म्यानचेस्टर सिटीमा हालान्डको कीर्तिमान

हिमाल प्रेस १४ फागुन २०७९ १३:०९
14
SHARES
म्यानचेस्टर सिटीमा हालान्डको कीर्तिमान

काठमाडौँ- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति बर्नमाउथलाई ४–१ ले हराउँदा एर्लिङ हालान्डले क्लब कीर्तिमान बनाए। हालान्डले बर्नमाउथको भिटालिटी रंगशालामा २९ औँ मिनेटमा गोल गरेका थिए। जुन यो सिजन उनले लिगमा सिटीको जर्सीमा गरेको २७ औँ गोल थियो।

यसअघि सिटीका लागि एक सिजनमा यत्तिको संख्यामा लिग गोल कसैले गरेको थिएन। सन् २०१४/१५ मा सर्जियो अग्वेरोले २६ गोल गरेका थिए। त्यसले अग्वेरोलाई सिटीको जर्सीमा सर्वाधिक लिग गोल गर्ने खेलाडी बनाएको थियो। उनको कीर्तिमान यो सिजन नर्वेजियन स्ट्राइकरले जम्मा २४ खेलमै भंग गरेका छन्।

शीर्षस्थानको आर्सनलसँगको दूरी दुई अंकमा झारेको सिटीले १५ औँ मिनेटमै अग्रता लिएको थियो। हालान्डको पछािड रहेर खेलेका युलियान अल्भारेजले सिटीको गोलको खाता खोलेका थिए। त्यसपछि हालान्डले अग्रता दोब्बर बनाए। नोभेम्बर यता गोल गर्न नसकेका फिल फोडनले ४५ औँ मिनेटमा सिटीलाई ३–० को स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा बर्नमाउथका दुई खेलाडीले गोल गरे। ५१ औँ मिनेटमा क्रिस मेफामले आत्मघाती गोल गरे भने जेफरसन लेर्माले ८३ औँ मिनेटमा पराजित टिमका लागि सान्त्वना गोल फर्काए।

शनिबार नै आर्सनलले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेपछि सिटीमाथि दबाब सिर्जना भएको थियो। गत शनिबार नटिङहम फरेस्टसँग रोकिएको सिटीलाई यसपल्ट फेरि अंक गुमाउने छुट थिएन।

च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग पनि बराबरी खेलेको सिटी प्रिमियर लिगमा जित लयमा फर्कने लक्ष्यका साथ मैदान उत्रिएको थियो। सिटी यसअघिका १८ खेलमा बर्नमाउथसँग हारेको थिएन। यो सिजन बर्नमाउथविरुद्धको पहिलो खेलमा सिटी ४–० ले विजयी भएको थियो। त्यसबेला जेफरसन लेर्माले आत्मघाती गोल गरेका थिए।

‘हामीले आज आक्रामक खेल्यौँ। अग्रपंक्तिले भनेजस्तो खेलेकै कारण जित अन्तर ठूलो निस्किएको हो। एर्लिङ हाालान्डले पनि गजबको खेल देखाए। उनले टिमलाई निरन्तर सहयोग गरिरहेका छन्,’ जितपछि पेप ग्वार्डिओलाले भने।

पछिल्ला दिनमा हालान्डको आलोचना हुँदै आएको छ। पर्याप्त गोल गरिरहे पनि उनी सिटीका लागि उपयुक्त खेलाडी हुन् कि होइनन् भन्न बहस चलिरहेको छ। यसको मुख्य कारण, हालान्डको खेल शैली हो। आलोचक के भन्छन् भने, सिटीलाई हालान्डभन्दा अझ मेहनती स्ट्राइकर चाहिन्छ।

नटिङहम फरेस्टविरुद्धको खेलमा गोलका निकै मौका गुमाएका हालान्डलाई खेलाउन सिटीले आफ्नो खेल शैली परिवर्तन गरेको र यसले च्याम्पियन टिमलाई फाइदा नगरिरहेको बताइन्छ। तर सिटीका लागि ३२ औँ खेलमा ३३ गोल गरेपछि हालान्डका आलोचक केही समय चुप रहने विश्वास छ।

लिगमा १३ औँ हारपछि बर्नमाउथको समस्या थप गहिरिएको छ। रेलिगेसन क्षेत्रमा रहेको बर्नमाउथको २४ खेलबाट २१ अंक छ। जुन १७ औँ स्थानको लिड्स युनाइटेडभन्दा एक अंक कम हो। गत साता उल्भरह्याम्पटनलाई पराजित गरेको बर्नमाउथले यो सिजन जम्मा पाँच खेल मात्र जितेको छ।

‘बलिया टिमसँग खेल्दा सानो गल्ती गर्दा पनि गोल खाइन्छ। आज त्यही भयो। नतिजा हाम्रो विपक्षमा गए पनि हामीले राम्रो खेल्ने भरपूर कोसिस गरेको हो। केही राम्रा अवसर पनि सिर्जना गर्न सक्यौँ। तर सिटीको तुलनामा हामी निकै तल थियौँ,’ बर्नमाउथका प्रशिक्षक ग्यारी ओनिलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =