रामसहाय अघि सारेर शक्तिमा फर्कने उपेन्द्र लालसा

हिमाल प्रेस १२ फागुन २०७९ ११:३२
14
SHARES
रामसहाय अघि सारेर शक्तिमा फर्कने उपेन्द्र लालसा

काठमाडौँ- पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदमा अघि सारेर जसपा अध्यक्ष उपेन्द्र यादवले शक्तिमा फर्कने लालसा देखाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर संसद् छिर्नकै लागि उनले आफ्ना ‘यस म्यान’ रामसहायलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन्।

पछिल्लो समय दलहरूबीच राष्ट्रपति चुनावका विषयमा जारी छलफलमा यादव भने उपराष्ट्रपतिकै पक्षमा लबिङमा छन्। २०६३ पछि अधिकांश समय सत्ता निर्माणमा ‘किङ मेकर’ बन्दै आएका यादव यसपल्ट संघीय संसद् प्रवेश गर्न नपाएपछि अन्य दलसँग एकता गर्न,  विचार मिल्ने दलसँग मोर्चा बनाउन र संसद् प्रवेश गर्न कसरत गरिरहेका छन्।

यादवले पार्टीको बैठकबाट यो प्रस्ताव पारित गराइसकेका छन्। राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा सहमति जुटेको छैन।  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आफू निकटलाई राष्ट्रपति बनाउने दौडधुपमा छन्। तर उपेन्द्र उपराष्ट्रपतिको लबिङमा छ।

संसदीय दलमा उठ्ने योजनामै नरहेका रामसहाय उपेन्द्रकै जोडबलमा स‌ंसदीय दलको नेता बनेका छन्। उपेन्द्रले रामसहायलाई अघि सार्नुको एउटै कारण हो, चाहेका बेला सजिलै प्रयोग गर्न सकियोस्। अन्य दलसँगको वार्तामा उपराष्ट्रपति पद आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका यादवको योजना छ रामसहायलाई अघि सार्ने।

जसपामा राष्ट्रपति पदका लागि अन्य व्यक्ति नभएर हैन, रामसहायलाई उपराष्ट्रपति बनाएर आफू सांसद बन्ने उपेन्द्रको रणनीति रहेको उनी निकट नेताहरू बताउँछन्। उपराष्ट्रपतिमा रामसहाय विजयी भएमा बारा-२ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। स‌ंसद् छिर्ने रणनीतिका विषयमा पत्रकारले राखेको जिज्ञासामा यादवले भन्ने गरेका छन्, ‘तपाईंहरूले नै संसद्‌मा मेरो अभाव  महसुस गरेपछि प्रयास गर्नु परेन त?’

आफ्नो दललाई उपराष्ट्रपति दिए राष्ट्रपतिमा सघाउने उपेन्द्रको आश्वासन छ। यादवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपराष्ट्रपतिबारे छलफल गरेका छन्। जवाफमा प्रचण्डले समेत उपराष्ट्रपतिका लागि सकारात्मक रहेको संकेत गरेका थिए। यसबारे उपेन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन्। यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि उपराष्ट्रपतिकै विषयमा कुराकानी गरेकाे नेताहरू बताउँछन्।

नेताहरूबाट सकारात्मक संकेत पाएका उपेन्द्र दलहरूको बैठकमा सामेल छन्। उनी कांग्रेससहितको गठबन्धन बन्ने भए पनि उपराष्ट्रपतिमा आफ्नो दाबी रहने बताउँदै बालुवाटार पुगेका हुन्।  उपेन्द्रले बिहीबार सञ्चारकर्मीसँग कुराकानीमा भनेका थिए,‘ उपराष्ट्रपतिमा हाम्रो प्रस्ट दाबी छ।’

‘हाम्रो पार्टीले उपराष्ट्रपति लिने निर्णय गरेको छ। हामीले यही प्रस्ताव अन्य दललाई राखेका हौँ,’ जसपाका प्रवक्ता मनीष सुमन भन्छन्,‘हामीले हाम्रो एजेन्डा राख्ने हो। अन्य दलले के गर्छन्? हेर्दै जाउँला।’ उपराष्ट्रपतिकै लबिङका लागि उनी सत्ता गठबन्धनमा समेत सामेल भएका छन्। उनी मधेश प्रदेश र लुम्बिनी प्रदेशको सरकारमा समेत सामेल भएका छन्।

यादवलाई उपराष्ट्रपतिमा पठाएर उनी सोही ठाउँमा निर्वाचन लड्न चाहन्छन्। उनले गएको मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट चुनाव हारेका छन्। अहिले उपेन्द्र र प्रचण्ड समाजवादी केन्द्र बनाउने छलफलमा पनि छन्। यसको मतलब उनी जसरी पनि उपराष्ट्रपति हत्याउने तयारीमा छन्। आउँदो चैत ३ का मा उपराष्ट्रपतिको चुनाव तोकिएको छ।

प्रचण्डको संकेतपछि फुरंग उपेन्द्र

पछिल्ला भेटवार्तामा उपेन्द्रले प्रचण्डलाई यही प्रस्ताव गर्दै आएका छन्। उपेन्द्रकै भनाइमा प्रचण्ड यस प्रस्तावमा सकारात्मक पनि छन्। यही कारण उनी प्रचण्डसँग बारम्बार बैठकमा बसिरहेका छन्।

पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा पनि राष्ट्रपति एमालेलाई दिएर उपराष्ट्रपति माओवादी केन्द्रले राख्ने सहमति भएको थियो। तर पछिल्लो समय प्रचण्डले आफ्नो सरकार बलियो बनाउन उपराष्ट्रपति दाउमा राखे। यसैको फाइदा उठाउँदै उपेन्द्र प्रचण्डलाई भेट्न थाले।

उनी निकट एक नेता उपराष्ट्रपति दिए मात्र आफूहरू केन्द्र सरकारमा जाने छन्। पहिले नै प्रचण्डले दुई मन्त्रालयको प्रस्ताव गरेका थिए। तर उपेन्द्रले तीन मन्त्रालय र उपराष्ट्रपतिको बार्गेनिङ छाडेनन्। यही लोभमा उपेन्द्रले प्रधानमन्त्री, सभामुख जस्ता पदमा पनि सत्ता गठबन्धनमै मत हाले।

प्रकाशित: १२ फागुन २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =