बसाइँसँगै सर्‍यो होली

हिमाल प्रेस २२ फागुन २०७९ २०:४५
6
SHARES
बसाइँसँगै सर्‍यो होली कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा मनाइएको होली। तस्बिर : हेमराज अवस्थी

कञ्चनपुर- होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइन्छ। कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ आएकाहरूले पनि भिन्न भिन्न तरिकारले होली मनाउँछन्।

पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँसरी आउनेले पनि आआफ्नै किसिमले होली मनाउँछन्। यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउँछन्।

डडेल्धुराको रुपाली होली भिन्न छ। त्यसैगरी दार्चुला र बैतडीबाट बसाइँसरी आएकाले होली भिन्न तरिकाले मनाउँछन्। हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न–भिन्न तरिकाले मनाइन्छ।

अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले बताए। ‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ,’ उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँसरी जो जहाँ छाँै त्यहीँ होली मनाउने गरेका छौँ ।’

त्यसैगरी डडेल्धुराको रुपालबाट बसाइँसरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकाले होली मनाउँछन्। ‘रुपालवासीको होली गाउने तथा खेल्ने तरिका अन्य समुदायकोभन्दा भिन्न छ,’ स्थानीय केशव जोराले भने, ‘अहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ।’

दार्चुला र बैतडीबाट कञ्चनपुर बसाइँसरी आएकाको पनि भिन्न होली छ। पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको गणेश धामीले बताए। ‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ,’ उनले भने, ‘हाम्रो होलीमा रङ दल्ने मात्रै नभई लोककथा र लोकबाजाका साथ नाच प्रदर्शन पनि गर्छौँ।’ रासस

प्रकाशित: २२ फागुन २०७९ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =