आफ्नै लागि ‘गलपासो’ बनेको प्रचण्डको त्यो बोली [भिडियोसहित]

हिमाल प्रेस २३ फागुन २०७९ १५:२७
36
SHARES
आफ्नै लागि ‘गलपासो’ बनेको प्रचण्डको त्यो बोली [भिडियोसहित]

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रचण्डले विगतमा दिएको अभिव्यक्तिलाई आधार मानेर रिट दायर गरिएको हो।

मुद्दा दर्ता हुने गरी प्रचण्डले के भनेका थिए त? यसबारे धेरैलाई चासो छ। ०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित माघीको कार्यक्रमलाई सम्बोधन गर्दा प्रचण्डले दिएको अभिव्यक्ति  त्यति बेलै विवादमा आएको थियो। जुन विषय अहिले सर्वाेच्च अदालतसम्म पुगेको छ। त्यो पनि बहालवाला प्रधानमन्त्रीकै विरुद्धमा।

त्यसबेला उनले द्वन्द्वकालमा ज्यान गुमाएका १७ हजार नेपालीमध्ये जिम्मा लिनै परे पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। त्यस्तै उनले राज्यले १२ हजारको जिम्मा लिनुपर्ने भनाइ राखेका थिए।

‘यहाँ केहीले मलाई ताकेर धेरै कुरा राख्नुभएको छ। मैले सबै कुराको एक एक गरेर जवाफ दिन सायद सम्भव छैन। तर म केही भन्न चाहन्छु,’ उनले भनेका थिए, ‘पहिला त मलाई धेरै साथीहरूले बाहिर भन्नुहुन्छ त्यसको तथ्यांक सच्याउन चाहन्छु। त्यो के भने मलाई १७ हजार मारेर आएको भन्ने गरिन्छ। साथीहरू यो सत्य होइन। यो सत्य होइन, सत्य के हो भन्न दिनुस्। हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु।’

प्रचण्डले त्यसबेला राज्यले १२ हजार मारेको दाबी गरेका थिए। उनले त्यस विषयमा कसैले कुरा नगरेको र आफूलाई मात्रै अनेक आरोप लगाएको भन्दै आपत्ति जनाएका थिए। प्रचण्डले द्वन्द्वका क्रममा भएका राम्रा नराम्रा कामको जिम्मेवारी आफूले लिने बताएका थिए।

‘हिजोको राज्यले मारेका १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। मैले सधैँ भन्ने गरेको छु हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु,’ उनले थप भनेका थिए, ‘म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन।’

त्यसबेला राजनीतिक भाषण गर्न आएको हैन भन्नै धेरै राजनीतिक भाषण पनि गरे। ‘म राजनीतिक भाषण गर्न आएको पनि छैन। तपाईंका विचार र भावनालाई बुझ्ने उद्देश्यले आएको।’

उनले त्यसबेला पनि रेशम चौधरीसहितका केहीको मुद्दा बाँकी नै रहेको र जेलबाट निकालेरै छोड्ने अभिव्यक्ति दिएका थिए। तर चौधरी अहिले पनि डिल्लीबजार जेलमै छन्। प्रचण्डका यिनै अभिव्यक्तिलाई लिएर लामो समयदेखि आफ्ना परिवार सदस्यको हत्याविरुद्ध लडिरहेका द्वन्द्वपीडितहरूले रिट दायर गरेका हुन्। उनीहरूले प्रचण्डलाई तत्कालै पक्राउ गर्न पनि माग गरेका छन्।

सुरुमा उनीविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता नै नगरी दरपीठ गरिदिएको थियो। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले भने मुद्दा दायर गर्न आदेश दिएको थियो।

उक्त आदेशसँगै  मंगलबार मुद्दा दर्ता भएको छ। रिटको सुरुवाइका लागि बिहीबारको लागि पेसी तोकिएको छ।

माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दायर गरेको विषयमा नेकपा माओवादीले आपत्ति जनाइसकेको छ। यस्तै ‘जनयुद्ध’ का बेला माओवादीको शीर्ष नेतृत्वमा रहेका डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा हाल्न पाइन्? भनी सार्वजनिक अभिव्यक्ति दिएका छन्। अदालतमा मुद्दा दर्ता प्रक्रियासँगै सत्ता गठबन्धनमा रहेका दलहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडो टुंगोमा लैजाने निर्णय गरेका छन्।

भिडियो

प्रकाशित: २३ फागुन २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =