परराष्ट्रमन्त्री नियुक्तिमा छिमेकीबाट कहिले सिक्ने?

हिमाल प्रेस १६ पुष २०७९ २२:३२
1.8k
SHARES
परराष्ट्रमन्त्री नियुक्तिमा छिमेकीबाट कहिले सिक्ने? भारतका परराष्ट्रमन्त्री एस जयशंकर, चीनका परराष्ट्रमन्त्री छिन क्याङ र बंगलादेशी परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेन

काठमाडौँ- चिनियाँ परराष्ट्रमन्त्रीमा छिन क्याङ नियुक्त भएका छन्। ५६ वर्षीय छिन एसिया, युरोप र अमेरिका राम्ररी बुझेका कूटनीतिक अधिकारी हुन्। भारतीय परराष्ट्रमन्त्री एस जयशंकर अमेरिकाका लागि पूर्वराजदूत हुन्।

यस्तै अर्को छिमेकी बंगलादेशका परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेन राष्ट्रसंघका लागि लामो समय स्थायी प्रतिनिधि भइसकेका व्यक्ति हुन्। नेपालमा अहिले परराष्ट्रमन्त्री नियुक्त भएका छैनन्। यसअघिका परराष्ट्रमन्त्री कूटनीतिक क्षेत्रका त्यति जानकार थिएनन् भने अब पनि त्यस्तै व्यक्तिले परराष्ट्रको नेतृत्व सम्हाल्ने निश्चित छ।

चीन, भारत र बंगलादेशका परराष्ट्रमन्त्री अमेरिकालगायत शक्ति मुलुकका राजदूत भइसकेका र कूटनीतिमा खारिएका हुन्छन्। नेपालमा भने परराष्ट्रमन्त्री भएपछि कूटनीतिमा खारिन्छ भन्ने गलत मान्यता छ। सोही कारण कूटनीतिक क्षेत्रमा उपलब्धिमूलक काम हुन नसकेको जानकारहरू बताउँछन्।

एक पूर्वराजदूत भन्छन्, ‘अमेरिकामा राजदूत भइसकेका व्यक्तिले विश्व कूटनीतिबारे बुझेका मात्र हुँदैनन् कूटनीतिक चाल कसरी चाल्ने भन्ने ज्ञान पनि आर्जन गरेका हुन्छन्।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयलाई राम्ररी बुझेर पूर्वपरराष्ट्र सचिव एवं अमेरिकाका राजदूत भइसकेका जयशंकरलाई परराष्ट्रमन्त्री बनाएको ती पूर्वराजदूत बताउँछन्।

कूटनीतिक ज्ञान भएका र आफ्ना कुरा राख्न सक्ने क्षमता भएकालाई मात्र राजदूत बनाउने विश्वव्यापी प्रचलन छ। नेपालमा भने कूटनीतिक क्षेत्रमा प्रवेश गरेका सबै क्षमतावान् र कूटनीतिकबाहिर रहेका सबै असक्षम भन्ने अर्थ लगाइने ती पूर्वराजदूत बताउँछन्। उनी भन्छन्, ‘चीन, अमेरिका र बंगलादेशले आफ्नो मुलुकको प्राथमिकता र आवश्यक व्यक्तिको सही पहिचान गर्छन्। हामी हाम्रा मान्छे खोज्छौँ।’

राजदूत नियुक्तिका लागि ज्वाइँ, छोरी, बुहारी, सासूलाई प्रस्ताव गर्ने मुलुक सायद नेपाल मात्रै हो। ती पूर्वराजदूत प्रश्न गर्छन्, ‘त्यसो गर्दा श्रीलंका के भयो? भारतले किन अमेरिका र चीनमा राजदूत भइसकेका तथा आफ्नो ब्याचमा अब्बल व्यक्तिलाई परराष्ट्रमन्त्री बनायो? बुझ्नु पर्दैन?’

चीनले अमेरिका र बेलायतमा राजदूत भइसकेका व्यक्तिलाई किन परराष्ट्रमन्त्री बनायो भनेर सोच्नुपर्ने उनी बताउँछन्। ‘चीनले विश्व भनेको अमेरिका हो भन्ने ठानेर अमेरिका बुझेका व्यक्तिलाई परराष्ट्रमन्त्री बनाएको हो’, परराष्ट्रका एक उच्च अधिकारीले भने।

डा. भेषबहादुर थापा, नरेन्द्रविक्रम शाह, कमल थापा जस्ता व्यक्तिले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्दा कूटनीतिक वृत्तमा नेपालको अलग्गै पहिचान थियो। नारायणकाजी श्रेष्ठले पनि त्यो गरिमा कायमै राखेका थिए। परराष्ट्रको नेतृत्वमा प्रकाशशरण महत, सुजाता कोइराला, उपेन्द्र यादव, रघुवीर महासेठलगायतको प्रवेश भएपछि गन्जागोल हुन थालेको जानकारहरू बताउँछन्।

अमेरिका र चीनमा राजदूत भइसकेका जयशंकर भारतमा परराष्ट्रमन्त्री भएको निकै समय भइसकेको छ। उनी आएपछि भारत कूटनीतिक समस्यामा परेको छैन।

भारतकै पथलाई पछ्याएर चीनले अमेरिकामा राजदूत भइसकेका र त्यहाँ रहेर विभिन्न दक्षिण अमेरिकी मुलुकसमेत बुझेका व्यक्तिलाई परराष्ट्रमन्त्री बनाएको छ। चीनले अमेरिकामा राजदूत भइसकेका व्यक्तिलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुको कारण चीन र अमेरिका सहकार्यको प्रस्ताव हुन सक्ने ती अधिकारी बताउँछन्। यसबाट दुई देशको सम्बन्धमा नयाँ आयाम थपिने उनको बुझाइ छ।

चीनका नवनियुक्त परराष्ट्रमन्त्री छिन अमेरिकासँग राम्रो सम्बन्ध राख्नुपर्ने पक्षमा छन्। त्यसैले छिनलाई विदेशमन्त्रीमा नियुक्त गरेर चीनले फरक सन्देश दिन खोजेको बुझाइ कूटनीतिक वृत्तको छ।

छिन राष्ट्रपति सी चिनफिङ निकट मानिन्छन्। ५६ वर्षीय एसिया, युरोप र अमेरिका राम्ररी बुझेका कूटनीतिक अधिकारी हुन्।

बंगलादेश आर्थिक उन्नतितर्फ फड्को मारिरहेको दक्षिण एसियाली मुलुक हो। ती पूर्वराजदूतका अनुसार बंगलादेशका राजदूतहरू मितव्ययी र अब्बल कूटनीतिक क्षमता भएका मानिन्छन्। उनले भने, ‘उनीहरूले हाम्रा राजदूतले भन्दा कम तलबभत्ता र सुविधा पाउँछन्।’

बंगलादेशका परराष्ट्रमन्त्री डा. मोमेन अर्थशास्त्रमा विद्यावारिधि गरेका र बंगलादेशबाट राष्ट्रसंघका लागि लामो समय स्थायी प्रतिनिधिसमेत भएका व्यक्ति हुन्। राष्ट्रसंघमा रहँदा उनी महासचिवको मुख्य सल्लाहकारको भूमिकामा हुन्थे।

नेपालमा विगतमा कूटनीतिमा खारिएका व्यक्ति परराष्ट्रमन्त्री नभएका हैनन्। पछिल्लो चरणमा भने परराष्ट्रमन्त्री बन्न कूटनीतिक पृष्ठभूमिलाई आधार बनाउन छाडिएको हो।
साथै मन्त्रालयभित्र जोसुकै अधिकारी पनि राजदूतमा पठाउने चलन बढेको छ। ती पूर्वराजदूत भन्छन्, ‘मन्त्रालयभित्रबाट अब्बल र विज्ञ व्यक्तिलाई राजदूत नियुक्त गर्नुपर्छ भने बाहिरबाट पनि त्यस्तै व्यक्तिलाई राजदूत बनाउनुपर्छ।’

नेपालमा कूटनीति नबुझेका नेतालाई परराष्ट्रमन्त्री बनाउन थालिएको दोस्रो जनआन्दोलनपछि हो। देशमा गणतन्त्र आएपछि कूटनीतिक क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन।

डा. भेषबहादुर थापा, नरेन्द्रविक्रम शाह, कमल थापा जस्ता व्यक्तिले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्दा कूटनीतिक वृत्तमा नेपालको अलग्गै पहिचान थियो। नारायणकाजी श्रेष्ठले पनि त्यो गरिमा कायमै राखेका थिए। परराष्ट्रको नेतृत्वमा प्रकाशशरण महत, सुजाता कोइराला, उपेन्द्र यादव, रघुवीर महासेठलगायतको प्रवेश भएपछि गन्जागोल हुन थालेको जानकारहरू बताउँछन्।

अस्ट्रेलियाले अमेरिकाका लागि केविन रडलाई राजदूत बनाएर पठायो। रड पूर्वप्रधानमन्त्री हुन्। मुलुकको हितका लागि राजदूत नियुक्त गर्ने चलन विश्वव्यापी छ। ती पूर्वराजदूत भन्छन्, ‘हामीकहाँ त्यसरी सोच्ने कोही छैनन्। परराष्ट्र मन्त्रालयमा करिअर बनाउने भन्दा अन्य सेवाबाट प्रवेश गरेका र आफूलाई कूटनीतिज्ञको आचरणमा ढाल्न नसकेका अधिकारीहरूको बोलवाला छ।’

करिअर हुन प्रवेशसँगै प्रशिक्षण चाहिन्छ। नेपालमा त्यस्तो प्रचलन नै छैन। ती राजदूत भन्छन्, ‘कतिपय मुलुकमा राजदूतभन्दा दोस्रो तहका व्यक्तिलाई त्यही मुलुकका बारेमा जानकारी हुँदैन। हामीले राजनीतिक तहबाट जाने राजदूतको मात्र आलोचना गरेर के काम?’


प्रतिक्रिया

One thought on “परराष्ट्रमन्त्री नियुक्तिमा छिमेकीबाट कहिले सिक्ने?

  1. नेपालमा नाताबाद कृपाबाद ,फरियाबाद हाबी भए पछी सबै क्षेत्रहरुमा लथा लिङ्ग भयो .बिस्व राजनीति परिवेश अनुसार नेपालको कुटनीति बनाउनु अति आबस्यक भैसक्यो .अत हाम्रो भन्दा राम्रो कुटनीति मा दख्खल भएको पात्र हरुलाई नियुक्ति गर्नु जरुरि भैसक्यो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =