहर (सांघाई, बेइजिङ, चोङकिङ र तियानजिन) केन्द्रकै मातहत रहन्छन्। यसकारण यी सहरको हैसियत प्रान्तसरह हुनेगर्छ। यसकारण लीको सांघाईतिरको सरुवा उनको राजनीतिक करियरमा महत्त्वपूर्ण साबित भयो।

सांघाईमा पार्टी प्रमुख रहुन्जेल उनी सहरका ठूला व्यापारी र लगानीकर्तासँग देखिइरहे। ज्याक मासँगको उनको तस्बिर सार्वजनिक भइरहन्थे। अलीबाबा समूहका संस्थापक ज्याक र समूहको ‘टेक्नोलजिकल कमिटी’ का अध्यक्ष वाङ जियानलाई ली मित्र मान्थे। ‘ज्याक मा र वाङ जियाङ मलाई मनपर्ने व्यक्तिहरूमध्येका हुन्। उनीहरूसँग बात मार्न मज्जा लाग्छ,’ झेजियाङको गर्भनर छँदै लीले लेखेका थिए।

‘लीले चीनका सबैभन्दा विकसित क्षेत्रहरूको नेतृत्व गरेका छन्। ती यस्ता क्षेत्र हुन्, जहाँ चिनियाँ सरकारी संस्थान, निजी क्षेत्र र विदेशी लगानीमा स्थापित कम्पनीहरू उत्तिकै सक्रिय छन्। गहिरो अनुभव बटुलेका ली अब अद्वितिय पदमा पुगेका छन्,’ सांघाईमा अमेरिकन चेम्बर अफ कमर्सका प्रमुख रहेका एरिक झेङ भन्छन्।

टेस्लालाई सांघाईमा भित्र्याउनुबाहेक लीले हासिल गरेको अर्को सफलता हो, नयाँ ‘स्टक मार्केट’ को स्थापना। लीको सुकिलो परिचय गत वर्ष भने ओझेलमा प¥यो। उनले सांघाईमा लगाएको लकडाउनको सहरभर विरोध भयो। लकडाउनका कारण स्थानीयले सहजरुपमा खाद्य सामग्री नपाएको गुनसो गरिरहे। सांघाई सहरका स्थानीय नागरिक आलोचना उत्रिए पनि ली लत्रिएनन्। बरु कोभिडविरुद्धको लडाइ लकडाउनले जिताएको भनिरहे।

‘सांघाई लकडाउनको सन्देश हो, ली कठिन कदम चाल्नबाट पछि हट्दैनन्। भविष्यमा लीले सीको निर्देशन अनुसार जोखिमयुक्त निर्णय लिनेछन्,’ चीन मामिला जानकार निल थोमसको भनाइ छ।

संयोग मान्नुपर्छ, जब ली सांघाई बन्द गरिरहेको थिए, उनका पूर्ववर्ती ली खछ्याङ भने कोभिडका का कारण चीनको अर्थतन्त्र बिग्रिरहेकोमा चिन्ता व्यक्त गरिरहेका थिए, देशभरका हजारौँ सरकारी अधिकारीबाट अपडेट लिइरहेका थिए। अर्थशास्त्री समेत रहेका ली खछ्याङ सीले ल्याएको कोभिडविरुद्धको रणनीतिको विपक्षमा थिए। अर्थतन्त्रलाई असर नपर्नेगरी कोभिड नियन्त्रणका लागि कदम चाल्नु पर्ने उनको जोड थियो।

प्रधानमन्त्री कार्यकालको उत्तराद्र्धतिर सीका निर्णयमाथि प्रश्न उठाए पनि त्यसअघिका वर्षहरूमा ली खछ्याङ चुपचाप रहे। फरक गुटबाट उदाएका कारण पनि ली खछ्याङसँग सी सधैँ सशंकित रहेको कतिपयको भनाइ छ।

अबका प्रधानमन्त्री लीले भने सीसँग सामीप्यमा रहेर काम गर्ने विश्वास छ। राष्ट्रपति सीसँग लीको सिधा पहुँच रहेको बताइन्छ, जुन ली खछ्याङसँग थिएन। उसो त नयाँ प्रधानमन्त्री कतिपय आर्थिक मामिलाबारे पूर्ववर्तीसँग मिल्दोजुल्दो धारणा राख्छन्। आन्तरिक ऋणलाई नियन्त्रण गर्नुपर्नेमा ली प्रस्ट छन्।

‘राष्ट्रपति सीका कारण चीन पछिल्लो पाँच वर्षमा राजनीतिक रुपमा बलियो बनेको लीको बुझाइ छ। तर देशमा लागू गरिनुपर्ने नीतिका विषयमा भने ली कियाङ ली खछ्याङसँग नजिक छन्,’ बो झियुए इन्स्टिच्युटका संस्थापक बो झियुए भन्छन्।

नवनिर्वाचित प्रधानमन्त्री लीको आर्थिक नीति सोमबार सार्वजनिक हुनेछ। प्रधानमन्त्रीका रुपमा उनले गर्ने पहिलो सम्बोधनले नीति निर्माता र लगानीकर्तामाझ उत्साह ल्याउने अपेक्षा छ। कोभिडले असर पारेको चिनियाँ अर्थतन्त्रमा सुधार ल्याउन ‘अर्गानिक स्रोत’ को प्रयोग हुनेगरी नीति ल्याइनसक्ने बताउँछन्, एसियाली अर्थतन्त्रका जानकार अर्थशास्त्री लुई कुजिस।

दिर्घकालिन रुपमा ली कत्तिको सफल प्रधानमन्त्रीका रुपमा दरिलान्? यो प्रश्न उठिरहेको छ। चिनियाँ अर्थतन्त्रलाई पूर्णरुपमा सुधार्न सक्छन् कि सक्दैनन् भन्ने कौतूहल छ। यसअघिका प्रधानमन्त्रीहरूले चिनियाँ अर्थ व्यवस्थामा ठूलो फेरबदल ल्याएका थिए। हु जिन्ताओ राष्ट्रपति हुँदा प्रधानमन्त्री बनेका बेन जिआबाओ, जियाङ जेमिनको पालामा प्रधानमन्त्री रहेका झु रोङ्जीको उदाहरण अहिले पनि दिइन्छ।

ती प्रधानमन्त्री केन्द्रको राजनीतिमा अनुभवी थिए। लीले त बेइजिङमा पर्याप्त मित्र बनाउनै बाँकी छ। फेरि त्यहीमाथि सीको लीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन्छन् कि दिँदैनन्, टुंगो छैन।

‘अहिल्यै केही अनुमान लगाउन सकिँदैन। सी आफैँमा अप्रत्याशित नेता हुन्, कुनबेला के निर्णय लिन्छन् अरुलाई पत्तो हुँदैन। अब त उनको विपक्षमा कोही छैन। यस्तोमा सीका हरेक नीति लीको काँधमा पुग्नेछन्। सीले राम्रो वा नराम्रो जे नीति ल्याए पनि लीले कार्यन्वयन गर्नैपर्नेछ,’ वासिङटनस्थित थिंकट्यांक एसिया सोसाइटीमा चीनबारे अध्ययन गर्ने थोमस भन्छन्।

फाइनान्सियल टाइम्सको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =