प्रिमियर लिग : लिभरपुललाई उत्साह कायम राख्ने चुनौती

हिमाल प्रेस ६ फागुन २०७९ १६:०६
14
SHARES
प्रिमियर लिग : लिभरपुललाई उत्साह कायम राख्ने चुनौती

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा पर्न संघर्षरत लिभरपुल शनिबार न्युकासल युनाइटेडसँग भिड्दैछ। गत सोमबार मर्सिसाइड डर्बीमा एभरटनलाई हराएपछि उत्साहित बनेको लिभरपुलका लागि यो खेल कठिन परीक्षा हुनेछ। किनभने न्युकासल हाल चौथो स्थानमा रहेको टिम हो। त्यसमाथि न्युकासल १७ खेलमा अपराजित छ।

लिभरपुल भने हाल नवौँ स्थानमा छ। एभरटनमाथि जित हासिल गर्नुअघि लिभरपुल खराब लयमा थियो। चार खेलमा जित दर्ता गर्न सकेको थिएन। यस्तोमा लिभरपुलका प्रशिक्षक योर्गन क्लपले न्युकासलसँगको खेललाई महत्त्वपूर्ण मानेका छन्।

‘शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाउने हो भने यो खेल जित्नै पर्छ। न्युकासललाई मात्र होइन, अंक तालिकामा हामीभन्दा माथि भएका सबै टिमलाई हराउन कोसिस गर्नुपर्छ,’ क्लपले भनेका छन्।

न्युकासलसँग प्रतिस्पर्धा गर्न लिभरपुल सेन्ट जेम्स पार्क पुग्नेछ। न्युकासलको घरेलु रंगशाला सेन्ट जेम्स पार्कमा खेल्न सजिलो नहुने क्पलको भनाइ छ। ‘सेन्ट जेम्स पार्क हाम्रा लागि सधै कठिन रंगशाला रहँदै आएको छ। तर आशा छ सोमबारको जितले खेलाडीलाई उत्साहित बनाएको छ। विश्वकपपछि हामीले जम्मा दुई खेल जितेका छौँ। यो आफैँमा सन्तोषजनक तथ्यांक होइन। यो कठिन समयलाई चिर्न जरुरी छ,’ क्पलपको भनाइ थियो।

लिभरपुल र न्युकासलबीच ११ अंकको दूरी छ। लिभरपुलको भन्दा एक खेल बढी खेलेको न्युकासलले २२ खेलबाट ४१ अंक बटुलेको छ। यो खेलमा जित हासिल गरे लिभरपुलले त्यो दूरी त घटाउने छ नै, शीर्ष चारको लक्ष्यलाई पनि पुनरुत्थान गर्नेछ।

न्युकासलले यो सिजन प्रिमियर लिगमा जम्मा एक खेल मात्र हारेको छ। संयोगवश त्यो हार न्युकासलले लिभरपुलसँग व्यहोरेको थियो। त्यसपछि न्युकासलले प्रिमियर लिगमा नौ खेल जितेको छ भने आठमा बराबरी गरेको छ। न्युकासलका पछिल्ला पाँच खेलमध्ये चार बराबरीमा सकिएका छन्।

अप्रिल, २०२० मा साउदी अरबको सार्वजनिक लगानी कोषले स्वामित्व लिएको न्युकासलले एड्डी हाउको प्रशिक्षणमा निडर प्रदर्शन गरिरहेको छ। न्युकासलले म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनलसँग बराबरी खेल्नु र चेल्सीलाई पराजित गर्नु यसको प्रमाण हो।

ठूला टिमहरुलाई आच्छुआच्छु पारेका हाउको क्लपले प्रशंसा गरेका छन्। ‘एड्डी हाउले न्युकासलमा कमालको काम गरेका छन्। हो, न्युकासलसँग असीमित आर्थिक स्रोत छ। तर यो सिजन न्युकासल सफल देखिनुमा प्रशिक्षक र टिमको मेहनत मुख्य कारण हो। एडडीले न्युकासलमा भएको जगलाई बलियो बनाएका छन्। पहिलेबाटै भएका खेलाडीलाई प्रयोग गरेका छन्,’ क्लपले भनेका छन्।

न्युकासलसँगको खेलमा लिभरपुलका भर्जिल भान डाइकले पुनरामन गर्ने अपेक्षा गरिएको छ। जनवरीको पहिलो साता घाइते भएका डच रक्षक भान डाइक एभरटनसँगको खेलमा बेन्चमा थिए।

प्रकाशित: ६ फागुन २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =