तरकारीको ‘हब’ बन्दै बझाङको जुजी

हिमाल प्रेस ५ फागुन २०७९ १५:११
4
SHARES
तरकारीको ‘हब’ बन्दै बझाङको जुजी प्रतिनिधिमुलक तस्बिर

बझाङ- दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिन्छन्। बारीको रेखदेख गुर्न उनको दैनिकी नै छ। घरको आँगनदेखि बजारसम्मै उनले तरकारीकै गफ गरिरहेका हुन्छन्। उनी तरकारी लगाउने तरिका, बीऊबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाउँछन्। खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन। छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि उनी व्यावसायिक कृषकको पहिचान बनाउन सफल भएका छन्।

जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन्। मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहेका छन्। ‘विगतका वर्षमा मंसिरमा गहुँ हरियो भइसक्थ्यो’ कृषक वीरदन रावलले भने, ‘अहिले भने हतार पनि छैन, घाटा होला भन्ने पनि छैन।’ मौसमअनुसार विस्तारै तरकारीका लागि मेहेनत गर्ने र राम्रै आम्लानी हुने अपेक्षा उनले गरेका छन्। रावलका अनुसार जुजी जिउलोमा उनको करिब तीन रोपनी जमीनमा तीन बोरा जति गहुँ फल्थ्यो । ‘हामीलाई खान त त्यसले पनि पुगिहाल्थ्यो’ उनले भने, ‘तर अहिले तरकारी उत्पादन सुरु गरेपछि त्यही खेतबाट दुई वर्षसम्मै खान पुग्छ।’

गएको वर्ष औलादेवी रावलको तीन रोपनी खेतमा १६ बोरा आलु फलेको थियो । ‘गहुँ लगाएको भए तीन/चार बोरा फल्थ्यो’ उनले भनिन्, ‘आलु लगाउँदा आफूलाई तरकारी खानसहित २० हजार रुपैयाँभन्दा बढी बचत भयो।’ अहिले जुजीका कृषक तरकारीमा निकै रमाएका छन्। परम्परागत रैथाने बालीभन्दा तरकारी उत्पादनबाट फाइदा हुने भएपछि तरकारी खेतीतर्फ लागेको रावल बताउँछिन्। ‘सुरुका वर्षमा त सबैले एकै किसिमको तरकारी रोप्यौँ’ उनले भनिन्, ‘त्यसले बजार खासै पाएन।’ दोस्रो वर्षदेखि फरक–फरक तरकारी उत्पादन गर्न थालेपछि बिक्री हुन थालेको उनको भनाइ थियो।

तराईको जस्तै उत्पादन हुने जिउलोमा खेत भएका कुनै कृषकले पनि भोकमरी झेल्नु परेको छैन। गहुँ र धानका लागि प्रख्यात जुजी जिउलो विगत केही वर्षयता तरकारीको ‘हब’ बन्दै गएको छ। आलु, टमाटर, गोलभेडा, प्याज, भेडेखुर्सानी, लसुन, पिँडालु प्रशस्तै मात्रामा उत्पादन हुन थालेपछि कृषि ज्ञान केन्द्रले पनि जुजीलाई ‘नमुना तरकारी गाउँ’ भनेर नामाकरण गरेको छ।

तर जुजी जिउलोमा हिउँदेबालीका लागि सिँचाइ अभाव रहेको यहाँका किसानको गुनासो छ। आकाशे पानी परेर हिउँ परेमा हिउँदेबालीका लागि त्यति समस्या नहुने तर आकाशे पानी नपरेमा समस्या हुने गरेको किसानको गुनासो छ।
खोलाबाट कुलोमार्फत ल्याइएको पानी कुलो नजिक खेत भएकालाई मात्रै पुग्छ। सिँचाइका लागि अनुदानमा कृषि ज्ञान केन्द्र र पालिकाले ट्यांकी बनाउने तयारी गरिरहेका छन्। ‘तरकारीको बीउ, प्राविधिक, ढुवानी खर्च, बजार त दियौँ’ कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘सिँचाइको अभावले सोचेजति कृषकले उत्पादन गर्न सक्नुभएको छैन।’

पालिकाले पनि जुजी जिउलोको सिँचाइका लागि ठूलो ट्यांकी बनाएर जिउलोभरलाई पानी पुर्याउन जुटेको बताएको छ। गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालले भने, ‘जुजी जिउलोमा प्रयाप्त पानी ल्याउन सके अन्नको भण्डार जस्तै तरकारीको हब बन्न सक्छ।’ उनका अनुसार अहिले पनि मौसमअनुसार जिउलोभर धेरैलाई पुग्ने तरकारी उत्पादन भइरहेको छ। ‘जुजीमा पानीका लागि नजिक मुहान पनि छैन’ उनले भने, ‘टाढाबाट पानी ल्याउँदा खर्च धेरै नै हुन्छ।’ त्यसका लागि तयारीमा कृषि ज्ञान केन्द्र तयारीमा जुटेको उनको भनाइ छ। सिँचाइका लागि पालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्दै लगानीको जुटाउने तयारी भइरहेको उनले बताउ। रासस

प्रकाशित: ५ फागुन २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =