रास्वपाले राष्ट्रपतिमा कसलाई छान्ला त?

हिमाल प्रेस २५ फागुन २०७९ ७:३८
2
SHARE
रास्वपाले राष्ट्रपतिमा कसलाई छान्ला त? फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा कसलाई मत हाल्ने भन्ने बारे संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै अनिर्णित छ। पटकपटकका बैठकमा पनि रास्वपाले कसलाई चुन्ने निर्णय गर्न सकेको छैन। त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन्। केही समयअघि मात्रै सरकारबाट बाहिरिएको रास्वपाले राष्ट्रपति निर्वाचनलाई त्यति महत्व दिएन। रास्वपाले दुवै उम्मेदवारको मन राख्ने प्रयत्न गरेको छ।

सरकारबाट बाहिरिएको भए पनि पुन: सरकारमा जान सक्ने भएकाले सत्ता गठबन्धनसँगको सम्बन्ध पनि रास्वपाले बिगार्न चाहेन। यता विपक्षी एमाले प्रति पनि रास्वपा लचक देखियो।

चितवन २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहयोग पाउने हिसावले रास्वपाले एमालेसँगको सम्बन्ध पनि बिगार्न चाहेन। आज के निर्णय गर्छ त्यो हेर्न बाँकी नै छ। सत्ता गठबन्धनबाट सरकारका लागि प्रस्ताव आए रास्वपाले सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गर्न सक्छ। नभए उपनिर्वाचनलाई हेरेर विपक्षीलाई मतदान गर्न सक्ने पनि सम्भावना छ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति पदको निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङ उम्मेदवार छन् । नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।

नेम्बाङको पक्षमा भने हालसम्म उनको पार्टी नेकपा एमालेमात्र छ । राप्रपाले तटस्थ बस्ने निर्णय बुधबारै गरिसकेको छ।

प्रकाशित: २५ फागुन २०७९ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =