पुस्तक चर्चा

पाका मान्छेका घतलाग्दा कुरा

ध्रुवहरि अधिकारी २० फागुन २०७९ ७:३०
280
SHARES
पाका मान्छेका घतलाग्दा कुरा

विद्यावारिधि उपाधिप्राप्त एवं प्राध्यापनमा संलग्न विद्वान् मुकेशकुमार चालिसेलाई ‘नेपालको वन्यजन्तु’ (भाग १-४) पुस्तकका लेखकको रूपमा चिन्नेहरूको एकप्रकारको मूल्याङ्‌कन होला। उहाँलाई त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागसँग जोडेर आदर गर्नेहरूमा डा.चालिसेबारे भिन्दै छाप परेको होला। मेरो चिनारी हुँदा सम्भवतः उहाँ वन्यजन्तु (विशेष गरेर बाँदर)को अध्ययनमा एकाग्र हुनुहुन्थ्यो। पछि केही वर्ष सम्पर्कबाहिर भइएछ।

यसपालि मंसिर फेरि भेटघाट भयो–एक साहित्यिक प्रकृतिको भेलामा। केही पुस्तकहरू कोसेली पाएँ। तिनै मूल्यवान् कृतिमध्येको एक हो ‘पाका मान्छेका कुरा’। भुँडीपुराण प्रकाशनले २०७९ सालमा छापेको यो कृति आत्मपरक निबन्धहरूको सँगालो हो जुन १६ वटा घतलाग्दा शीर्षकमा विभक्त छन्। प्रकाशकको नाम पढ्दाखेरि नै यसभित्रका रचना रोचक भाषा-शैलीमा लेखिएको अनुमान गर्न सकिन्छ।’चट्याङ्‌गमास्टर’ को संगत र सम्मतिले लेखकलाई थप रसिलो बनाएको छ।

सबै १६ निबन्ध ‘ज्येष्ठनागरिक मनोविज्ञान’ का अभिव्यक्ति हुन्। यीमध्येका ६ थान त ‘हामीलाई फुर्सद छैन, के गर्नु?’ उपशीर्षकमा छन्। ‘जे छ लप्सीकै बोटमा छ’ भन्ने उखान चरितार्थ यिनैले गरेका छन् यद्यपि यिनैलाई सबैथोक मान्न भने मिल्दैन। पेटका कीरा मार्ने र औसत मान्छेलाई द्रवित तुल्याउने सामग्री यत्रतत्र छरिएका छन्। अवकाशको जीवन जिउने बाध्यताको चर्चा भएको यो शीर्षक उदाहरण हुन सक्छः- ‘बृद्धभत्ता–पहेंला अक्षता कि पीण्ड हो ?’

परिपक्व विचार

सक्रिय जीवनबाट अवकाश दिने नेपालको सरकारी विधि-पद्धतिप्रति आलोचना गर्दा पनि लेखक सरल एवं शालीन हुनुहुन्छ। लेख्नुहुन्छः ‘शारीरिक जोड-बल-जोश चाहिने किसिमको काम गर्नेलाई स्वास्थ्यस्थिति जाँचेर कम सक्षम भए अवकाश दिनु ठीकै होला तर मगज खेलाउने ठाउँमा समेत उमेर हद किन होला?’ गाँसिएर आउने तर्क झन् चित्तबुझ्दो भावका साथ यसरी प्रस्तुत भएको छः- ’ झन् पाको उमेर भएपछि बुद्धि पनि पाको हुँदै जाने न हो अनुभवको आरनमा पाइन चढेर।

धेरै भोटो फटाएको मूल्य केही हुन्न र भन्या?’ पाका मान्छे एकातिर आफ्नो कमाइमा स्वाभिमानी पनि हुन पाउने अर्कोतिर तिनको ज्ञान र सीप पनि पुस्तान्तरणको प्रक्रियामा सँगसँगै जाने। तर्क बलियो छ।

माथि नै सङ्‌केत गरिसकियो उमेर-हदको कुरो। निजामती प्रशासनमा ५८ वर्ष, अन्यत्र कतै ६०, कतै ६३ त कतै ६५ वर्ष। भद्रगोल भयो, मनपरी गरियो। गरिंदै छ। जस्तो, २०४७ सालको राजनीतिक परिवर्तनपछिको निर्वाचित सरकारले निजामती सेवामा ६० वर्षलाई ५८ वर्षमा झार्‍यो।

मानिसको औसत आयु ५५ वर्षबाट बढेर अहिले ७१ वर्ष भैसकेको यथार्थलाई ध्यानमा राखी त्यसै अनुपातमा क्रियाशील जीवनयापनको नागरिक हकलाई प्रचलन गराउन उमेरको हद बढाउँदै पो जानुपर्ने हो। तर राज्यका निकाय र केन्द्रीय संयन्त्र यसबारे बेखबरझैं लाग्छ।

उदेकलाग्ने विषय। सरकारी पद्धतिलाई मानक मान्ने निजीक्षेत्र र सहकारीक्षेत्रले यही ढाँचा अँगाल्नु सुसंगत ठान्ने नै भए। त्यहीँ छिमेकको लोकतान्त्रिक गणतन्त्र भारतमा अवकाशको उमेर ६० वर्ष छ। युरोप,अमेरिकातर्फका धेरै देशमा मानिस ९५-१०० वर्ष बाँच्न थालेका छन्। तिनलाई ६० वर्षमा अवकाश दिंदा के हालत होला ? त्यसैले उतातिर उमेरको हद ६० बाट मास्तिर लग्दै छन्।

सक्रिय जीवनबाट अवकाश दिने नेपालको सरकारी विधि-पद्धतिप्रति आलोचना गर्दा पनि लेखक सरल एवं शालीन हुनुहुन्छ। लेख्नुहुन्छः ‘शारीरिक जोड-बल-जोश चाहिने किसिमको काम गर्नेलाई स्वास्थ्यस्थिति जाँचेर कम सक्षम भए अवकाश दिनु ठीकै होला तर मगज खेलाउने ठाउँमा समेत उमेर हद किन होला?’

…एक्लो जीवनको आधार

पाका मान्छेले (निष्क्रिय-जीवन बिताउनेले) एक्लोपनमा बाँच्नुपर्ने बाध्यता नेपाली समाजमा टड्कारो हुँदै आएको छ, यस पाटोलाई पनि लेखक चालिसेले मेहनतसाथ खोतल्नु भएको छ।

भित्ता, झ्याल-ढोका,कौसी र आँगन जस्ता वस्तु र अवयवलाई साथी मानेर कालक्षेपण गर्नुपर्ने अवस्थाको चर्चा सविस्तार गरिएको छ। यस्तो एक्लोपनका साथ आउने चुनौतीको सामना उमेरको हद नलाग्ने पेशा/सेवामा रहनेले पनि गर्नुपर्दो रहेछ। सूर्यबहादुर थापाको ‘मेरा नौ दशक’ नामक आत्मकथा पढ्नेले यस्तो प्रसङ्‌ग फेला पार्छ।

थापालाई २०५९ सालमै सक्रिय राजनीतिबाट अलग हुने रहर भएको रहेछ। ७१/७२ भेसकें भनेर राप्रपा पार्टी छोड्नु पनि भएछ। तर लगत्तै उहाँले आफैंसँग प्रश्न गरेको भेटिन्छः “पार्टी त छाडें, अब गर्ने के ?…अवकाशका दिन मलाई वेदनापूर्ण लाग्न थाले।”

त्यसैले घुमिफिरी राजनीतिमा लागेर फेरि प्रधानमन्त्री भई सक्रिय जीवन बिताएँ भन्ने थापाको स्वीकारोक्ति छ। यही २०७९ सालकै यो प्रकाशनमा पनि अनेकानेक घतलाग्ने र मननयोग्य विषयवस्तु रहेछन् । ‘कुरा सुन्नू बूढाको आगो ताप्नू मूढाको’ भन्ने त आहानै छ।

सूर्यबहादुर थापाको ‘मेरा नौ दशक’ नामक आत्मकथा पढ्नेले यस्तो प्रसङ्‌ग फेला पार्छ। थापालाई २०५९ सालमै सक्रिय राजनीतिबाट अलग हुने रहर भएको रहेछ। ७१/७२ भेसकें भनेर राप्रपा पार्टी छोड्नु पनि भएछ।

डा. मुकेश चालिसेको पुस्तक विषयक यस सानो चर्चालाई यत्तिकैमा बिट मार्न लागेको थिएँ, फागुन १६ गतेको गोरखापत्रको पहिलो पृष्ठमा छापिएको एक समाचारले ध्यान आकृष्ट गर्‍यो। कर्मचारीको उमेर हदबारे लेखिएको रहेछः- ‘साठी वर्षमा सहमति, गणनामा विमति’।

शीर्षकमुनिको पेटबोली (बेहोरा) पढ्दा विश्वविद्यालयतर्फ ६३ वर्ष, न्यायपालिकातर्फ ६५ वर्ष, संसद्तर्फ ६० वर्षको अभ्यास गर्ने गरेको कुरो कोट्याइएको छ। यस्तोमा, निजामतीतर्फ मात्र किन ५८ वर्ष मात्र भनेर प्रश्न उठ्नु स्वाभाविक हो। अनि,महिलालाई ४० वर्षको उमेरमा पनि सेवाप्रवेश गर्ने सहुलियत रहेछ, यस्तोमा ५८ वर्षमै अवकाश दिंदा उनको सेवाअवधि त १८ वर्ष मात्र हुन्छ।

निवृत्तिभरण (पेन्सेन)बाट समेत वञ्चित हुनुपर्ने अवस्था आइपर्छ । यस्तो नमिल्दो नीतिलाई सच्याउन वर्षौंदेखि प्रयास भएको हो-नयाँ ऐनको माध्यमबाट। तर अझै पार लागेको रहेनछ। अवकाशको उमेर कम्तीमा ६० वर्ष गर्नैपर्ने सिफारिस उच्चस्तरीय प्रशासनिक सुधार सुझाउ समितिले निकै अघि दिएको सम्झना छ समितिका तत्कालीन अध्यक्ष काशीराज दाहाललाई।

सुझाउका चारवटा मुख्य आधार उहाँलाई आज पनि मुखाग्र छः मानिसको औसत आयु बढेको, राज्यकोषमा निवृत्तिभरणको भार बढ्दै गएको,अनुभवी जनशक्ति बाहिरिने प्रक्रिया तीव्र भएको र सार्कक्षेत्रका अन्य देशहरूको मानकसँग मिल्दोजुल्दो गराउनु उपयुक्त देखिएको।

यता, डा.चालिसे क्रियाशील जीवनकै अर्को चरणमा पुग्नु भएको छ। हालै उहाँले पाका मान्छेका कुराहरूको अर्को सँगालो छपाउनु भएको खबर पाएको छु। नयाँ पुस्तक देख्ने,पढ्ने अवसर पनि आउनै लागेको छ।

प्रकाशित: २० फागुन २०७९ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =