परराष्ट्रविद् आचार्य भन्छन्, आर्थिक कूटनीतिका लागि दक्ष राजदूत नियुक्तिमा ध्यान दिऔँ

हिमाल प्रेस २२ पुष २०७९ १७:४७
54
SHARES
परराष्ट्रविद् आचार्य भन्छन्, आर्थिक कूटनीतिका लागि दक्ष राजदूत नियुक्तिमा ध्यान दिऔँ

काठमाडौँ- परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। पूर्वपरराष्ट्र सचिवसमेत रहेका आचार्यले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको स्पष्ट पारे।

उनले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रूपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको टिप्पणी परराष्ट्रविद् आचार्यले गरेका छन्।

उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकतासमेत औँल्याए।

उनले भने, ‘लगानीकर्ता नेपालमा लगानी गर्न आउँदैन। किनभने नीतिगत स्पष्टता छैन। कतिपय आयोजना सरकारले बनाउने भन्ने छ। कतिपय सेनाले बनाउने भन्ने छ। त्यसमा पनि त चीनका ठेकदार छन्। पुल, बाटो, सुरुङ बनाउन चीनकै ठेकेदार चाहिएको छ।’

बूढीगण्डकी जलविद्युत् आयोजना लगानी बोर्ड मातहत रहे पनि गेजुवा कम्पनीलाई दिइएकोमा आपत्ति जनाए। उनले भने, ‘पाँच सय मेगावाटभन्दा माथिको आयोजना लगानी बोर्डले अघि बढाउने हो। त्यो सीधै मन्त्रीले दिनुभयो। त्यो दिनु हुँदैन थियो। दिएपछि अर्को सरकारले आएर झिकिदियो। यस्तो अवस्थामा लगानीकर्ता कसरी आउँछ?’

त्यसकारण नीतिगत स्पष्टता हुन आवश्यक रहेको उनले बताए। उनले भने, ‘नयाँ श्रम ऐन आएको छ। विशेष आर्थिक क्षेत्रका ऐनहरु आए। आद्योगिक नीति पनि ल्यायौँ। सरकार-निजी क्षेत्र साझेदारीको नीति पनि ल्याइएको छ। तर गर्छु भनेको कुरा भएको छैन।’

लगानी बोर्ड बने पनि काम गर्न नसकेको उनको भनाइ छ। आचार्यले भने, ‘निर्णय गर्दा पनि ढिलो हुन्छ। यसमा सुधार गर्नुपर्छ । कतिपय हाम्रा राम्रा कुरा पनि छन्। त्यसको प्रचार गर्नुपर्‍यो।’ आचार्यले भारत र चीनको लगानीमा ध्यान दिएर लगानीकर्ताहरुको संख्या वृद्धि गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =