पोखराको पर्यटनलाई होलीले दियो शुभ संकेतको रंग [तस्बिरहरूसहित]

विजय नेपाल २२ फागुन २०७९ २०:१८
12
SHARES
पोखराको पर्यटनलाई होलीले दियो शुभ संकेतको रंग [तस्बिरहरूसहित]

पोखरा– रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले विगतको कोरोना कहर बिर्साउने गरी सोमबार पोखरामा होली महोत्सव-२०७९ आयोजना गर्‍यो।

नेपालीहरूको पर्व फागुपूर्णिमा अर्थात् होली अवसरमा विदेशी पर्यटकले पनि आपसमा रंग दलेर यो पर्व मनाउँदै नौलो अनुभूति गरे।

पोखराको मुख्य पर्यटकीयस्थल लेकसाइडमा जम्मा भएका विदेशी पर्यटकहरूले पञ्चेबाजाको तालमा नाचगान गर्दै आपसमा रंग दलेर मनाउँदा जीवनमा फरकखालको महसुस भएको प्रतिक्रिया दिए।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले पोखरा घुम्न अब सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यका साथ होली महोत्सवलाई निरन्तरता दिएको हो। होली कार्यक्रम संयोजक वीरेन्द्र शेरचनले सबै हिसाबले सुरक्षित छ भन्ने सन्देश पनि आयोजित होली महोत्सव सफल भएको बताए।

महोत्सवमा नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकहरू निकै रमाएका देखिए। पहिलो पटक होलीमा सहभागी भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए। उनीहरूको अनुहार रंगले रंगीचंगी बन्दा आपसमा चिन्नसमेत मुस्किल भएको थियो।

उनीहरू बालबच्चाहरूसँग औधी खुसी भएर रंग हान्ने र अबिर खेल्नमा व्यस्त देखिए।

फेवाताल किनार अम्बोटमा भेला भएर पर्यटकहरू पञ्चेबाजा, संगीतको तालमा होली खेल्दै खहरेचोकसम्म पुगेका थिए। उनीहरूले गौरीघाट, वाराहीचोक, हल्लनचोक परिक्रमा गरेका हुन्।

महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले बताए।

उनले कोरोनाबाट सुस्ताएको पर्यटन अब चलायमान बन्ने शुभसंकेत देखा परेको बताए। सहभागीलाई मनोरञ्जन दिन लेकसाइडको विभिन्न ठाउँमा कन्सर्टसमेत आयोजना गरिएको थियो। महोत्सव पर्यटनसम्बद्ध विभिन्न संघसंस्था, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय क्लब, आमा समूहको सहभागिता थियो।

लेकसाइडका अलावा पोखराका सहरभर दिनभरजसो मोटरसाइकल तथा स्कुटरमा होलीको रौनकमा युवायुवती हुइँकिएको देखिन्थ्यो। अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो।

नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतजसो पोखरा आउने गर्दछन्। पोखरा पर्यटन परिषद्का अनुसार पोखरामा पर्यटकीय क्षेत्रमा ५ खर्ब बढीको लगानी छ। तर कोरोना कहरसँगै थलिएको यहाँको पर्यटन हवाई दुर्घटना तथा पोखरा जोड्ने राजमार्गहरू स्तरोन्नतिमा पटक पटक सवारी आवागमन रोकिँदा निकै प्रभावित हुने गरेको छ।

प्रकाशित: २२ फागुन २०७९ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =