तीन राजदूतको कार्यकाल थप, १३ ठाउँमा नियुक्तिका लागि गृहकार्य

हिमाल प्रेस ५ फागुन २०७९ १५:५७
382
SHARES
तीन राजदूतको कार्यकाल थप, १३ ठाउँमा नियुक्तिका लागि गृहकार्य कार्यकाल थप गरिएका राजदूतहरू मणिप्रसाद भट्टराई, अमृत राई र दीपक अधिकारी

काठमाडौँ- सरकारले बहालवाला तीन राजदूतको कार्यकाल थप गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल तीनतीन महिना थप्ने निर्णय गरेको हो। यस्तै कार्यकाल सकिएका अन्य दूतावास र नियोगमा नियुक्तिका लागि गृहकार्य अघि बढाइएको छ।

राईको मार्च ३, भट्टराईको अप्रिल ११ र अधिकारीको अप्रिल ४ मा कार्यकाल सकिँदैछ। तीनै राजदूतले सन्तानको पढाइका लागि केही समय माग गरेकाले कार्यकाल तीन महिना थप गरिएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए।

पत्र पठाएर कार्यकाल थप गरिएको बाहेक अन्य अवस्थामा भत्ता र पारिश्रमिक दुवै फिर्ता गर्नुपर्ने भएकाले केही समययता राजदूतको कार्यकाल थप्ने निर्णय मन्त्रिपरिद्‌बाट गर्न थालिएको छ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सात स्थानमा राजदूत नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा असर नगर्ने गरी तीन जनाको कार्यकाल थप गरिएको हो।

सरकारले तत्काल न्युयोर्क र जेनेभामा स्थायी प्रतिनिधि तथा फ्रान्स, थाइल्यान्ड, क्यानडा, युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतमा नयाँ राजदूत पठाउनेछ। ती सबै ठाउँमा परराष्ट्रसेवाका सहसचिव राजदूत छन्। सरकारले अब पठाउँदा तीमध्ये एक स्थानमा बाहिरबाट नियुक्त गर्न सक्नेछ।

अहिले ६ जना मन्त्रालयभित्र र एक जना बाहिरबाट नियुक्ति गर्ने गरी छलफल भइरहेको छ।

यस्तै सरकारले भारतलगायत केही मुलुकमा रहेका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। आफैँ फिर्ता भएमा पत्र नपठाउने तर पर्खेर बसेमा अर्को राजदूत सिफारिस गरेकै दिन दुई दिनको बाटो म्याद दिएर फिर्ता गर्ने तयारी छ।

राष्ट्रपति निर्वाचनसम्ममा भारत, बेलायत, इजरायल, दक्षिण कोरिया, जापानलगायतका मुलुकमा राजदूत नियुक्तिको निर्णय लिने सरकारको तयारी छ। राष्ट्रपति निर्वाचन  फागुन २५ गते हुने कार्यतालिका छ।  राष्ट्रपति निर्वाचनमा गठबन्धन तलमाथि हुने हो कि भनेर कांग्रेसको कोटामा गएका राजदूत फिर्ता भएका छैनन्।

कांग्रेस कोटाबाट राजदूत भएकालाई सरकारले फिर्ता गर्नेछ। जापानमा परराष्ट्र मन्त्रालय सहसचिव दुर्गाबहादुर क्षेत्री राजदूत कांग्रेस कोटाबाट राजदूत भएका हुन्। उनी कांग्रेस नेत्री डा. आरजु राणाको विस्तारित व्यापार हेर्ने गरी राजदूतमा खटिएको भन्दै आलोचना हुँदै आएको छ। जापानी दूताावास र नेपाली समुदायबाट आलोचना भएकाले क्षेत्रीलाई त्यहाँबाट फिर्ता गर्ने तयारी सरकारले गरेको छ। सेवाभित्रबाट राजदूत भएर गए पनि फिर्ताको सूचीमा पर्ने उनी पहिलो हुनेछन्।

बेलायतका राजदूत ज्ञानचन्द्र आचार्य समकक्षी डा. दिनेश भट्टराईको नाम हटाएर गएका हुन्। उनी यसअघि दुईपटक न्युयोर्क र जेनेभामा स्थायी प्रतिनिधि, परराष्ट्र सचिव भइसकेका थिए। यस्तै उनी नेपालको मनोनयनमा राष्ट्रसंघको उपमहासचिवसमेत भएका व्यक्ति हुन्। उनी पनि कांग्रेस कोटाबाट राजदूत भएकाले उनको स्थानमा सरकारले अर्कै व्यक्ति खटाउनेछ।

राजदूत सिफारिस गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा जापान पनि परेको हो। स्वाभाविक रूपमा कार्यकाल सकिने स्थान क्यानडा, कुवेत, यूएई, थाइल्यान्डमा पनि राजदूत सिफारिस हुनेछ। त्यहाँ राजदूत सिफिारिस हुँदा परराष्ट्र मन्त्रालयका कर्मचारीहरू नै पर्ने भनिएको छ।

सबै कर्मचारीलाई राजदूत बनाएर पठाउँदा मन्त्रालयमा महाशाखा खाली हुनेछ। मन्त्रालयबाट लोकबहादुर थापा, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, सचिव भरतराज पौड्याल, धनबहादुर ओली, सुधीर भट्टराई लगायत राजदूतको दौडमा छन्। त्यस्तै मुख्य सचिव शंकदरदास बैरागी पनि राजदूतको प्रतिस्पर्धामा छन्।

न्युयोर्क स्थायी प्रतिनिधिमा पौड्याल र बैरागीबीच प्रतिस्पर्धा

परराष्ट्र सचिव पौड्याल र मुख्य सचिव बैरागीबीच न्युयोर्क को जाने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ। लामो समय परराष्ट्र सचिव भएर मुख्य सचिव बनेका बैरागी पूर्ण कार्यकाल राजदूत नभएकाले न्युयोर्क जाने चाहनामा छन्। उनी जेनेभामा पूर्ण कार्यकाल राजदूतका रूपमा नरही फर्किएका थिए। न्युयोर्कमा नियोग उपप्रमुख भएर पनि पूर्ण कार्यकाल रहन पाएका थिएनन्।

उनी न्युयोर्क गएमा जेनेभामा परराष्ट्र सचिव पौड्याल जानेछन्। सचिव पौड्याल यतिबेला सहसचिव ओलीसँग निकट हुँदै बालुवाटार भन्दा बढी बालकोट भेटघाटमा रम्‍ने गरेका छन्। दाङका ओलीले आफ्नो भाइ मार्फत बालकोटमा राम्रै आउजाउ बनाएका छन्। मुख्य सचिव बैरागीलाई पूर्व मुख्यसचिवकै जोडबलमा खोलिएको क्यानडामा पठाएर अन्यत्र परराष्ट्रका अन्य अधिकारीलाई पठाउने गरी गृहकार्य भइरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए। यस विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ ।

परराष्ट्र उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जानुअघि राजदूत नियुक्तिको सिफारिस हुनेछ। नियुक्तिको सिफारिस भएपछि पनि यहाँ सुनुवाइ, सम्बन्धित मुलुकको अग्रिमालगायतले गर्दा समय लाग्नेछ।

थाइल्यान्डमा रहेका गणेश ढकालको जुन ८, यूएईका कृष्णप्रसाद ढकालको मार्च ५, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको मे र कवेतका लागि दुर्गाप्रसाद भण्डारीको अर्को महिना सकिँदैछ। कार्यकाल सकिएका र थप गरिएकासहित सात र फर्काउने स्थानमा ६ गरी १३ जना नयाँ राजदूत नियुक्त हुनेछन्। देउवा नेतृत्व सरकारले पठाएकामध्ये वासिङ्टनस्थित राजदूत श्रीधर खत्री रहनेछन्। कांग्रेस कोटाबाट गएका अन्य राजदूत फिर्ता हुनेछन्।

प्रकाशित: ५ फागुन २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =