सन्दर्भ : विश्व वन्यजन्तु दिवस

ढोईको गर्भाधानमा जंगली हात्ती

केशव राना क्षेत्री १९ फागुन २०७९ १०:३५
184
SHARES
ढोईको गर्भाधानमा जंगली हात्ती

चितवनको हात्ती प्रजनन केन्द्रमा ढोई गर्भाधानका लागि घरेलु हात्ती होइन, जंगली हात्ती प्रयोग हुन्छन्।

हात्तीको प्रजनन कसरी हुन्छ? जवाफ सजिलो छ भाले हात्ती र पोथी हात्तीबीच हुने संसर्गबाट। तर, पोथी हात्ती अर्थात् ढोई सबै भाले हात्तीबाट भने प्रजनन हुँदैनन्। उनीहरूका लागि जंगली हात्ती प्रयोग गर्ने गरिएको छ।

आखिर पोथी हात्तीलाई किन जंगली भाले हात्ती नै आवश्यक पर्छ त? चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशु प्राविधिक प्रमुख डा. कमलप्रसाद गैरे भन्छन्, ‘प्रायः घरपालुवा हात्तीहरू सक्षम हुँदैनन्, त्यसैले जंगली हात्तीबाट गर्भाधान गराइन्छ।’

उनका अनुसार घरपालुवा भाले हात्तीलाई बाँधेर राखिने भएकाले पनि उनीहरूको प्रजनन क्षमता कमी हुन्छ। लामो समय चितवन निकुञ्जका हात्तीसार प्रमुख रहेका बुधन चौधरी पनि गैरेको भनाइमा सहमत छन्।

‘घरपालुवा हात्ती गस्तीमा जानुपर्छ, फेरि सांग्लाले बाँधेर राखिन्छ,’ उनी भन्छन्, ‘प्रजननमा लगाउँदा घरपालुवा हात्ती कमजोर हुन्छन्।’ जंगली हात्तीजस्तो घरपालुवा हात्ती हृष्टपुष्ट र स्वतन्त्र हुँदैनन्। हात्तीको प्रजनन प्रक्रिया पनि जटिल हुने डा. गैरे बताउँछन्। भन्छन्, ‘हात्तीहरूको प्रजनन प्रक्रिया एग्रेसिभ (आक्रामक) हालको हुन्छ, त्यसैले घरपालुवा हात्ती प्रयोगमा ल्याउँदा जोखिम हुन सक्छ।’

घरपालुवा भाले हात्ती प्रजनन प्रक्रिया भाग लिनै नसक्ने भन्ने होइन। भारतमै पनि घरपालुवा हात्तीको प्रयोग भएको डा. गैरेको भनाइ छ। ‘हाम्रोमा जंगली हात्ती सहजै आउने भएकाले पनि जोखिम मोलेर घरपालुवा हात्तीलाई प्रजनन प्रक्रियामा प्रयोग गर्न सकेनौँ,’ उनले भने।

घरपालुवा हात्ती प्रयोजनमा ल्याउने हो भने त्यसलाई हृष्टपुष्ट गराउनुपर्ने हुन्छ। यसलाई धान्न र स्याहार गर्न गाह्रो पर्ने उनको भनाइ छ। घरपालुवा हात्तीबाट पनि प्रजनन नगराउने प्रयास भने नभएको होइन।

२०३५ सालमा म्यानमारबाट उपहारस्वरूप पाएको वीरेन्द्रप्रसादगजलाई प्रजनन प्रक्रियाका लागि तयार गरिएको थियो। तर, उल्लेख्य सफलता भने मिलेन।

‘सुरूमा वीरेन्द्रप्रसादगज र श्रुतीकलीलाई प्रजनन प्रक्रियामा सहभागी गराइएको थियो, तर सफल भएन,’ उनी भन्छन्। पछि लक्ष्मीकलीमा प्रजननका लागि वीरेन्द्रप्रसादलाई प्रयोग गरियो। त्यसबाट पनि नतिजा शून्य।

रामप्यारीमा भने यो प्रयास सफल भयो। उसबाट दुईवटा छावा जन्मिए। एउटा ‘बहादुरगज’ र अर्को सानैमा मरेको निकुञ्जले जनाएको छ। तर, प्रजनन प्रक्रियामा प्रयोग भएको वीरेन्द्रप्रसाद कमजोर भई बिरामी भयो। बूढो र बिरामी भएपछि सो हात्ती मरेको चौधरी बताउँछन्।

अहिले रोमियो, रोनाल्डो, ध्रुवेलगायतका जंगली हात्तीले ढोईलाई गर्भाधान गराउँदै आएको चितवन निकुञ्जले जनाएको छ। पोथी हात्ती पनि घरपालुवा हात्तीसँग आकर्षित नहुने हात्ती विज्ञ बताउँछन्।

घरपालुवा भाले हात्तीसँग किन आकर्षित हुँदैनन् त पोथी हात्ती ? हात्ती विज्ञ नरेन्द्रमान प्रधान भन्छन्, ‘जंगली हात्तीको तुलनामा घरपालुवा हात्तीले प्रभाव जमाउन सक्दैनन्।’

जो शक्तिशाली हुन्छ, जो प्रभावशाली छ उसैसँग पोथी हात्ती आकर्षित हुने गर्छन्। ‘पहिले पनि दुईतीनवटा घरेलु हात्ती प्रजनन प्रक्रियामा सहभागी गराउने प्रयास नभएको भने होइन,’ उनले भने, ‘सफल भने भएनन्। यसको अर्थ घरेलु हात्ती प्रजनन प्रक्रियामा भाग लिन सक्दैनन् भन्ने चाहिं होइन।’

चितवनको खोरसोरमा हात्ती प्रजनन केन्द्रको शुरूआत २०४४ मा भएको थियो। जतिबेला ६ वटा भाले र १४ वटा पोथी हात्ती थिए। ती २० हात्तीमध्ये १६ वटा भारतबाट ल्याइएको थियो। दुईवटा थाइल्याण्ड र दुईवटा म्यानमारबाट उपहारस्वरूप प्राप्त भएको हात्ती प्रजनन केन्द्रले जनाएको छ।

हात्तीसार पूर्व प्रमुख चौधरीका अनुसार प्रजनन केन्द्र स्थापनाको दुई वर्ष अर्थात् ३ मंसीर २०४६ मा रामप्यारीबाट पहिलो छावा जन्मिएको थियो। उसको नाम चितवनकली राखियो। त्यसको ३ दिनपछि भृकुटीकलीले भाले छावा रामगज (ठूलो)लाई जन्म दिएकी थिइन्।

अहिले निकुञ्जसँग छावासहित ५४ वटा हात्ती छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =